• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी ★   हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने ★   भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो ★   इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त ★   लखनउमाथि दिल्लीको जितसँगै राजस्थान आईपीएलको प्लेअफमा ★   क्रिकेटर लामिछानेको मुद्दामा आज फैसला आउन सक्ने ★   दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा ★   बबईमा डुबेर दाजुभाइको मृत्यु ★   कांग्रेसले संसद् अबरुद्ध गरे अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी ★   टोटेनहमले रोक्न सकेन म्यान्चेस्टर सिटीलाई, हालाण्डको दुई गोलमा सिटी उपाधि नजिक

निर्माणाधिन संसद भवनको भौतिक प्रगति ७९ प्रतिशत, बैठक बोलाउन अझै अनिश्चितता



काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने कुरा अनिश्चित बनेको छ ।

सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट बैठक आगामी संसद बैठक चलाउने संघीय संसद सचिवालयको चाहना अनिश्चित बनेको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक रुपमै छिटोभन्दा छिटो संसद भवन निर्माणको काम सम्पन्न भएमा नयाँ संसद भवनबाट बैठक चलाउने चाहाना व्यक्त गरिरहनुभएको छ । तर संसद भवन निर्माणको काम सम्पन्न हुन नसक्दा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको चाहना अनिश्चित बनेको हो । सिंहदरबारस्थित कुल १५६.७७ रोपनी जग्गामा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ(भ्याटसहित) मा बन्न लागेको संसद भवन ३ वर्षमा निर्माण सम्पन्न गरिसक्ने भनि २०७६ साल असोज १६ गते सम्झौता भएको थियो ।

सम्झौता अनुरुप २०७९ असोज १६ गते निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि निर्माण सम्पन्न हुन नसक्दा २०८० साल चैत्र १९ गतेसम्मका लागि म्याद थप गरिएको थियो । सो मितिपनि नाघिसकेको अवस्था छ । हाल भवन निर्माणका लागि पुन: म्याद थपको तयारी भइरहेको जनाइएको छ । राजनीतिक तहबाट पटक–पटक छिटो निर्माण सम्पन्न गर्न आग्रह गरिएपनि हालसम्म बैठक सञ्चालन नै गर्नेगरी परिणाम आइसकेको छैन । तर कहिलेसम्म सो स्थानबाट बैठक सञ्चालन हुनेछ भन्ने ठोस जवाफ न सम्बन्धित सरकारी निकायसँग छ । न त निर्माण व्यवसायीसँग नै छ । संघीय संसद सचिवालयसँग पनि यसको ठोस जवाफ छैन । यद्यपी भवन निर्माणको काम भने आफ्नै गतिमा अगाडी बढिरहेकै छ ।

संघीय संसद भवन परिसरभित्र १२ वटा भवनहरु निर्माणाधिन अवस्थामा रहेका छन् । प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, कमन लवि, अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन, पुस्तकालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस भवन, सवारी साधन पार्किङ भवन र सुरक्षाकर्मी भवन निर्माणाधिन अवस्थामा रहेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै विशेष भवन निर्माण आयोजनाका आयोजना निर्देशक मचाकाजी महर्जनले समग्रमा संघीय संसद भवन निर्माणको भौतिक प्रगति ७९ प्रतिशत भएको बताउनु भयो । उहाँले १२ वटा भवनहरुमध्ये सबै भवनहरुमा छाना छाउने काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाको लागि भने अन्य निर्माणका कामहरु पनि भइरहेको उल्लेख गर्नुभयो । भवन निर्माणको अलावा भित्रि साजसज्जाको काम, फर्निचर, कुर्सी, सुरक्षा लगायतको काममा छुट्टै ठेक्का लगाइएको र सोको कामपनि अगाडी बढिरहेको उहाँले जानकारी गराउनु भयो । त्यसैगरी ६९ प्रतिशत वित्तीय प्रगति भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संघीय संसद भवनको ७९ प्रतिशत भौतिक प्रगति भएको अवस्था छ । १२ वटा भवनहरुमध्ये सबै भवनहरुको छानाको काम सम्पन्न भइसकेको छ भने प्रतिनिधि सभा र राष्ट्रिय सभाको भवनको छानाको काम अन्तिम चरणमा आइपुगेको छ । ट्रसका सम्पूर्ण काम इन्स्टलेसनका सम्पूर्ण काम सकिसकेका छौँ । त्यसमा टायल लगाउने, छाना छाउने काम अगाडी बढाउने तरखरमा छौँ । सेन्ट्रल लबिको ट्रसको काम बनिराखेको अवस्था छ । यो तीनवटा संरचनाको छानो सम्पन्न भइसकेपछि पूर्ण रुपमा संसद भवन सम्पन्न भएको आभाष हुनेछ । भित्रि साजसज्जाको काम, फर्निचर, कुर्सी, सुरक्षाको छुट्टै ठेक्का छ काम भइरहेको छ । भिभिआइपीमा काम भइरहेको छ । सेन्ट्रल लविमा पनि प्लानिङको काम भएको छ । छानो छाएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभामा फल्स सेलिङ, कुर्सि, इन्टेरियर र वालको काम थाल्नेछौँ । अन्य भवनमा राख्नुपर्ने कुर्सि टेबल लगायतको काम भइरहेको छ । वित्तीय प्रगति भन्नुपर्दा, ६९ प्रतिशत वित्तीय खर्च भइसकेको अवस्था । घरहरुलाई छिटोभन्दा छिटो सम्पन्न गरेर प्रयोगमा ल्याउन केन्द्रित छौँ ।’

आयोजना प्रमुख महर्जनले आफूहरुले छिटोभन्दा छिटो काम सक्न निर्देशन दिइरहेको बताउनु भयो । उहाँले हाल २५० जनामात्रै कामदारले काम गरिरहेको जानकारी दिँदै बाँकी काम सम्पन्न गर्नका लागि प्रतिदिन ६०० देखि ९०० जना कामदार परिचालन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । आफूहरुले निर्माण व्यवसायीलाई कामदारको संख्या बढाएर काम गर्न पटक–पटक आग्रह गरेपनि सो अनुरुप हुन नसक्दा काममा ढिलाई भइरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘छिटोभन्दा छिटो बनाउनका लागि लक्ष्य लिएर हामीले काम गरिराखेको अवस्था छ । निर्माण व्यवसायीलाई हतार गराएर मात्रै भएन । निर्माण व्यवसायी त्यही अनुसार छिटो छिटो काम अगाडी बढाउन सक्ने क्षमता बढाउने तरखरमा रहेको भए अहिलेसम्म यो भन्दा बढी प्रगति हामीले पाइसक्थ्यौँ । हामीले हिउँदे अधिवेशन यहीँबाट चलाउनुपर्छ भनेर धेरै ताकेता गर्‍यौँ । त्यसको प्रतिफलको रुपमा कमसेकम घरको छानो छाउने अवस्थामा आयो । अब फेरि बर्खे अधिवेशनको कुरा आइराखेको छ । यो पनि सम्भावना नहोला र पनि हामीले भनिरहेका छौँ छिटोभन्दा छिटो गर्नुपर्‍यो । छिटो चाहियो भनेर डिमाण्ड राखिराखेका छौँ भने उहाँहरुले सप्लाइ गर्नलाई पनि पछिपछि हिँडिराखेको अवस्था छ । ठ्याक्कै भन्न नसकेपनि अब बर्खा लाग्नुभन्दा अगाडी छानाका सम्पूर्ण काम सिद्धिने छन् ।

घरभित्रका ग्रेनाइट, मार्बल, बत्तिका कामहरु सकिने अवस्था भएपछि अब घर प्रयोग गर्न योग्य भयो है भन्नेखालका आभाष दिन्छौँ । एकपटक फेरि म्याद थप गर्नुपर्ने अवस्था आएको छ । कतिपय काबु बाहिरका परिस्थिति छन् । कतिपय निर्माण व्यवसायीका कारणहरु पनि होलान् । ति सबैलाई हाम्रो परामर्शदाताबाट एक एक केलाएर के–कति समय उहाँहरुलाई दिनु उचित हुन्छ भनेर निक्र्यौल गरेर अगाडी बढ्छौँ । कामदार थप्न हामीले भनेको छौँ । २५० जना मात्रै कामदार छन् अहिले । बिहान ९ देखि बेलुकी ६ बजेसम्म काम गरिरहेका छन् । उनीहरुलाई प्रोत्साहन गरेर दुई सिफ्टमा काम गर्नुस् भनेर हमीले भनिरहेका छौँ । अहिलेको हिसावले हेर्दा बाँकी काम सम्पन्न गर्नलाई प्रतिदिन ६०० देखि ९०० मान्छे परिचालन गर्नुपर्ने अवस्था छ । हामीले राख्नुस् भनेका छौँ तर राखेको छैन ।’

यता, संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि नयाँ संसद भवनबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने कुरामा अनिश्चिता रहेको बताउनु भयो । उहाँले सभाकक्षको निर्माण भएर मात्रै पनि बैठक बस्न नसक्ने भन्दै साजसज्जादेखि प्रविधि लगायत सम्पूर्ण प्राविधिक पक्षको निर्माण पूरा भएपछि मात्रै बैठक सञ्चालन गर्न योग्य हुने बताउनु भयो । उहाँले तोकेरै भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै अझै केही समय लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पहिलो कुरो त सभाकक्षको निर्माण हुनुपर्‍यो । आभारभुत रुपमा पनि सभा कक्ष पूर्ण रुपमा निर्माण भएको हुनुपर्छ । सभा कक्षको भवन निर्माण भएर मात्रै पनि हुँदैन । भौतिक निर्माण मात्रै भएर पनि हुँदैन । त्यहाँभित्रको इन्टेरियर डेकोरेशन पनि सकिनुपर्छ । सबै पक्षको निर्माण सम्पन्न हुनुपर्छ । प्रविधिको पक्षपनि छ । सभा सञ्चालनका लागि माइकको व्यवस्था, अडियो, भिडियोको व्यवस्था छ । विभिन्न प्राविधिक पक्षहरुको पूरा भएको हुनुपर्छ । अहिले भौतिक प्रगति ७९ प्रतिशत भएको छ भने अझैपनि २१ प्रतिशत भौतिक प्रगति त बाँकी नै छ । त्यो समग्रताको कुरा हो । सभाको कुरा गर्दा छाना हाल्ने काम ७५ प्रतिशत भ्याइएको हो । एकदमै छिटोभन्दा छिटो गरेको खण्डमा पनि अझै केही समय त लाग्ने नै देखिन्छ । तोकेरै भन्नसक्ने अवस्था छैन ।’

प्रवक्ता गिरीले संघीय संसद सचिवालयले पनि निर्माण व्यवसायीहरुलाई छिटोभन्दा छिटो नयाँ संसद भवनबाट बैठक सञ्चालन गर्न सक्नेगरी निर्माण सम्पन्न गर्न झक्झकाइरहेको बताउनु भयो ।

विक्रम रत्न/न्युज एजेन्सी नेपाल