• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला ★   द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता ★   आईपीएल २०२४ मा बनेका १३ कीर्तिमानहरु ★   एकै याममा तीन पटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई काठमाडौँमा स्वागत ★   ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै 

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो



महोत्तरी । महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन् ।

अहिले पूर्वपश्चिम राजमार्गपर्ने जिल्लाको १८ किलोमिटर दूरीको दायाँबायाँ क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ । चैत दोस्रो साताअघिसम्म राजमार्गको दक्षिणतर्फ बढी देखिने डढेलो अहिले भने उत्तरतर्फको राष्ट्रिय वनक्षेत्रमा पनि फैलिएको स्थानीयले बताएका छन् ।

बर्दिबास नगरपालिका–१० खयरमाराका प्रेमध्वज लामाले सर्लाहीसँग जोडिएको बाँके नदीवारीको राष्ट्रिय वनक्षेत्रमा पछिल्ला तीन दिनयता बढेको डढेलोले नजिकका बस्तीसमेत जोखिममा बताउनुभयो । पछिल्ला तीन दिनयता सागरनाथ वन विकास परियोजनाको बर्दिवास–८ हात्तीलेट प्लट र राष्ट्रिय वनक्षेत्रको बाँके जङ्गलमा डढेलो बढेको उहाँले जानकारी दिनुभयो ।

“बस्ती नजिकैको वनमा डढेलो छ, जतिखेर पनि आगोको लप्काले भेटाउँछ कि भन्ने त्रास छ । त्यसैले केही दिनदेखि निदाउन पनि सकिएको छैन”, लामा भन्नुहुन्छ, “राजमार्ग उत्तर र दक्षिण दुवैतर्फ गरी वनसँग जोडिएका २० भन्दाबढी बस्तीका बासिन्दा अहिले त्रासमा छौँ ।”

वन डढेलो बस्तीमा पस्नेमात्रै होइन नीलगाई, दुम्सी र हरिणसहितका वन्यजन्तु बस्तीमा पसेपछि दोहोरो त्रास बढेको बदिवास–१ की गृहिणी दीपा काफ्लेको भनाइ छ । “वन क्षेत्र नजिकका बस्तीमा बाँदरको आतङ्क बढेपछि खेतबारीको अन्नपात, घर र आँगनका थाङ्रामा राखिएका मकै तथा अन्य खानेकुरा जोगाउनै हैरान छ । अन्य वन्यजन्तुले पनि त्यस्तै दु:ख दिएका छन्”, काफ्लेले गुनासो गर्नुभयो ।

गौशाला नगरपालिका–८ बेलगाछीका सामाजिक अभियन्ता मीन रहपालले डढेलोले बर्सेनी बहुमूल्य काठमा नोक्सानी हुनुका साथै बस्तीमा समेत क्षति पुर्‍याउँदै आएकाले डढेलो नियन्त्रणका लागि ठोस् योजना निर्माण र जानीजानी डढेलो लगाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्नुहुन्छ ।

डिभिजन वन कार्यालय महोत्तरीका वन अधिकृत सन्तोष झाले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण र त्यसको जोखम बस्तीमा पर्न नदिन प्रयत्न गरिरहेका बताउनुभयो ।