• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान



एजेन्सी । राजस्थान रोयल्सका अनुभवी लेग स्पिनर युजवेन्द्र चहलले बिहीबार सनराइजर्स हैदरावादविरुद्ध आफ्नो आईपीएल इतिहासकै सबैभन्दा महँगो बलिङ स्पेल गरे ।

आईपीएलको ५० औं खेलमा चहलले आफ्नो ४ ओभरको स्पेलमा ६२ रन दिँदै एक विकेट पनि लिन सकेनन् ।

चहलले चालु सिजनमा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए तर सनराइजर्स हैदरावादका ब्याट्सम्यानले उनलाई समस्यामा पारे । ट्राभिस हेड, नितिश रेड्डी र हेनरिक क्लासेनले चहललाई चुटेका थिए । चहलले पहिलो ओभरमा ७ रन मात्र दिए पनि अर्को ओभरमा १८ रन खर्चे । त्यसपछि चहलको तेस्रो ओभरमा २१ रन खर्चिए । चहलको स्पेलको अन्तिम ओभरमा १६ रन बनेका थिए ।

यो महँगो स्पेलसँगै युजवेन्द्र चहलले आफ्नो नाममा अनावश्यक कीर्तिमान दर्ता गरेका छन् । चहल आईपीएल इतिहासमा आफ्नो स्पेलमा दुई पटक ६ वा सोभन्दा बढी छक्का खाने पहिलो बलर बने । यसअघि सन् २०१५ मा चहलको स्पेलमा मुम्बई इन्डियन्सका ब्याट्सम्यानले ६ वा सोभन्दा बढी छक्का प्रहार गरेका थिए । त्यसबेला उनी रोयल च्यालेन्जर्स बैंगलोरको हिस्सा थिए ।

चहल हालै सन् २०२४ को टी–२० विश्वकपका लागि भारतीय टोलीमा छनोट भएका थिए र त्यसपछि उनको प्रदर्शनमा गिरावट आएको थियो । चहल आईपीएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १५५ खेलमा २०० विकेट लिएका छन् ।

खेलको कुरा गर्ने हो भने राजस्थान रोयल्सले १ रनले रोमाञ्चक हार बेहोरेको थियो । राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा हैदरावादले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा रोयल्सको टोलीले २० ओभरमा सात विकेट गुमाएर २०० रन बनाउन सक्यो ।