• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन ★   सूचना प्रविधिको ‘हब’का रुपमा विकास गरिने ★   वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छुः अर्थमन्त्री पुन ★   जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन ★   ऊर्जामा ठूला आयोजना सुरु हुने, कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने ★   श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ विनियोजन ★   भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने ★   स्टार्टअप उद्यमीलाई सहजिकरणको लागि सहजिकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गर्ने घोषणा ★   पहिरो खसेपछि बस्ती तितर बितर ★   आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली



गलेश्वर । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ । पानीका मुहान सुकेका छन् । गाउँमा खानेपानीको समस्या उत्पन्न हुनुका साथै वायु प्रदूषणका कारण बिरामी बढेको स्थानीयले बताएका छन् ।

हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको मालिका गाउँपालिका–२ का किसान टेकबहादुर विकले बताउनुभयो । “हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको छ”, विकले भन्नुभयो ।

“वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायतका हिउँदेबाली पनि राम्रोसँग उत्पादन भएन । अहिले खडेरी परेको छ, बारीमा मकै छर्न पाएका छैनौँ । यस्तै भयो भने त भोकमरीले मरिने भयो”, मङ्गला गाउँपालिका– ५ का किसान टीका पौडेलले गुनासो गर्नुभयो । लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले आलसतालस बनाइरहेको छ । किसान बारीमा मकै छर्न नपाएर छट्पटाइरहेको राष्ट्रिय जनमोर्चा म्याग्दीका पूर्वअध्यक्षसमेत रहनुभएका मालिका गाउँपालिका–६ का कृषक छवि विश्वकर्माले बताउनुभयो ।

“विपत्ति सुरु भएको छ । पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन । खेतमा छरेका मकै खेतमा नै सुकेको छ । बारीमा मकै छर्न नपाएर किसान चिन्तित छन् । तरकारी र फलफूलका बिरुवा मर्न थाले । वनजङ्गल डढेलोले ध्वस्त भएका छन् । खानेपानीका मुहान सुकिराखेका छन् । स्थिति हामीले सोचेभन्दा जटिल हुँदै गएको छ”, उहाँले भन्नुभयो । हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नाङ्गिन थालेका छन् । यस वर्ष कम हिमपात हुँदा हिमालमा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा परेको स्थानीयवासीको भनाइ छ ।

पर्याप्तमात्रामा हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रङ उडेझैँ फिक्का देखिन थालेका छन् । हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै गएर हिमाल काला पहाडजस्ता देखिन थालेको र जङ्गली फूलमा समेत त्यसको प्रभाव देखिएको किसानले बताएका छन् ।

आकाश खुल्न सकेको छैन । जताततै डढेलो लागेपछि तुवाँलोले वातावरण विषाक्त बनेको छ । घाम नलागे पनि गर्मी बढेको छ ।

जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ । “मौसम परिवर्तन हुँदै गएको छ, खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष बिताउने भन्ने चिन्तामा छन्”, स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।

मकैबाली लगाउने याम घर्किसकेको छ । वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् । व्यावसायिक तरकारीखेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन् । लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । उहाँका अनुसार गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा राम्रोसँग वर्षा भएको छैन ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्‍याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले बताउनुभयो ।

म्याग्दीमा आकाशे वर्षाका भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ । तेलहन बालीमा मात्र २५ प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आएको कृषि प्राविधिकहरु बताउँछन् । त्यसैगरी लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन् ।

बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको किसानले गुनासो गरेका छन् ।रासस