एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकप्टर दुर्घटनाको खबरले विश्वभर हलचल मच्चाएको छ । हेलिकप्टरको भग्नावशेष फेला परेको छ ।
इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति रइसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियन र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा राष्ट्रपति रइसीसहित तीन उच्च पदस्थ सरकारी अधिकारी, एक जना इस्लाम धर्मगुरू र चालक दलका सदस्य र सुरक्षा टोली गरी नौ जना सवार रहेको तस्निम न्यूजले उल्लेख गरेको छ ।
मृत्यु हुने अन्य व्यक्तिमा चालक, सह–चालक, चालक दलका प्रमुख, सुरक्षा प्रमुख, र एक अङ्गरक्षक रहेको जानकारी दिइएको छ ।
राष्ट्रपति इब्राहिम रईसीलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अली खोमेनीको उत्तराधिकारी पनि मानिन्छ ।
इरानका राष्ट्रपति इब्राहिम रइसीको जन्म सन् १९६० मा उत्तरपूर्वी इरानको मशहद सहरमा भएको थियो । रइसीका बुबा मौलवी थिए तर रइसी पाँच वर्षको हुँदा उनको बुबाको निधन भयो । सुरुदेखि नै धर्म र राजनीतितर्फ झुकाव भएका रइसी विद्यार्थीकालमा मोहम्मद रेजा शाहविरुद्ध सडकमा उत्रिएका थिए । रजा शाहलाई पश्चिमी देशको समर्थक मानिन्थ्यो ।
पूर्वी इरानको मशहद सहरमा शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र मानिने मस्जिद पनि छ । उनी सानै उमेरमा उच्च पदमा पुगेका थिए । आफ्नो बुबाको पाइला पछ्याउँदै, उनले १५ वर्षको उमेरमा कोम शहरमा अवस्थित शिया संस्थामा अध्ययन गर्न थाले ।
आफ्नो विद्यार्थीकालमा उनले मोहम्मद रेजा शाहविरुद्ध पश्चिमा देशहरूले समर्थन गरेको प्रदर्शनमा भाग लिए । पछि अयातुल्ला रुहोल्लाह खोमेनीले सन् १९७९ मा इस्लामिक क्रान्तिमार्फत शाहलाई सत्ताबाट हटाएका थिए ।
इस्लामिक क्रान्तिपछि उनले न्यायपालिकामा काम गर्न थाले र धेरै शहरहरूमा वकिलको रूपमा काम गरे । यस अवधिमा उनले इरानी गणतन्त्रका संस्थापक र सन् १९८१ मा इरानका राष्ट्रपति बनेका अयातुल्ला रुहोल्लाह खोमेनीबाट प्रशिक्षण पनि लिएका थिए ।
जब रइसी मात्र २५ वर्षका थिए, उनी इरानको उप अभियोजक (सरकारको दोस्रो दर्जाका वकिल) बने । उनीपछि न्यायाधीश बने र १९८८ मा गठन गरिएको गुप्तचर न्यायाधिकरणमा सामेल भए, जसलाई ‘डेथ कमिटी’ भनिन्छ ।
यी न्यायाधिकरणहरूले हजारौं राजनीतिक बन्दीहरूलाई ‘पुनः प्रयास’ गरे जो पहिले नै आफ्नो राजनीतिक गतिविधिका लागि जेल सजाय काटिरहेका थिए । यी राजनीतिक बन्दीहरूमध्ये अधिकांश वामपन्थी र विपक्षी समूह मुजाहेदिन–ए–खलका (एमईके)वा इरानको पिपुल्स मुजाहेदिन अर्गनाइजेसन अफ इरान (पीएमओआई) का सदस्य थिए । यी न्यायाधिकरणहरूले मृत्युदण्ड दिने राजनीतिक कैदीहरूको कुल संख्या थाहा छैन, तर मानवअधिकार समूहहरूले उनीहरूमा करिब ५,००० पुरुष र महिलाहरू समावेश गरेको बताउँछन् ।
फाँसीपछि सबैलाई अज्ञात सामूहिक चिहानमा गाडिएको थियो । मानवअधिकारकर्मीहरूले यो घटनालाई मानवताविरुद्धको अपराध भनेका छन् । इब्राहिम रइसीले यस मुद्दामा कुनै पनि भूमिकालाई निरन्तर अस्वीकार गर्दै आएका थिए, तर एक पटक भने इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह खोमेनीको फतवा अनुसार सजाय ‘उचित’ थियो ।
यसरी जानौं राष्ट्रपति रइसीलाई –
केवल २० वर्षको उमेरमा, उनी तेहरान नजिकै रहेको काराजको अभियोजक जनरल नियुक्त भए ।
रइसी सन् १९८९ देखि १९९४ सम्म तेहरानका अभियोजक जनरल र त्यसपछि सन् २००४ देखि अर्को दशकसम्म न्यायिक प्राधिकरणका उपप्रमुख थिए ।
सन् २०१४ मा उनी इरानको अभियोजक जनरल बने । इरानी न्यायपालिकाको प्रमुख रहेका रइसीको राजनीतिक विचारलाई ‘चरम कट्टरपन्थी’ मानिन्छ ।
उनलाई इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खोमेनीको नजिक मानिन्छ ।
उनी जुन २०२१ मा इस्लामिक रिपब्लिक अफ इरानको राष्ट्रपति निर्वाचित भएका थिए, उदारवादी हसन रुहानीको स्थानमा ।
चुनावी अभियानका क्रममा रइसीले रुहानी शासनकालमा उत्पन्न भएको भ्रष्टाचार र आर्थिक संकटसँग जुध्न आफूलाई उत्तम विकल्पको रुपमा प्रचार गरेका थिए ।
शिया परम्परा अनुसार इब्राहिम रइसीले सधैं कालो पगडी लगाउँथे, जसले उनी पैगम्बर मुहम्मदको वंशज हो भन्ने संकेत गर्छ ।
उनलाई ‘हुज्जातुल इस्लाम’ अर्थात् ‘प्रूफ अफ इस्लाम’ को धार्मिक उपाधि पनि दिइएको छ ।