१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमित हुँदा जागिर खोसियो



अ+ अ-

म्यादी । कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो । 

ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पिसीआर परीक्षण गर्न उहाँले स्वाब दिनुभएको थियो । “पुस ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेशन बसेको थिए”, उहाँले भन्नुभयो, “कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन् ।” 

रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गर्नुभयो । “टोल, छिमेकमा कोरोना सङ्क्रमित भनेर दुव्र्यवहार सहनुपर्यो”, उहाँले भन्नुभयो, “आइसोलेशन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ ।”  

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ । रोजगारीको खोजीमा उहाँले चार वर्ष मलेसियामा काम गर्नुभएको थियो । बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोरा छन् । कम्पनीले मासिक रु १८ हजार तलब दिने गरेको थियो । जागिर गुमेपछि बरुवाललाई घरव्यवहार चलाउन समस्या भएको छ । 

प्रभु बैंकको अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले सुरक्षागार्डको नियुक्ति, तलब, भत्तालगायत सबै जिम्मेवारी सम्बन्धित कम्पनीको भएको बताउनुभयो । काठमाडौमा रहेको एक्सलेन्ट सेक्युरिटीका कृष्ण गुरुङले बरुवाललाई जागिरबाट ननिकालेको जिकिर गर्नुभयो ।