२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि



symbolic picture
अ+ अ-

काठमाडौं । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उहाँको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो ।

पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र सेवन गरी साधना गर्नुभएकाले हड्डीको समस्या देखिएको चिकित्सकको भनाइ रहेको आश्रमले जनाएको छ । त्यहाँ घिमिरेको नेतृत्वमा ३३ रोपनी क्षेत्रफलमा नौतले विन्ध्यवासिनी मन्दिरसहित आश्रम बनिरहेको छ ।  

विश्वमा शीतयुद्ध चलिरहेका बेला विसं २०४३ अघि घिमिरेले विन्ध्यवासिनीमा वैदिक विधिअनुसार ११ जना ब्राह्मणबाट एक महिनासम्म यज्ञ गराउनुभएको थियो । महायज्ञका लागि पशुपतिनाथबाट पोखरासम्म उहाँ पैदल यात्रा गर्नुभएको थियो । महायज्ञ सकेर घिमिरे पोखराबाट काठमाडौँ पनि पैदल यात्रा गर्दै आउनुभएको थियो । शीतयुद्धबाट विश्व शान्तिका लागि त्यो महायज्ञले योगदान गरेको विश्लेषण त्यसबेला गरिएको थियो । विसं २०४३ मा संयुक्त राष्ट्र सङ्घले समेत शान्ति वर्षका रूपमा घोषणा गरेको थियो ।

विश्व शान्ति अभियानमा उहाँको महत्वपूर्ण योगदान रहेको विन्ध्यवासिनी आध्यात्मिक सङ्घका पूर्वाध्यक्ष केशवप्रसाद चौलागाइँले राससलाई जानकारी दिनुभयो । विसं २०४५ मा उहाँले पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको पदयात्रा गर्नुभएको थियो । विसं २०४८ मा मुक्तिनाथबाट कन्याकुमारीसम्मको पैदलयात्रा पनि उहाँले सम्पन्न गर्नुभएको सङ्घले जनाएको छ । 

कन्याकुमारीबाट हिमालयसम्मको क्षेत्रलाई आर्यावर्तका रूपमा वैदिक शास्त्रमा व्याख्या गरिएको छ । विसं २०६१ मा उहाँले देशमा जारी द्वन्द्व अन्त्यका लागि सङ्घको कार्यालय सतुङ्गलमा गणपति महायज्ञसमेत आयोजना गर्नुभएको थियो । साधक घिमिरेले यज्ञ र पदयात्रामा भारतवर्षमै श्रेष्ठता कायम गर्नुभएको जनाइएको छ । 

उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । बनारसमा साधनाका लागि बस्दा उहाँ नेपाली बाबाका नामले चिनिनुभएको थियो । त्यसपछि उहाँ नेपाली बाबा उपनामले प्रख्यात हुनुभयो ।