२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला



अ+ अ-

बेदकोट । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आउनुभएको छ ।

तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहनुहुन्छ । चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा हुनुहुन्छ । “चित्र कोर्ने सानैदेखिको सोख हो । तस्बिर हेरेर त्यसको ‘स्केच’ बनाउने र ‘पेन्टिङ’ गर्छु । अहिले यसबाट थोरै आम्दानी पनि हुन थालेको छ”, उहाँले भन्नुभयो, “पढाइलाई पनि सँगै अगाडि बढाएकी छुँ । कलेजमा व्यतीत हुने समयबाहेक फुर्सदमा चित्र कोर्छु ।”

तस्बिर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट रु दुई सयदेखि दुई सय ५० सम्म पाइने गरेको छ । पढाइसँगै फुर्सदको समयमा चित्र कोरेर हुने आम्दानीले अध्ययनका साथै घरखर्च जोहो गर्न सहजता भएको निर्मलाको भनाइ छ । निर्मलाका आमाबुबासहित छ सदस्यीय परिवार छ । उहाँ जेठी छोरी हो । आमाबुबा सुन्दरीफाँटामै खेती गर्नुहुन्छ । यहाँ निर्मलाको १५ कट्ठा जमिन पनि छ ।

“परिवारको आर्थिक अवस्थाले नधानेर माइली बहिनीले पढाइ छोडिन् । अहिले पसलमा काम गर्छिन् । अरु हामीहरु जेनतेन अध्ययन गरिरहेका छौँ”, निर्मलाले तीन बहिनीका समस्या सुनाउँदै भन्नुभयो, “चित्रबाट प्राप्त हुने सीमित रकमले जेनतेन अध्ययन खर्च चलेको छ ।” पछिल्लो समय अत्याधुनिक प्रविधिको प्रयोग हुँदा चित्रकारले काम पाउन कठिन भएको उहाँको गुनासो छ । “काम पाइएको बेला राम्रै आम्दानी हुन्छ । प्रविधिले गर्दा आजभोलि काम पाउन मुस्किल छ”, उहाँले भन्नुभयो ।

विसं २०७५ मा उहाँले चित्र बनाउने र पेन्टिङको तालिम लिनुभएको थियो । चित्रकलामा महिलाको उपस्थिति नगन्य छ । जिल्लाभर चार–पाँच महिला मात्रै व्यावसायिक रुपमा चित्रकलामा आबद्ध रहेका नेपाल कमर्सियल आर्टिस्ट सङ्घका सल्लाहकार सुरेश पथिकले बताउनुहुन्छ । रासस