९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
अ अ+ अ-

म्याग्दी । कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।

बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले दुई र बाली संरक्षण प्रयोगशाला पोखराले एउटा कृषक समूहमार्फत पाठशाला सञ्चालन गरेका हुन् । आइपिएम सहजकर्ता सोवित शर्माले १८ हप्ताका लागि गोलभेँडा, आलु र काँक्रो खेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“कृषकलाई मित्र र शत्रुजीव पहिचान गर्न सिकाएर स्थानीयरुपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ फसल उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गरिरहेका छौँ ।”

शर्माका अनुसार प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा चार वटा पल्ट (ड्याङ) बनाएर फरक तरिकाले फरक जातको काक्रो, आलु र गोलभेँडाको सामुहिक खेती गरिएको छ । बेनी–१ अर्जममा बाली संरक्षण प्रयोगशालाको सहयोगमा गोलभेँडा खेतीका लागि आयोजना भएको आइपिएम पाठशालामा २९ जना कृषक सहभागी भएका उहाँले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी–२ को बगरफाँटमा काँक्रो र मङ्गला गाउँपालिका–२ तोराखेतमा आलु खेतीका लागि सञ्चालन भएको पाठशालामा २५/२५ कृषक सहभागी भएका छन् । बेनी–३ भकिम्लीको भकुभुकेमा स्वर्गाश्रम, वडा नं ५ को बगुवाखोला, वडा नं ९ तोरीपानी र वडा १० नं पात्लेखेतमा आलु खेतीका लागि उक्त पाठशाला सञ्चालन गरिएको छ ।

ती सबै पाठशालामा कम्तीमा २५ जनाका दरले कृषक सहभागी भएका आइपिएम सहजकर्ता शर्माको भनाइ छ । बेनी–६ जामुनाखर्कमा आलु बालीमा पाठशाला सञ्चालन भएको छ ।

बेनी–१ अर्जमको देउराली आइपिएम कृषक समूहका अध्यक्ष तुलसी थापाले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताउनुभयो ।

“तितेपाती, असुरो, खरानी, गाइभैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छौँ”, उहाँले भन्नुभयो, “रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक खेती गर्न थालेका छौँ ।”

“खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ । कुन जिव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप पाठशालाबाट पाएका छौँ”, कृषक सुन्दर थापामगरले भन्नुभयो ।

पाठशालामा कृषकलाई भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आइपिएम सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताउनुभयो । “आइपिएम, परम्परागत र प्रदर्शनी विधिबाट फरक जातका बिरुवा रोपेका छाँै”, उहाँले भन्नुभयो, “परम्परागत तुलनामा आइपिएम विधिबाट खेती गर्दा धेरै उत्पादन लिन सकिने देखिएको छ ।”

गत आर्थिक वर्षमा बेनी–१ उपल्लाचौर, वडा नं २ को भकुण्डेचौर, वडा नं ६ को छाप र वडा नं ४ को सिङ्गामा सञ्चालन भएको आइपिएम कृषक पाठशाला प्रभावकारी बनेको थियो । बेनी–१ की कृषक सावित्री थापाले रासायनिक विषादी र मलको प्रयोग घटाइ प्राङ्गारिक मल र जैविक विषादीबाट स्वच्छ कृषिउपज उत्पादन गर्न थालिएको बताउनुभयो । एउटा पाठशाला सञ्चालन गर्न रु एक लाख ५० हजारका दरले बजेट विनियोजन गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।