प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीसँग पनि विना कुनै सहमति संसद विघटन गरिदिएपछि उनीसँगको सहकार्य वैधानिक रुपमै तोडेको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पक्ष यतिखेर आफ्नो पक्षमा नेकपाका नेता कार्यकर्ता मात्र होइन कि अरु राजनीतिक दलको पनि साथ सहयोगका लागि लागेको छ । उनीहरु संसद पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि के कसरी अघि बढ्ने भन्ने रणनीतिमा लागेका हुन् ।
यस कार्यअन्तर्गत उनीहरुले पछिल्लो समयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमक्ष पुगेका छन् । आगामी दिनमा जस्तो सुकै परिस्थिति (संसद विघटन सदर भए या पुनस्र्थापना भएमा) पनि आवश्यक पर्ने सबै सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग दाहाल र नेपालले हिजो औपचारिक रुपमै प्रस्ताव राखेका छन् ।
यस प्रयोजनका लागि उनीहरु बुधबार साँझ पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु साँझ छ बजे त्यहाँ पुगेका थिए र डिनर समेत गरेर बेलुका साढे आठ बजेतिर फर्किएको बुढानीलकण्ठ स्रोतले जनाएको छ ।
त्यस भेटका क्रममा दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेको सो समाचार स्रोतले बताएको छ । यो भेटवार्तालाई गोप्य भनिएको थियो तर आजका अखबारहरुमा आइसकेको छ । भेटमा दाहाल र नेपालले संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेको समाचार स्रोतको दाबी छ । देउवाले दाहाल–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएका थिए ।
त्यस भेटका क्रममाा दाहालले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ ?’ भनेर समेत सोधेका थिए । र जवाफमा देउवाले भने ओली चुनाव गर्ने पक्षमै नरहेको आफूले पाएकोले उनलाई जबर्जस्त चुनावमा लगेर वर्तमान संविधानलाई बचाउने र प्रजातान्त्रिक प्रक्रियालाई निरन्तरता दिने पक्षमा आफू रहेको बताएका थिए ।
तर पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेकोले त्यसको भने काँग्रेसले विरोध नै गरेको बताएका थिए । चुनावमा जानु लोकतान्त्रिक विधि भएकाले लोकतन्त्रलाई बचाइ राख्नका लागि प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भनेर सडकमा जाने तर चुनावका लागि ओलीलाई बाध्य पार्ने उनले बताएका थिए ।
दाहाल र नेपालले ओलीको असंवैधानिक कदमको विरोधमा संयुक्त मोर्चा बनाएर सँगै आन्दोलनमा जान पनि देउवालाई प्रस्ताव गरेका थिए । तर देउवाले भने यस विषयमा पार्टीमा छलफल गरेर मात्र आफू अघि बढ्न सक्ने बताएका थिए ।
केही दिनमात्र अघि एउटा समाचार के बाहिरियो भने प्रधानमन्त्री ओलीले यदि संसद पुनस्र्थापना भयो भने आफूले देउवालाई प्रधानमन्त्रीका लागि सहयोग गर्ने कुरा ओली र देउवाबीच सहमति भएको छ । यसलाई सहमति नै नभने पनि यदि संसद पुनस्र्थापना भयो भने दाहाल र नेपाललाई प्रधानमन्त्री हुन नदिने ओलीको दाउका कारण देउवालाई नै उनले अघि सार्नेछन् भन्ने कुरामा दम छ ।
अर्काेकुरा नेकपाको फुट अघि नै पनि प्रधानमन्त्री ओलीले यदि आफूले छोड्नुपर्ने अवस्था आयो भने पनि दाहाल र नेपाललाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने र कम्तीमा उनीहरु दुई जना बस्न नमिल्ने गरी प्रधानमन्त्रीको कुर्सी भाँचिदिने भनी ओलीले दिएको अभिव्यक्तिका बारेमा पनि चर्चा भएकै हो । त्यसकारण उनले आफूले छोड्नुपर्ने अवस्थामा यसो नगर्लान् भनेर भन्न पनि सकिँदैन ।
यसरी हप्ता दिन अघिको र गए साँझको घटनाक्रमलाई निलाल्दा नेपालको राजनीतिको केन्द्रभागमा पुनः काँग्रेस सभापति देउवा पर्नसक्ने देखिएको छ । उनी अबको अर्थात् ओलीपछिको प्रधानमन्त्रीका लागि एक दरिलो दाबेदारका रुपमा उपस्थित छन् नै । निर्वाचन भयो भने उनी नेपालको ठूलो पार्टी नेपाली काँग्रेस (सम्भवत स्पष्ट बहुमत) प्राप्त गरेर नै प्रधानमन्त्री बन्ने अवस्था प्रबल रुपमा देखा परिरहेको छ ।
अर्काे कुरा यदि अहिले नै संसद पुनस्र्थापना भयो भने पनि ओली समूह र दाहाल नेपाल समूह एकले अर्काेलाई प्रधानमन्त्री बन्न नदिने खेलले निर्विकल्प उमेदबारका रुपमा देउवालाई नै अघि सार्ने स्पष्ट संकेत देखिँदै गएको छ । सायद अहिले नै देउवा प्रधानमन्त्री बन्दा आफू सांसद नभएका कारण सम्भावित कुनै लाभमा नपर्ने भएकोले पनि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलेलले ओलीको भन्दा बढी अहिले देउवाकै विरोध गरिरहेको देखिन्छ ।
अनि उनलाई अर्काे के डर पनि हुनसक्छ भने यदि प्रधानमन्त्री भएरै पार्टीको महाधिवेशन गराए भने देउवा नै पुनः सभापतिमा विजयी हुने त्रास पनि पौडेलको मनमा कसैले भरिदिएको हुनुपर्छ । यसैकारण हुनसक्छ कि अहिले पौडेलले देउवाको विरोध अलिक अस्वाभाविक रुपमा नै गरिरहेका छन् ।
पार्टीभित्र मूल्यांकन नगरिए पनि नेकपाभित्र पसेर त्यहाँ असन्तुलन ल्याउने काममा देउवाको भूमिका सकारात्मक देखिन्छ । प्रमुख प्रतिपक्षी दलका रुपमा यो उनको सफल भूमिका पनि हो । हुनत प्रमुख विपक्षी दल कमजोर भएको विश्लेषण विगतमा गरिएको हो तर पनि नेकपाले दुई तिहाइ बहुमतको नजिकै आउने गरी प्राप्त गरेको मतको आज तीन वर्ष पुग्दा नपुग्दै आफूलाई सत्ताको केन्द्रभागमै उभ्याउन देउवा कसरी सफल भए भनेर गरिएको विश्लेषणबाट पनि यो प्रश्नको जवाफ मिल्दछ ।
पौडेलको कारण देउवाले आज आफूलाई यसरी निर्विकल्प रुपमा सत्ताको केन्द्रमा उभ्यासन सफल भएको भनेर चाहिँ पटक्कै भन्न सकिँदैन । त्यसो त काँग्रेस संसदमा उपस्थितिको संख्याका आधारमा कमजोर देखिए पनि अघिल्लो निर्वाचनमा पपुलर मतका आधारमा भने पहिल्यै पार्टी थियो । सायद यसको पनि काँग्रेसभित्र त्यति मूल्यांकन त हिजो भएन, जसरी पार्टीको यो अवस्था ल्याउनेमा देउवालाई मात्र जसरी दोषी देखाइयो ।










