२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेले पाँच दलका शीर्ष नेतासँग आज छलफल गर्दै



अ+ अ-

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका शीर्ष नेताहरुसँग आज छलफल गर्दै हुनुहुन्छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाउनुभएको छ ।

सरकारले वैशाख २८ गतेदेखि बजेट अधिवेशन आह्वान गरिसकेको छ । तर दलहरुबीच तिक्ततापूर्ण सम्बन्ध छ । सभामुख घिमिरेले दलहरुलाई सहमतिका आधार संसद्को कामकारबाही अघि बढाउन आग्रह गर्न बैठक बोलाउनुभएको बताइएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको अडान राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष नेताहरुको बैठक बोलाउनुभएको हो ।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गर्नुभएको थियो । तर सहमति हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन सभामुखले प्रमुख सचेतक, सचेतक र कार्यव्यवस्था समितिमा अलग–अलग छलफल गर्नुभएको थियो ।

यसबाहेक सभामुखले संसदलाई प्रभावकारी बनाउन, विचाराधीन विधेयक फटाफट अघि बढाउन आग्रह गर्ने तयारी गर्नुभएको छ ।