• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैनः उपप्रधानमन्त्री यादव



भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको फुटले सरकारलाई कुनै असर नगर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उपप्रधानमन्त्री यादवले भन्नुभयो, “हामी स्थिर सरकारका पक्षमा छौँ, हामीले जहिले पनि स्थिरता खोजेका छौँ, त्यो दायित्वबाट पछि हट्दैनाँै, हामीले सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लाग्दैनौँ ।”

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले आफ्नो पार्टीले राजनीतिक स्थिरता, सुशासन, विकास, समृद्धि र सङ्घीय गणतन्त्रको स्थायित्व खोजेकाले सरकार ढाल्ने खेलमा नलाग्ने बताउनुभयो । उहाँले पार्टी फुटाएको विषयमा सर्वोच्च अदालतमा न्यायका लागि जाने बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले भन्नुभयो, “म सरकारको प्रतिनिधित्व गरेर विदेश गएको बेलामा यहाँ षडयन्त्र गरेर पार्टी फुटाइयो, पार्टी फुटाएको विषयलाई लिएर हामी आइतबारसम्म सर्वोच्च अदालबाट कानुनीरुपमा चुनौती दिन्छौँ, सर्वोच्चले पक्कै न्याय दिनेछ र पार्टी फुटलाई बदर गर्नेछ ।”

पार्टी फुटाएर षडयन्त्रपूर्वक अस्वाभाविक, सिद्धान्तबिहन रुपमा अनैतिक र असंवैधानिक कार्य गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले अदालतले पार्टी फुटलाई बदर गर्ने विश्वास रहेको बताउनुभयो । नयाँ पार्टीको नाम, झण्डा र लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोलिपल्ट पार्टी दर्ता गराएको उहाँको आरोप थियो ।

“पार्टी फुटाएर लोकतन्त्र कमजोर पार्ने तथा देशमा अस्थिरता ल्याउन खोजेको देखियो”, उपप्रधानमन्त्री यादवले भन्नुभयो । रासस