• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला

त्रिपालको ओतमुनि तातोपानी कुण्ड: बिरामीलाई सास्ती



गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौंदेखि त्रिपालको ओतमुनि रहेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरु तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन् ।

अघिपछि कुनै समस्या नहुने भए पनि ठूलो पानी पर्दा र चर्को घाम लाग्दा भने समस्या उत्पन्न हुने र बिरामीले सास्ती व्यहोर्नुपर्ने कुण्डमा डुब्न आउनुभएको चिमखोलाका शेरबहादुर पुनले बताउनुभयो । दर्मिजा गाउँको पुछारमा रघुगङ्गा नदीको किनारमा रहेको यस कुण्डको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ । प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ । यसअगाडि सानो पोखरी रहेकोमा तीन वर्षअघि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पुनले  जानकारी दिनुभयो ।

रघुगङ्गा नदीको किनारमा अलगअलग ठाउँमा चार वटा पोखरी बनाइएको छ । कुण्डमा जाने ठाउँको दक्षिणतर्फ जल बराहको मन्दिर छ । मुख्य कुण्डको माथि त्रिपाल हालेर घाम पानी छेक्ने बनाइएको अध्यक्ष पुनले जानकारी दिनुभयो । मन्दिरको दाँहिनेतर्फ रहेको तातोपानीको पोखरीमा त्रिपालको छाना हालिएको छ । सो पोखरीमा एकपटकमा २५ जनासम्मले डुबेर उपचार सेवा लिँदै आएका छन् । मन्दिरको देब्रेतर्फ सानाठूला गरी तीन वटा पोखरी छन् । एउटा पोखरीमा २० जना, अर्कोमा १० जना र तेस्रो पोखरीमा पनि १० जनाले एकसाथ बसेर डुब्न सक्नेगरी पक्की पर्खालसहित निर्माण गरिएको छ ।

यी पोखरी निर्माण गर्न जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले रु ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिमका बेलामा पनि स्थानीय मजदुर परिचालन गरी पोखरी निर्माण गरिएको दर्मिजा तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान यहाँ रहेको छ । सो मुहानको पानी सङ्कलन गरे छालासम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्या निको हुने विश्वास छ ।

यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकलाई बस्न मिल्ने स्थानको निर्माण पनि यस अगाडि भइसकेको स्थानीय ललिता गर्बुजाले बताउनुभयो । यस पोखरीको नजिक एउटा आकर्षक झरनासमेत रहेको छ । यस स्थानलाई सुरक्षित राख्नका लागि अहिले तटबन्धको कार्यसमेत भइरहेको समितिले जनाएको छ ।

यहाँ डुबेर उपचार सेवा लिनका लागि रघुगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् । त्यसैगरी कुण्डको नजिकै रघुगङ्गा खोलाको पारिपट्टि रहेको झरनामा रमाउन र कुण्डमा डुबुल्की लगाउन टाढाटाढाबाटसमेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका स्थानीय तिलक गर्बुजाले बताउनुभयो । रासस