• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सोमबार (जेठ ७ गते) विश्वासको मत लिने भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेको जानकारी संसद् सचिवालय र सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसद् सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधिसभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत हासिल गर्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए । उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।