२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार



अ+ अ-

टीकापुर । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक हुनुभयो । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग कैलाली लाग्नुुभयो । कैलाली आएपछि युवक कैलालीमा घर नभएको, भारतमा गएर विवाह गरौँ भनेर भारततर्फ लागे । युवकले ढाँटेको थाहा पाएपछि महिला चिन्तित त हुनुभयो तर युवकसँग नजानुको विकल्प थिएन । घर छाडेर हिँडिसकेकी महिलालाई अब डर लाग्न थाल्यो ।

कैलालीको सीमा नाका खक्रौलामा बेचबिखन न्यूनीकरणका लागि निगरानीमा बसेको साना हातहरु नेपालले उनीहरुमाथि शङ्का गर्यो । युवकले भारतमा रोजगारीका लागि जान थालेको, आफूहरु दम्पती भएको बताए । साना हातहरु नेपालका प्रतिनिधिले निकै सोधपुछ गरेपछि युवकलाई नियन्त्रणमा लिइयो । “मैले साना हातहरुका दिदीहरु देखेपछि अब बाँचिन्छ कि जस्तो लाग्यो, अनि सबै कुरा खोलेँ, दिदीहरुले प्रहरी बोलाउनुभयो”, उद्धार गरिएकी महिलाले भन्नुभयो, “हाल म साना हातको संरक्षणमा बसेकी छु । मलाई झुक्याउने युवक बेचबिखन मुद्दापछि सजाय भोगिरहेका छन् । म सिलाइकटाइको काम सिकिरहेकी छु । मैले नयाँ जीवन पाएँ, अब जीवन सुन्दर बनाउँछु ।”

रोजगारीका सिलसिलामा नेपाल–भारत सीमा हुँदै भारत जाने महिला तथा बालबालिका बेखबिखनको जोखिममा पर्न सक्छन् । यी महिलाको समयमै उद्धार नभएको भए जोखिम थप बढ्ने साना हातहरु नेपालका स्टेशन संयोजक तुलसी विक बताउनुहुन्छ । “हामीले सीमामा बसेर धेरै शङ्का गर्नुपर्ने हुन्छ । हामीले गत वर्ष ३०१ महिला तथा बालबालिकालाई उद्धार गरेका छौँ”, उहाँ विक भन्नुहुन्छ, “दुई वर्षको अवधिमा चारवटा बेचबिखनसम्बन्धी मुद्दा चलाएका छौँ । रोजगारीका लागि भारत जानेहरु बेचिने जोखिम बढी छ ।”

स्टेशन संयोजक विक नेपाली महिलाहरु घाँस, दाउराका लागि भारतीय जङ्गल जाने, किनमेलका लागि पनि भारत जाने भएकाले थप जोखिममा रहेको बताउनुहुन्छ । “हामीसँग घाँस काट्न जान थालेको भन्नुहुन्छ, कसरी रोक्नु ? त्यसरी गएकाहरु नफर्कने डर हुन्छ”, उहाँले भन्नुभयो, “गत वर्ष यसैगरी घाँस काट्न गएकी किशोरी नफर्केपछि बेचिएकी थिइन् । हामीले भारतीय प्रहरीको सहयोगमा एक महिनापछि किशोरीको उद्धार गरेर नेपाल ल्यायौँ ।”

साना हातहरु नेपालले सीमाबाट भारत जानेहरुमा शङ्का लागेकालाई सोधपुछ गर्ने, उद्धार गर्ने र बेचबिखनमा पर्न थालेको भए मुद्दा चलाउनेसम्मको काम गर्छ । “साना हातहरु नेपालले सीमामा बसेर प्रहरीलाई सघाएको छ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बम भन्नुहुन्छ, “हामी एकापसमा सहकार्य गरेर सीमामा निगरानी गरिरहेका छौँ । सोधपुछका क्रममा शङ्का लागेकालाई उद्धारमा उहाँहरु सहयोगी बनिरहनुभएको छ ।”