५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलोले पाइप जल्यो, खानेपानीको समस्या



अ+ अ-

गलेश्वर । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका कारण जिल्लाका मालिका, मङ्गला, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाका ३० बढी गाउँमा खानेपानीको समस्या भएको छ ।

फागुन दोस्रो सातादेखि म्याग्दीका जङ्गलमा निरन्तररुपमा डढेलो लागिरहेको छ । जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो । बुधबारसम्म म्याग्दीका एक सय १२ वनमा डढेलो लागेको र करिब एक हजार हेक्टर वनक्षेत्र जलेर नष्ट भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

बजारमाथिको सामुदायिक वनमा डढेलो लागेपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो दरबाङ क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको छ । त्यसैगरी लामो खडेरी र डढेलोका कारण खेतीयोग्य जमिनमा सिँचाइको अभाव भएपछि खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेको किसानले बताएका छन् ।

जिल्लाका मालिका, मङ्गला, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका ३० भन्दा बढी ठाउँमा डढेलोले मुहानबाट बस्तीसम्म पानी ल्याउने पाइपलाइन डढेपछि गाउँगाउँमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाले डढेलोका कारण जिल्लाभरि नै खानेपानी र सिँचाइ आयोजनाको पाइपलाइनमा क्षति पुगेको बताउनुभयो ।

“मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँबाट डढेलोले क्षति पुगेको पाइप लाइन मर्मतका लागि स्थानीयले पाइप माग गरेका छन् । जिल्लामा यस वर्ष डढेलोले खानेपानी र सिँचाइको पाइपमा ठूलो क्षति पुर्याएको छ”, ओझाले भन्नुभयो ।

बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पनि डढेलोले खानेपानीको पाइप लाइन डढेपछि खानेपानी र सिँचाइको समस्या उत्पन्न भएको स्थानीय डिलबहादुर घिमिरेले बताउनुभयो । उहाँका अनुसार एक किलोमिटरभन्दा बढी क्षेत्रमा बिच्छ्याइएको पाइप डढेलोका कारण खरानी भएपछि खानेपानी र सिँचाइको समस्या उत्पन्न भएको हो ।

सडक निर्माणका क्रममा जमिनमुनि गाडिएको पाइप र बाहिर निकालेका पाइपमा क्षति पुगेको छ । पाइप जलेपछि स्थानीयले मुहानबाट घण्टौँ लगाएर पानी बोकी खानुपर्ने बाध्यता सिर्जना भएको स्थानीय टेकबहादुर थापाले बताउनुभयो ।

वन डढेलोका कारण बर्सेनि स्थानीयले सास्ती भोग्नु परिरहेको छ । जथाभावीरूपमा जङ्गलमा आगो लगाउनाले म्याग्दीमा हरेक वर्षजसो क्षति हुने गरेको छ । जिल्लामा डढेलो फैलिँदै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले क्षति भएका खानेपानी र सिँचाइ आयोजना पुन:निर्माणका लागि बजेट व्यवस्थापनको माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।

डिभिजन वन कार्यालयको अभिलेख अनुसार जिल्लाको दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमध्ये ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी र २१ दशमलव २७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ । रासस