परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल र भारतबीचको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार नेपाल फर्किएका छन् । उनले यी दुई देशका बीचमा विगत लामो समयदेखि उच्चस्तरीय भ्रमण हुन नसकेकोमा यस भ्रमणले त्यो भ्रमणको ढोका खोलिदिएको बताएका छन् ।
दुई दिने भारत भ्रमणपछि आज स्वदेश फर्किएलगत्तै विमानस्थलमा मन्त्री ज्ञवालीले यो जावाफ दिएका थिए । उनले आफ्नो भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान गर्ने बताए ।
तर मन्त्री ज्ञवालीसँग यो औपचारिक विषयको जवाफ भने खोजिएको थिएन । प्रश्न अर्कै छ, 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री ज्ञवालीलाई भेट किन दिएनन् ?' तर यसको जवाफ भने मन्त्री ज्ञवालीबाट आएन, आउने कुरा पनि भएन ।
खासमा मन्त्री ज्ञवालीसँग भारतीय प्रधानमन्त्री मोदीले भेट्ने कार्यक्रम रहेको थियोे । उनको भ्रमण सेड्युलमै त यो कार्यक्रम थिएन तर पनि प्रधानमन्त्री मोदीसँग मन्त्री ज्ञवालीले भारत गएकै दिन अस्ती १ माघकै साँझ भेट्ने कार्यक्रम थियो ।
प्रधानमन्त्री केपी ओलीको विशेष दूतका रुपमा उनी भारत गएका थिए । हुनत यो भ्रमण कार्यक्रम औपचारिक कार्यक्रम नै थियो दुई देशबीचको संयुक्त आयोगको बैठक । तर यसवर्षको भ्रमण कार्यक्रम भने त्यसमा मात्र सीमित थिएन, किनभने यो असाधारण समय थियो ।
भारतसँग विगत लामो समयदेखि सम्वादहिनताको अवस्था थियो र नेपालले आफ्ना भूभागहरु लिम्पियाधुरा र कालापानी फिर्ता गर्न माग गर्दै नक्सा छापेपछि यसबाट भारतसँगको सम्बन्ध सहज हुन सकिरहेको थिएन ।
उता त्यस्तो अवस्था रहेको थियो भने यता नेपालका प्रधानमन्त्री ओलीले आफूखुशी संसद भंग गरिदिएकाले सधैँजसो नेपालको दक्षिणी छिमेकीलाई पनि विकसित राजनीतिक परिस्थिति र परिवेशले त छोइ नै हाल्छ । यस्तो अवस्थामा नेपालका उच्च कूटनीतिज्ञले गर्ने यो भ्रमणमा नेपालका प्रधानमन्त्रीले आफ्ना विशेष दूतका रुपमा पनि पठाएका थिए ।
यसअघिको आन्तरिक कार्यक्रमअनुसार मन्त्री ज्ञवालीले अस्ती साँझ नै मन्त्री ज्ञवालीले प्रधानमन्त्री मोदीलाई भेटेर प्रधानमन्त्री ओलीका तर्फबाट सन्देश हस्तान्तरण गर्ने कार्यक्रम छ भनिएको थियो । नयाँ दिल्लीस्थित नेपाली दूताबासका कर्मचारीले पनि सोही बमोजिमको समयको सूचना आफूहरुले पाएको बताएका थिए ।
त्यसैले नयाँ दिल्लीको अन्तर्राष्टिय विमानस्थलमा ओर्लिने बित्तिकै मन्त्री ज्ञवालीले प्रधानमन्त्री मोदीसँगको भेटका विषयमा चासो राखेका थिए । अनि राजदूत निलाम्बर आचार्यले नै उनलाई आज साँझ हुने सम्भावना छ, हामीले त्यही समाचार पाएका छौँ ।
तर साँझ सो भेट हुन सकेन । हिजो त द्धिपक्षीय आयोगको पूर्व निर्धारित कार्यक्रम नै थियो, त्यही भयो । त्यसपछि पनि दूताबासलाई मन्त्री ज्ञवालीले प्रधानमन्त्री मोदीसँग भेट्न समय मिलाउन दबाब दिएकै थिए । त्यो प्रयासमा दूताबासका कर्मचारीहरु पनि थिए नै । तर आज आपरान्हसम्म पनि त्यो सम्भव नभएपछि मन्त्री स्वदेश फर्किए ।
दिल्लीको दूताबास स्रोतले भन्यो, खासमा त आज अपरान्हसम्म पनि भेटघाट मिल्छ कि भन्ने थियो तर त्यो सम्भव नभएपछि रक्षामन्त्री राजनाथ सिंहसँग भेट भएको हो । प्रधानमन्त्री मोदीसँग भेट हुन नसकेपछि सिंहसँगकै भेटमा चित्त बुझाएर मन्त्री ज्ञवाली फर्किएका छन् ।
तर यो भेट किन हुन सकेन त ? यो प्रश्नको जवाफ दूताबासले दिन सक्दैन । र यो हुन नसकेको भेटलाई कतिपयले नेपालमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमसँग पनि जोडेर हेरिएको विश्लेषकहरु बताउँछन् ।
एकजना कूटनीतिक मामिलाका जानकारले भने, 'भारत पनि यो घटनाक्रमको वरिपरि नै छ । सर्वाेच्च अदालतले के फैसला गर्छ, राजनीतिक मामिला कसरी अघि बढ्छ, संसद पुनस्र्थापना हुन्छ कि हुदैन आदि विषयमा भारत पनि पर्ख र हेरको अवस्थामै देखिन्छ । त्यो गाँठो फुकेपछि बल्ल कति लामो डोरी बाट्ने भन्ने कुरा भारतले तयर गर्ने देखिन्छ ।'











