• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

सांसद शर्मा भन्छन्: छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ



बाजुरा । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा सुनिल शर्माले वर्तमान सरकारले देशलाई स्थायित्व नदिने भन्दै स्थायित्वका लागि काँग्रेस र एमालेको सरकार बन्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने “यो सरकारले न सुशासन दिन्छ नत स्थायित्व नै । यो सरकार केबल टाइम पास गर्ने मात्र हो । स्थायित्वका लागि काँग्रेस एमाले सरकार नै चाहिन्छ । यो सरकारबाट मुलुकका लागि केही हुनेवाला छैन । ”

उनले अहिलेको संसदले पनि काम गर्न नसकेको बताएका छन् । उनले भने ‘जनप्रतिनिधी निर्वाचित भएको १७ महिनामा कानुन समेत बनाउन सकेको छैन । यो संसद एकअर्कालाई गाली गलौज गर्ने र जनताका नाममा धोका दिने मात्र काम भएको छ । संसदले त कानुन बनाउने हो नि ।’ उनको प्रश्न थियो ‘तर खोइ त कानुन ?’

सांसद शर्माले केही नेताहरुले राजनीति प्रणाली नै कब्जा गरी सत्ता कब्जाको योजना बनाउने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले देशको अर्थतन्त्र कमजोर हुनुमा मुख्य दोषी नै मुख्य दलहरु रहेको दाबी गरे ।

सांसद डा शर्माले राज्यले करको दायरा बढाएर कानुनको करमा प्वालैप्वाल पारेकाले व्यापारीहरुले कर तिर्न सकस भएको पनि बताए । “जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै राज्यले शिक्षा स्वास्थ्य र खानेपानीको ग्यारेन्टी गर्नुपर्छ ” उनको भनाई थियो ।

बाजुराको पुर्वी उत्तरी भेगको पिलुचौरमा शनिबार हुने निःशुल्क स्वास्थ्य शिविरका लागि बाजुरा आइपुगेका डाक्टर शर्माले पत्रकार सम्मेलनमा जनताका ६ हजार छोराछोरीले एमविविएस शिक्षा पढ्न नपाएको जिकिर पनि गरे ।

डाक्टर गोविन्द केसीलाई काँग्रेस भित्रकै केही नेताहरुले बोकेर देशको स्वास्थ्य प्रणाली र अवस्था पनि ध्वस्त बनाएको उनको भनाई थियो । यसका कारण स्वास्थ्य क्षेत्रमा नेपालका युवाहरुले उच्च शिक्षा हासिल गर्नका अवरोध पुगेको बताउनु भएको छ ।

उनले भने “ठुला पार्टीमा चुनाव लडे हार्ने डरले समानुपातिक टिका लगाएर आएकालाई शक्तिशाली मन्त्रालय दिएर राज्यको दोहन गर्ने गरेकाले देश थप समस्यामा परेको हो । निर्वाचितलाई बेवास्ता गर्दै समानुपातिकमा टिका लगाएर आएकालाई मन्त्री बनाएपछि देशको विकास हुन सक्दैन ।”