१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित
अ अ+ अ-

महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन् । न छानाको चिन्ता छ न मानाको । चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने !

यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन् । घरबास कहिले उठ्ने हुन् अहिलेसम्म टुङ्गो छैन तर त्यहाँका अबोध बालबालिका भने घर जलेकै ठाउँमा ‘खरानीको घर’ बनाउने खेलमा व्यस्त छन् । खरानी मुछेर दिनमा कैयनपटक घर बनाउँछन्, भत्काउँछन् । अनि एकअर्कालाई भन्छन्, “याह देख, हम त देवाल ठार कदेली (यी हेर, मैले त पर्खाल ठड्याएँ) ।”

अचेल हरेक दिन स्थानीय अभिभावकले यस्तै दृश्य देख्नुपरेको छ । बालबालिकाका लागि रमाइलो खेल भएपनि देख्नेका लागि वैशाख १२ को कहालीलाग्दो दृश्य सम्झाएर पलपलमा मन छियाछिया बनाउने कारण बनिरहेका छन यी दृश्य ।

आगलागीबाट क्षतिग्रस्त वडासँग जोडिएको छिमेकी बस्तीका मोहम्मद इसराफिल राइन घर जलेर बनेको खरानीको सहारामा सपनाको घर सजाउने बालबालिकाको क्रियाकलाप हेरेर आफूले पनि आँशु रोक्न नसकेको बताउनुहुन्छ । “दसकौँ पहिलेदेखि बसिरहेका घर जलेर खरानी भएका छन्, बालबालिकाले त्यही खरानी मुछेर घर बनाइरहेका छन् । रमाइलोका लागि बनाइएका यी खरानीका घर सो बस्तीका सपना पनि हुन् । ती सपनाका घरमा पीडित परिवारले अब कहिले पो बस्न पाउने हुन् । सम्झदा पनि उदेक लाग्छ”, इसराफिलले भन्नुभयो, “तर सबैको सहयोगमा दसकौँदेखि बसिरहेको आफ्नै थातथलोमा स्थानीयले बस्न पाउने गरी घर बन्ने हाम्रो अपेक्षा छ ।”

स्थानीय अभिभावकमात्रै होइन मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डललाई पनि यी दृश्यले वैशाख १२ मा दन्दनी सल्किएको आगोको बिस्मृति सम्झाएर भत्भति पोल्छ, गहभरि आँसु हुन्छ । “मैले आफैँले देखेँ, भोगेको घटनाले मन अझै स्थिर हुन सकेको छैन । हरेक दिन बस्ती निरीक्षणमा जाँदा बालबालिका खेलिरहेका दृश्यले झन् अस्थिर बनाउँछ । मलाई नै भत्भति जलिरहेको आभाष हुन्छ”, मण्डल गला अवरुद्ध पार्दै भन्नुहुन्छ, “नगरबस्ती घुमफिरपछि घर पुगेर खान थालेकै बेला वडा नम्बर–६ कार्यालयबाट आगलागीको खबर आएलगत्तै गाँस छाडेर बस्ती पुगेको क्षण उप्काएर बेचैनी बढाउँछ ।”

नगरप्रमुख मण्डलले भनेअनुसार उहाँको घर आगलागी भएको स्थानबाट करिब ४ सय मिटर मात्र टाढा छ । उहाँ घटना सुनेलगत्तै गाँस छोडेर बस्तीतर्फ हानिएको सम्झिँदा बेलाबेला भावुक बनाउने गरेको बताउनुहुन्छ । घरबाट निस्किँदै नगरको दमकल चालक, जिल्लास्थित सशस्त्र प्रहरीको ९ नम्बर गण, जिल्ला प्रहरी, जिल्ला प्रशासन र नेपाली सेनाको परिकौलीस्थित गणमा फोन गरिसकेकाले उहाँ नपुग्दै पाँच सात मिनेटमै नगरको दमकल आगो निभाउन लागेका दृश्य मानसपटलमा ताजा बनेर आउँछ ।

प्रचण्डगर्मीको राप र हावाको गतिका अगाडि एउटा दमकल निरिहजस्तै बन्यो । प्रमुख जिल्ला अधिकारीको समन्वयमा केहीबेरमै दमकल थपिँदा आगोको लप्काले धेरै घरलाई लपेटिसकेको थियो । मण्डल भन्नुहुन्छ, “एकै छिनमा १० वटा दमकल पुगे, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर कर्मचारी र नगरबासी त पुग्यौँ तर केही सीप चलेन । आगो निभाउन करिब छ घण्टा लाग्यो । त्यतिञ्जेल बस्ती खरानी भइसकेको थियो ।”

सो दिनको मौसम र आगोको राक्षसी रुप हेर्दा बस्तीमा थप क्षति बढ्न नदिन एक प्रकारको सफलता नै पाएको मण्डलको भनाइ छ । उहाँले त्यसो भनिरहँदा हामीले जिज्ञासा राख्यौँ, क्षति कम गर्न तपाईंहरुको प्रयास पर्याप्त थियो कि थप केही गर्न सकिन्थ्यो रु जवाफमा मण्डल भन्नुहुन्छ, “जसको असावधानीले भए पनि आगो त लागिसकेको थियो । हामीले खबर पाउनेबित्तिकै लागेपुगे जति सबै प्रयास गर्यौँ । आफ्नो दमकल समयमै पुर्‍यायौं, थप दमकल र आगो निभाउन दक्ष जनशक्ति पनि समयमै घटनास्थलमा परिचालन भए । प्रतिकूल मौसमले आगो निभाउन धेरै समय लाग्यो ।”

बस्तीमा आगो दन्किरहँदा मण्डल बलिन्द्र आँसु झार्दै बस्तीबाट ससाना लालाबाला, सरसामान, पशुचौपाया र अन्य वस्तु जोगाउन अपिल गरिरहनुभएको थियो । निकै द्रवित र हतास हुनुभएका मण्डलको त्यसताकाको भिडियो पनि सार्वजनिक भएको थियो । भिडियोमा देखिएजस्तो नागरिकको पीडा र क्षतिले भावविह्वल हुँदा पनि आफू हतास भने नभएको उहाँको भनाइ छ ।

राहत र पुन:स्थापना

विपद् नै अप्रत्यासित हुन्छ । सुख्खा र गर्मीयाम भएकाले अहिले देशभर नै आगलागीका अप्रत्यासित घटना दिनदिनै बढिरहेका छन् । मटिहानी आगलागी घटना पनि त्यस्तै अप्रत्यासित थियो । त्यसैले घटनाबारे दु:खमनाउ गर्नुभन्दा अरु ठाउँमा यस्तै घटना हुन नदिन विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक छ भने मटिहानीमा भने पुनस्र्थापना, पुनर्लाभ र पुनर्निर्माणका क्रियाकलापमा गति दिनुपर्ने आवश्यकता छ । यो चरणमा मटिहानी नगरपालिका एक्लैको प्रयास पर्याप्त हुँदैन, छैन । नगरप्रमुख मण्डल पनि उद्धार र राहतका लागि अभूतपूर्व सहयोग जुटेको र अब खरानी टक्टक्याएर मटिहानीलाई माथि उठाउनका लागि थप सहयोग आवश्यक रहेको बताउनुहुन्छ ।

“मटिहानीका लागि यो ठूलो विपद्को समय हो तर यो समस्यामा हामी एक्लै छैनौँ । यो देशकै पीडा भएकाले सबै हामीसँग उभिन्छन् भन्ने आशा छ । त्यसैले प्रभावित परिवारका लागि तत्काल आवश्यक पर्ने राहत सामग्री उपलब्ध भइरहेका छन् । विभिन्न सङ्घसंस्था, जिल्लास्थित सुरक्षा निकाय, उपकारी व्यक्तिहरुको उदात्त सहयोगले धेरै कुरा जुट्यो”, मण्डलले भन्नुभयो ।

अहिले प्रभावित बस्तीका सबैजसो परिवारमा एक महिनासम्म पुग्ने तयारी खानेकुरा, खाद्यान्न (दाल, चामलसहितका भान्साका सामग्री), लुगा र अत्यावश्यक भाँडाकुँडा प्राप्त भएको उहाँले जानकारी दिनुभयो । विपद्का बेला सहयोग र सद्भाव राख्नेहरु मटिहानीबासीको सम्झनामा सधैँ रहने भन्दै मण्डल अब सुरक्षित बासका लागि पनि सबैबाट उत्तिकै सहयोग पाउने आशा व्यक्त गर्नुहुन्छ । हालसम्म जुटेको सहयोगबाट पीडित परिवारलाई खान र आङ ढाक्न सक्ने अवस्था बने पनि बासको प्रबन्ध नहुँदा खुला आकाशमुनि बस्नुपर्ने बाध्यता रहेकाले त्यो पनि चाँडै हट्ने उहाँको विश्वास छ । “प्रचण्डगर्मी छ । साना बालबालिका बाबुआमा र अभिभावकका काखमा निदाए पनि घरका बुढापाकाले अझै राम्ररी सुत्न पाएका छैनन् । अब प्रभावित परिवारलाई घामपानीको ओत दिनुपर्ने छ । नगरपालिकाको यो तयारीमा सबैको सहयोग रहने विश्वास छ”, उहाँ आशावादी हुनुहुन्छ ।

पुनस्र्थापना र पुनर्निर्माणका लागि प्रदेश, केन्द्र सरकार र अन्य निकायसँग पनि निरन्तर छलफल तथा समन्वय भइरहेको नगरपालिकाले जनाएको छ । केही दिनअघि मधेश प्रदेशका मुख्यमन्त्रीको स्थलगत निरीक्षण र केन्द्र सरकारको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले अवलोकनपश्चात् आफूमा पनि केही हिम्मत बढेको नगरप्रमुख मण्डलको कथन छ । “बच्चाहरुले बनाउने खरानीका घर होइन पहिलेजस्तै स्थायी घर बनाउन तीनै तहका सरकार र अन्य व्यक्ति तथा दातृ निकायसँग पनि कुरा भइरहेको छ । एक सयभन्दा बढी परिवारको व्यवस्थापन गर्नुपर्ने भएकाले केही समय त लागिहाल्छ तर पनि हामी फेरि उठ्ने छौँ र नगर निर्माणका अरु काममा जुट्ने छौँ,” मण्डलले मलिन मुहार उज्यालो बनाउँदै भन्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले तत्कालका लागि आवश्यक राहत र अस्थायी बास निर्माणका लागि त्रिपाललगायत सामग्री प्राप्त हुनेक्रम बढ्दै गएको बताउनुभयो । अब पुनस्र्थापना र पुनर्निर्माणको मुद्दामा केन्द्रीत हुन नगरले योजना बनाइरहेको शर्माले बताउनुभयो ।

“तत्कालका लागि हाम्रो नगरपालिकाले अत्यावश्यक खाद्यसामाग्री र रु पाँच हजार, काठमाडौँ महानगरपालिकाले एकमुष्ठ रु १० लाख र जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीले प्रतिपरिवार रु २० हजार राहत दिने र अरु स्थानीय तहले पनि हाम्रो पीडामा सहयोग गरी मल्हम लगाउने काम गरिरहनुभएको छ”, शर्माको भनाइ छ, “अब पुनस्र्थापना र पुनर्निर्माणको अभियानमा पनि यस्तै सहयोग हुने अपेक्षा छ किनकि यो नगरपालिकाको क्षमताभन्दा बाहिरको कुरा हो । तीन तहका सरकार र अन्य व्यक्ति तथा संस्थाको सहयोगसहित यो अभियानमा पनि चाँडै विजयी हुनेछौँ ।”

करिब रु १५ करोडभन्दा बढीको क्षति भएको जरलहवाबस्तीबाहेक मटिहानीमा वैशाखयता तीनवटा आगलागीका घटना भइसकेका छन् । जरलहवाबस्ती अघि एक फर्निचर उद्योगमा भएको आगलागीमा करिब रु ३५ लाख बराबर र गत बिहीबार मटिहानी–९ को एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको छ ।

हरेक वर्ष गर्मीयाममा हुने यस्ता घटना अप्रत्यासित रुपमा भइरहेकै छन् । मटिहानी जरलहवा आगलागीको घटनापछि नगरपालिकाले आफ्नो क्षेत्रका बस्ती र टोलमा आगो व्यवस्थापनबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

“हामीले घरघरमा खाना पकाएपछि आगो राम्ररी निभाउन, बिडी–चुरोटका ठुटा ननिभाई नफाल्न, प्रज्ज्वलनशील वस्तु (सलाई, लाइटर आदि) साना नानीबाबुले नभेट्ने ठाउँमा राख्न र आगो बाल्नपूर्व मौसमको अवस्था ख्याल गर्न सचेतना अभिवृद्धि अभियान पनि सञ्चालन गरिरहेका छौँ” प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो ।

बर्सेनि छिटफुट आगलागीका घटना व्यहोरे पनि जरलहवाबस्तीको घटनापछि महोत्तरीमात्रै होइन सिङ्गो मधेशलाई नै झस्काएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एउटा बस्ती छिनभरमा खरानीमा परिणत भएको घटनाले विपद् व्यवस्थापनको पूर्वतयारीका विषयमा आफूहरुलाई निकै चिन्तित बनाएको बताउनुभयो । “स्थानीयस्तरमा भएका विपद् व्यवस्थापन समिति थप सक्रिय हुने र सबै पालिकामा बारुणयन्त्र भइदिएको भए यति ठूलो क्षति हुनबाट रोक्न सकिन्थ्यो होला । अबचाहिँ सबै पालिकालाई सचेत बनाउने, स्थानीय नागरिकलाई सचेत र जागरुक बनाउने कार्यक्रम पनि सँगसँगै अगाडि बढाउनुपर्छ”, गेलालले भन्नुभयो ।

मटिहानीका आगलागीपीडितलाई दिगो व्यवस्थापन र पुनर्निर्माणका काम अगाडि बढाउन हाल सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनाएर अध्ययनको काम भइरहेको र समितिको प्रतिवेदन आएपछि बाँकी काम अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ छ ।

“घटनापछि तत्काल राहत र उद्धारका काम भएका छन् । अब पुनर्निर्माणका काममा जुट्नुपर्ने आवश्यकता छ । हाल बसिरहेको बस्ती गुठीको जग्गामा रहेकाले केही कठिनाइ छन् । पीडितहरुसँग अरु ठाउँमा जग्गा छ कि छैन, छ भने भएको ठाउँमा व्यवस्थापन गर्ने र नभए गुठीसँग मिलेर समस्या समाधान गर्नुपर्ने छ । त्यसमा नगरपालिका र समितिले मिलेर काम गर्नेछ”, उहाँले रासससँग भन्नुभयो ।

मटिहानी-६ का वडाध्यक्ष कलिम अन्सारी तीनै तहका सरकार र परोपकारी व्यक्ति तथा संस्थाहरुका सहयोगले आफ्नो बस्ती फेरि बौरिने र फेरि हाँसो फर्किने आशामा हुनुहुन्छ । “अहिले बस्तीका बालबालिकाले खरानीका घर बनाएका दृश्य देखेर मन छियाछिया हुन्छ, गहभरी आँसु हुन्छ । अब चाँडै स्थायी घर बनाएर यो बस्तीमा हाँसो छाउने छ । सबैको सहयोगले बन्ने त्यस्ता घरमा बालबालिकाले सुन्दर भविष्यको खाका कोर्ने छन्”, वडाध्यक्ष अन्सारीले सम्हालिँदै भन्नुभयो । रासस