• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

प्रतिस्पर्धीलाई एकै ठाउँमा बोलाएर छलफल गर्ने सुहाङको तयारी



काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ बाट २७ हजार ७ सय ७२ मतसहित निर्वाचित भएका सुहाङ नेम्वाङको चर्चा देशभित्र मात्र नभएर बाहिर पनि उत्तिकै भइरहेको छ । ३२ वर्षीय नेम्वाङले इलाममा एमालेको जितको विरासत मात्र जोगाएनन्, एमालेको युवा पुस्ताको नेतृत्व पंक्तिमा आफूलाई उभ्याएका छन् ।

२०४६ साल फागुन ६ गते सुवासचन्द्र नेम्वाङ र विशाल नेम्वाङका कान्छा छोराको रुपमा काठमाडौंमा जन्मिएका सुहाङले कलिलै उमेरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका थिए । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया गएका उनी कानुन विषय अध्ययनका लागि पुन: नेपाल फर्किए । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ गरे । उनले एलएलएम अध्ययन पूरा गरे पनि थेसिस बाँकी छ ।

सुहाङ खेलकुदमा पनि उत्तिकै रुची राख्छन् । स्कूले जीवनमा धेरैजसो होस्टलमै जीवन बिताएका सुहाङले अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएका खेलकुद प्रतियोगिताहरुमा सहभागी भइरहने गर्दछ । बुवा सुवासको सल्लाहअनुसार उनले मेची डि स्पोर्टिङ क्लबसमेत खोलेका छन् ।

अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ अब नागरिकको मुद्दा उठाउने थलोमा पुगेका छन् । उनले आफूसँगै प्रतिस्पर्धा गर्ने अन्य १८ जना उम्मेदवारले इलामका नागरिकको मुद्दा उठाएकाले ती साझा भएको बताउने गरेका छन् । आफूसँग प्रतिस्पर्धा गर्नेहरु सबैसँग एक पटक बसेर छलफल गर्ने सोच उनले बताएका छन् ।