धरान । बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो ।
सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई वर्षको नहुँदै आमाले अर्को विवाह गरेपछि उहाँ आफन्तको सहारामा बस्दै आएका उनी २०७८ सालमा उहाँको आफन्तको सहयोगमा धरान आइपुगेका थिए । यहाँ आएपछि तामाङले बालगृहमा आश्रम मात्रै पाएका छैनन् उनको पढ्ने रहर पनि पूरा भएको छ ।
पाँच कक्षामा अध्ययनरत उनी पढाइमा अब्बल मानिन्छन् । “यहाँ मलाई सबैले माया गर्नुहुन्छ । पढाइमा पनि सहयोग गर्नुभएको छ”, उनले भने, “हामी सबै जना मिलेर बसेका छौँ ।” तामाङका लागि मात्रै होइन, यतिबेला यो बालगृह उहाँ जस्तै नौ जनाका लागि आश्रयस्थल बनेको छ ।
कुशल गुरुङ घलेले विसं २०७४ मा दर्ता गरी व्यक्तिगत रु एक करोड २० लाख लगानीमा तीन कठ्ठा जग्गामा बालगृहमा सुरु गर्नुभएको थियो । हाल यस बालगृहमा सरकारी, निजीलगायतका क्षेत्रबाट सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ । सबैको साथ र सहयोगका कारण बालगृह सञ्चालनलाई अझ प्रभावकारीरुपमा सञ्चालनमा हौसला मिलेको घलेले सुनाउनुभयो ।
“बालगृहमा आश्रय खोज्दै आउने बालक बढ्दैछन्, हामीले एक पटकमा २० जनालाई राख्नसक्ने गरी क्षमताको बालगृह बनाएका छौँ”, उहाँले भन्नुभयो, “मुख्य उद्देश्य उनीहरुको पालपोषण र शिक्षादिक्षा राम्रो होस् भन्ने हो ।”
सात वर्षको उमेरमा धादिङबाट बालगृह आइपुगेका ११ वर्षे सउल तामाङ पनि आफूलाई यहाँ बस्न र पढाइमा कुनै समस्या नभएको सुनाउनुभयो । यहाँको वातावरण राम्रो हुनुका साथै घले अङ्कलको मायाले आफूहरु खुसी भएको उहाँले सुनाउनुभयो ।
“उहाँहरुले हामीलाई निकै मायाका साथ राख्नुभएको छ, कुनै कमी हुन दिनुभएको छैन”, उनले भने, “पढ्न, खान र बस्नका लागि कुनै समस्या छैन ।” उहाँ अहिले कक्षा ६ मा पढ्नुहुन्छ । पाँच कक्षाको नतिजामा उहाँ कक्षामा तेस्रो हुनुभएको थियो ।
बालगृहमा आश्रय लिएकामध्ये बाँकेका १६ वर्षे सन्देश सुनार उमेरका हिसाबले सबैभन्दा जेठो हुनुहुन्छ । उहाँ अहिले कक्षा ११ मा पढ्नुहुन्छ । “घरमा हुँदा खान पनि समस्या थियो, पढाइ पनि प्रभावित भएको थियो”, उहाँले भन्नुभयो, “यहाँ बस्न थालेपछि धेरै सहज भएको छ । खान र बस्नको चिन्ता छैन । पढाइ पनि सुध्रिएको छ ।”
भारतका कश्मिरमा जन्मिनुभएका घले बालगृह सञ्चालनमा आफ्नै विगत पनि जोडिएको बताउनुहुन्छ । दुई वर्षको छँदा आमा गुमाउनुभएका घलेले बुबाको माया पनि पाउनुभएन । दुर्घटनामा आमालाई गुमाएपछि बेसहारा बन्नुभएका उहाँको त्यसपछिको बाल्यकाल दिदीको सहयोगमा चितवन बितेको थियो ।
“मलाई पनि सानैमा आमा गुमाएको पीडा छ, त्यो बेला दिदी अभिभावक बन्नुभयो, अहिले म यी अबोध बालकहरुको अभिभावक बन्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “कुनै पनि बालक बेसहारा बन्नु नपरोस् भन्ने मेरो चाहना छ ।”
उहाँका अनुसार अहिले बालगृहमा धादिङ, जाजरकोट र बाँकेलगायतका जिल्लाबाट आएका बालकले आश्रय लिइरहेका छन् । बालगृहमा बालकहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको छ । विद्यालयमा पनि उनीहरुले अब्बल बन्दै गएको देखिएको उहाँको भनाइ छ । बालगृहमा कक्षा १ देखि कक्षा ११ सम्मका विद्यार्थीहरु रहेको उहाँले बताउनुभयो ।
“बालबालिकालाई राम्रो खान र बस्न मात्रै दिएर पुग्दैन, उनीहरुलाई माया र स्याहारको ठूलो खाँचो हुन्छ, त्यसतर्फ हामी सचेत छौँ, उनीहरुलाई मायाको कमी नहोस् अभिभावकविहीन हुनुपर्दाको दु:ख नहोस् भन्नेमा ख्याल राखेका छौँ”, घलेले भन्नुभयो । उहाँ भविष्यका कर्णाधार भनिने बालबालिकालाई आवश्यक सहयोग गरिरहेको र उनीहरुको आवश्यकताअनुसार सबै सुविधा उपलब्ध गराउने प्रयास गरिरहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सुनसरी, ललितपुर पुलचोकस्थित राष्ट्रिय बाल अधिकार परिषद् र सामाजिक विकास मन्त्रालय प्रदेशमा सूचीकृत भई बालगृह सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय बालगृहमा जनप्रतिनिधि, समाजसेवीलगायतले समय समयमा सहयोग गर्दै आउनुभएको उहाँको भनाइ छ ।
बालगृह निर्माणका क्रममा धरान उपमहानगरपालिकाका वडा नं ४ को कार्यालयले प्रवेशद्वारा निर्माण गरिदिएको थियो भने धरानका जनप्रतिधिहरुले श्रमदान गर्नुभएको थियो । साथै धरानस्थित सियोन स्कुलले रु ७० हजार सहयोग गरेको थियो । साथै धरान उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख हर्कराज साम्पाङ राईले तीन सय ३७ ट्याक्टर ढुङ्गा उपलब्ध गराउनुभएको थियो । घले सन् २०१८ मा नेपाल सरकार र ‘द लाइट हाउस फाउण्डेसन’ नेपाललगायत दर्जनौँ सङ्घसंस्थाबाट पुरस्कृत भइसक्नुभएको छ । रासस