२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदरबाट सुन्तला जोगाउन सास्ती



फाईल फोटो
अ+ अ-

पाल्पा । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङमा बाँदरले पाकेको सुन्तलालाई नोक्सानी गर्न थालेपछि बोटका दाना जोगाउन समस्या भएको हो । उचित मूल्य र सुरक्षाका लागि सुन्तला अझै टिपिएको त छैन तर बाँदरबाट सुरक्षित राख्न किसानलाई चुनौती भएको छ । सुन्तला बगानमा बाँदर पसेर नोक्सानी गरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

बाँदरले सुन्तलामा नोक्सानी गरेपछि हरियो सुन्तला बिक्री गरिएको गुनासो वडाध्यक्ष तथा किसान हुमानसिंह कार्कीले गर्नुभयो । झण्डै ४०० किलो सुन्तला बाँदरका कारण छिटो टिपेर बेच्न बाध्य भएको उहाँले बताउनुभयो । “घरदेखि तल्लोबारीमा तलबाट बाँदर आएर नोक्सानी गरेको थाहा हुँदैन, त्यसैले त्यो बारीको सुन्तला हरियोमा नै बिक्री गरियो”, उहाँले भन्नुभयो ।

गत वर्ष झण्डै रु चार लाखको सुन्तला बिक्री भएको बताउने कार्की यसपालि रु एक लाखको हाराहारी बिक्री हुने अवस्था रहेको बताउनुभयो । बाँदरको समस्या र यसपालिका सुन्तला उत्पादनमा समेत कमी आएको हो । स्थानीय बासिन्दा डिलमाया गाहाका अनुसार वन क्षेत्रबाट बाँदर आएर सुन्तला खेतीमा क्षति गर्न थालेपछि समस्या हुँदै आएको छ । मकै बाली उत्पादन गर्न छाडेर सुन्तला खेतीमा मात्र व्यस्त हुनुभएको गाहाको प्रमुख आम्दानीको स्रोत सुन्तला खेती हो । पहेँलपुर सुन्तला बगानमा नै बाँदर पसेर खाने र नोक्सानी गर्ने समस्या बढेको गाहा बताउनुहुन्छ । 

पछिल्लो समय गाउँमा बाँदरको बिगबिगी भए पनि स्थानीय सरकारले बाँदर व्यवस्थापनमा चासो नदेखाएको किसानको गुनासो छ । जिल्लाका अधिकांश स्थानमा व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आए पनि बाँदरबाट किसान चिन्तित बनेका छन् । पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका सुन्तला खेतीका लागि उपयुक्त रहेको विज्ञको भनाइ छ । अहिले रैनादेवी छहरा गाउँपालिकोको मुझुङ, छहरा, सोमादी, रिब्दीकोटको मैनादी, कुखुमखोला, खस्यौली क्षेत्रमा व्यावसायिकरूपमा सुन्तला खेती हुँदै आएको छ । अन्नबालीमा बाँदरले नोक्सानी गरेपछि किसान सुन्तला खेतीप्रति आकर्षित बनेका थिए ।

स्थानीयवासी जङगबहादुर आलेका अनुसार वनबाट बस्तीमा आएका बाँदर धपाउन मुस्किल भएको छ । उहाँले बाँदर धपाउन अहिले एक्लै सकिने अवस्था नरहेको बताउनुभयो । महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्ने र जिस्काउन थालेपछि उनी त्रसित बनेका छन् । पूर्वखोला गाउँपालिका–१ सिलुवामा बाँदरले अन्नबाली सखाप पारेपछि बस्तीबाट नै स्थानीय बासिन्दा विस्थापित भएका छन् । पाँच/सात वर्षको अवधिमा १०÷१२ घर गाउँबाट विस्थापित हुन थालेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताउनुभयो ।

जिल्लाका अधिकांश स्थानमा बाँदर धपाउनका बन्दुक प्रयोग गरे पनि बाँदर भागेको छैन । बाँदरले बस्ती नजिक आएर किसानले उत्पादन गरेका अन्नबाली, तरकारी, घरभित्र राखिएका वस्तु क्षति गर्न थालेपछि किसान चिन्तित छन् । सामुदायिक वन संरक्षण गर्न थालेपछि बाँदर, मृग, दुम्सी बँदेल र पक्षीको सङ्ख्या बढ्दो छ ।

दुःख गरी अन्नबाली उत्पादन गरे पनि पाकेपछि भित्र्याउने बेला वन्यजन्तुले नष्ट गरेपछि समस्यामा परेको किसानको गुनासो छ । बाँदरले खाँदासम्म खान्छ, बाँकी  नखाने, क्षति गर्ने गर्छ, मृग र दुम्सीले अहिले खेतीमा प्रवेश गरी नोक्सानी गर्न थालेका छन् । पहिला  बाँदर, मृग, दुम्सी र बँदेल बस्ती नजिक देखिएका थिएनन् । अहिले खेतबारीमा नै देखिन थालेको स्थानीय बासिन्दा राधाकृष्ण आलेले बताउनुभयो ।