• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ?

सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो



काठमाडौँ । सूर्यकुमार यादवको शतकको आधारमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल २०२४) मा चौथो जित दर्ता गरेको छ ।

वानखेडे रंगशालामा भएको खेलमा टोलीले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । पछिल्लो ४ खेलमा हैदरावादको यो तेस्रो हार हो ।

वानखेडे स्टेडियममा मुम्बईले टस जितेर बलिङ रोजेको थियो । हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८ र प्याट कमिन्सले ३५ रन बनाए । मुम्बईका हार्दिक पाण्ड्या र पियुष चावलाले ३–३ विकेट लिए ।

मुम्बईले १७.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । सूर्यकुमार यादवले १०२ रन बनाए भने तिलक वर्मासँग १४३ रनको साझेदारी गरे । हैदरावादका प्याट कमिन्स, भुवनेश्वर कुमार र मार्को जान्सनले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले पावरप्लेमा एक विकेट गुमाएर ५६ रन बनाएको थियो । १० ओभरसम्म टोलीको स्कोर ९०र२ रह्यो, यहाँ पियुष चावलाले ट्राभिस हेडलाई आउट गरे । त्यसपछि चावलाले हेनरिक क्लासेन र अब्दुल समदलाई पनि प्याभिलियन पठाए । उनले कप्तान हार्दिक पाण्ड्याको साथ पाएका थिए जसले ३ विकेट लिएका थिए । सनराइजर्सको स्कोर ९०/२ बाट १३६/८ मा पुग्यो ।

हैदरावादका कप्तान प्याट कमिन्सले मात्र १७ बलमा ३५ रन बनाए । उनको इनिङ्सको आधारमा टोलीले २० ओभरमा १७३ रन बनाएको थियो । कमिन्ससँगै इम्प्याक्ट प्लेयर सनवीर सिंहले ७ बलमा ८ रन बनाएर नटआउट रहे । त्यस्तै मुम्बईका अंशुल कम्बोज र जसप्रित बुमराहले १–१ विकेट लिए ।

१७४ रनको लक्ष्य पछ्याएको मुम्बईले ९ बलमा २६ रन बनाएको थियो । तर यहाँबाट मुम्बईले ५ रनमा ३ विकेट गुमाएको थियो । टोलीको स्कोर ५ ओभरमा ३ विकेट गुमाएर ३६ रन बन्यो ।

छैटौं ओभरमा सूर्यकुमार यादव र तिलक वर्माले कमिन्सविरुद्ध फेरि १६ रन बनाए । त्यसपछि अर्को ओभरमा मार्को जान्सनविरुद्ध २२ रन बनाएर हैदरावादलाई दबाबमा पारे । ७ ओभरपछि स्कोर ७४ रन पुग्यो ।

१८ औं ओभरको दोस्रो बलमा सूर्यकुमार यादवले छक्का प्रहार गरे । योसँगै उनले आफ्नो शतक पूरा गर्दै टोलीलाई जित दिलाए । सूर्य ५१ बलमा १०२ रन बनाएर नटआउट रहे । उनले तिलक वर्मासँग १४३ रनको साझेदारी पनि गरे । तिलकले ३२ बलमा ३७ रन बनाए ।

१६ बल बाँकी रहँदा जितसँगै मुम्बई इन्डियन्स अंक तालिकाको ९ औं स्थानमा पुगेको छ । टोलीले १२ खेलमा ४ जित र ८ हारबाट ८ अंक जोडेको छ । गुजरातको पनि समान अंक छ, तर कमजोर रनरेटका कारण टोली १० औं स्थानमा झरेको छ । बैंगलोर र पञ्जाबको पनि ८–८ अंक छ तर राम्रो रनरेटका कारण दुवै टोली मुम्बईभन्दा अगाडि छन् ।

अर्कोतर्फ, हैदरावादले पछिल्ला ४ खेलमा तेस्रो हार बेहोरेको छ । अब उसको ११ खेलमा ६ जित र ५ हारबाट १२ अंक छ, टोली चौथो स्थानमा छ तर छनोट हुन अन्तिम तीन खेल जित्नुपर्नेछ ।