६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँग

पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँग
अ+ अ-

काठमाडौँ । पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् । नेपाल वेद विद्याश्रमले विसं २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको थियो । विसं २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको छ । कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो ।

पुस्तकालयमा रहेका पाँच हजार पुस्तकमध्ये महत्वपूर्ण २०० पुस्तक कोषका पूर्वपदाधिकारीले लगेको सूचना आफूले पाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउनुहुन्छ । बाहिर रहेका पुस्तक सङ्कलन गरी पशुपति क्षेत्रमा आकर्षक पुस्तकालय सञ्चालन गर्न लागिएको पनि कोषले जनाएको छ । “पूर्वपदाधिकारीले लगेका पुस्तक घरघरमै गएर सङ्कलन गरी नमूना पुस्तकालय सञ्चालन गर्छौँ, वेद विद्याश्रमका विद्यार्थीका लागि पनि पुस्तकालयले अध्ययनमा सहयोग गर्नेछ, पशुपति क्षेत्रमा आउने भक्तजनले समेत केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाउँछौँ”, उहाँले भन्नुभयो ।

कोष मातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो । कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ । वेद विद्याश्रममा अध्ययन गर्दै हाल अध्यापनसमेत गराउन थाल्नुभएका मनोज घिमिरे विद्यार्थी र अध्यापक गरी २० वर्षे अवधिमा कहिलेकाहीँमात्र पुस्तकालय खुलेको सुनाउनुहुन्छ ।  विसं २०५६ देखि कोषले चलाएको पुस्तकालयमा तोकिएका कर्मचारी कहिले आउने कहिले नआउने गर्दा प्रायजसो बन्द रहने गरेको उहाँले जानकारी दिनुभयो । राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् । ती पर्यटकका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ ।

पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक छन् । शहरी क्षेत्रमा इ–पुस्तकालयको समेत अवधारणा आइसकेको समयमा यहाँ भने भइरहेको पुस्तकालयसमेत व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन ।

महाविद्यालयका रुपमा विकास गरिँदै वेद विद्याश्रम

वेद विद्याश्रममा हाल २०९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय नौ विद्यार्थीका लागि आवासीय व्यवस्था गरिए पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएसँगै वेद विद्याश्रमको छात्रावास बन्द छ । कोरोनाका कारण बन्दाबन्दी भएका बेला विद्याश्रम बन्द गरिएको थियो । अन्य क्षेत्र खुला भएसँगै प्रशासन खोलेर अनलाइनमाध्यमबाट पठनपाठन शुरु गरिए पनि प्रभावकारी हुन नसकेको अध्यापकहरुको अनुभव छ ।

हाल कक्षा ४ देखि १२ सम्म पढाइ हुने विद्याश्रममा विसं २०७६ देखि ११ कक्षा शुरु भएको हो । हाल कक्षा ११ मा २२ र कक्षा १२ मा १७ विद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक विष्णुप्रसाद पोखरेल बताउनुहुन्छ । संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र उत्तर वाहिनी गुरुकुलमा समेत गत वर्षदेखि कक्षा ११ को पढाइ शुरु भएको छ । उपत्यकाका यी तीन संस्थामा कक्षा ११ र १२ मा संस्कृत पढाइन्छ ।

विद्याश्रमलाई कोषले सञ्चालन गर्नुअघि गुठी संस्थानले चलाउने गरेको थियो । विसं २०५२ देखि २०५४ सम्म दुई वर्ष भने विश्व हिन्दू महासङ्घले विद्याश्रम सञ्चालन गरेको थियो । विसं २०५४ देखि २०५६ सम्म फेरि संस्थानले नै सञ्चालन गरेको जनाइएको छ । संस्थानले २७ जना विद्यार्थीका लागि आवासीय व्यवस्था गरेको थियो । विसं २०५५ मा पशुपतिनाथको दर्शनसहित नेपाल भ्रमणमा आउनुभएका काञ्चीकामाकोटी पीठका शङ्कराचार्य जयन्द्र सरस्वतीले पाँच विद्यार्थीका लागि आवासीय विद्यार्थी थप गरिदिनुभएको थियो । विसं २०५६ मा तीर्थराज आचार्यले पशुपति क्षेत्रमा लगाउनुभएको सोमयाग यज्ञबाट जम्मा भएको स्रोतबाट एक जना विद्यार्थीका लागि विद्याश्रमको आवासीय सुविधा थप गरिएको थियो । विसं २०६० मा बलबहादुर केसी संस्कृति मन्त्री हुँदा विद्याश्रममा एक जिल्लाको एक जना विद्यार्थीलाई आवासीय रूपमा छात्रावासमा राखी पढ्ने व्यवस्था गरिएको प्रधानाध्यापक पोखरेल बताउनुहुन्छ ।
 
विसं २०७६ देखि भने आवासीय विद्यार्थीको सङ्ख्या बढाएर १०९ पुर्याइएको छ । आवासीय विद्यार्थीको सङ्ख्या १०९ पुर्याएपछि कोरोनाका कारण १० महिनादेखि छात्रावास बन्द छ । कोषले विद्याश्रमलाई महाविद्यालयका रूपमा अघि बढाउने सोच अघि सारेको छ । यसका लागि विद्याश्रमका भवन जीर्णोद्धारसँगै बिस्तारसमेत हुन थालेका छन् । योग कक्षा, यज्ञशाला र कक्षाकोठा धमाधम निर्माण भइरहेको छ । पशुपति क्षेत्रस्थित वनकालीको ३१ रोपनी क्षेत्रफलमा फैलिएको विद्याश्रम नेपालमा वेदको औपचारिक पठनपाठन हुने महत्वपूर्ण शैक्षिक संस्था हो । यही विद्याश्रमकै कारण पाठ्यक्रम विकास केन्द्रले वेद विद्याश्रमको छुट्टै पाठ्यक्रम निर्माण गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक समेत छपाइ भइरहेको छ । यसबाट देशभर सञ्चालनमा रहेका करिब २०० गुरुकुललाई सहयोग पुगेको छ ।

विद्याश्रम पूर्वीय दर्शनको संरक्षणमा महत्वपूर्ण शैक्षिक संस्था भए पनि शिक्षक, कर्मचारीको वृत्ति विकासमा व्यवस्थापनले ध्यान नदिएको गुनासो हुने गरेको छ । विसं २०५६ देखि कार्यरत शिक्षक, कर्मचारीमध्ये विद्याश्रमका एक जना अध्यापकमात्र स्थायी र अरु करारमा नियुक्ति हुँदा शैक्षिक क्रियाकलापमा असर पुगेको छ । करारमा काम गर्दा अवसर पाउने बित्तिकै अध्यापक अन्यत्र जाने गर्नाले पठनपाठनमा समस्या आउने गरेको हो ।