११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु



अ+ अ-

कमलामाई । सिन्धुलीको जुनार बगैँचामा प्रोटिन–वेट छिट्न सुरु गरिएको छ । जुनारमा लाग्ने औँसा कीरा व्यवस्थापनका लागि प्रोटिन–वेट छर्किन सुरु गरिएको हो ।

यसले जुनार तथा सुन्तला जातका फलफूलमा लाग्ने औँसा कीरा व्यवस्थापन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख यमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रोटिन वेट विषादीयुक्त हुन्छ, जुनारको फल कुहाउने औँसा नियन्त्रणका लागि छरिएको हो, प्रोटिन वेटमा कीरा आकर्षण हुन्छ, यसले प्रोटिन वेट सँगसँगै विषादी पनि खान्छ र कीरा मर्छ, त्यसैले जुनारको फलमा अण्डा पार्न सक्नैन्, जसले गर्दा किराको औँसा विकास हुँदैन र फल जोगाउन सक्छौँ ।”

यतिबेला बोटमा जुनारको फल गुच्चा आकारको भएको छ । प्रोटिन–वेट बगैँचाको प्रत्येक तीन बोट बराबर एक बोटको कुनै एक छेउमा छर्कने गरिएको छ । जुनार बगैँचामा प्रोटिन–वेट छर्किन स्प्रेकर्तालाई तालिम दिएर बगैँचामा खटाइएको छ । यतिबेला स्प्रेकर्ता आफ्नो स्वास्थ्य सुरक्षाका लागि सावधानी अपनाउँदै जुनार बगैँचामा प्रोटिन वेट छरिरहेका देख्न सकिन्छ । फलेका तीन बोटमध्ये एक बोट जुनारको निश्चित ठाउँमा चिन्ह लगाइ एक भाग प्रोटिन वेटमा दुई भाग पानी मिसाएर तयारी प्रोटिन–वेटको घोल साताको एक पटक १० सातासम्म स्प्रे गर्नुपर्ने हुन्छ ।

सात वर्षअघिदेखि जुनार फल कुहाउने कीराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने गरिएको छ । प्रोटिन–वेट विषादी छर्केपछि जुनारको दाना कुहाउने तथा औँसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स नियन्त्रणमा आएको जुनार कृषक नारायण सापकोटाको भनाइ छ ।

उहाँले अघिल्लो वर्ष दुई सय बोटको जुनार बिक्री गरेर रु पाँच लाख आम्दानी गर्नुभएको थियो । कृषक सापकोटाको बगैँचामा अहिले तीन सय ५० जुनारका बोट छन् । उहाँले जुनार बगैँचाभित्र लसुन, प्याजलगायत तरकारीजन्य खेती पनि गर्नुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनको तथ्याङ्कलाई आधार मान्दा सिन्धुलीमा हाल एक हजार ५० हेक्टरमा जुनारको व्यावसायिक खेती भइरहेको छ । जिल्लाको गोलन्जोर, सुनकोसी, फिक्कल र तीनपाटन गाउँपालिका तथा कमलामाई नगरपालिकाको वडा नं ३ जुनारका ‘पकेट क्षेत्र’ हुन् । रासस