• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद

पश्मिना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई आज ललितपुरमा प्रमाणपत्र वितरण गर्दै उहाँले पश्मिना उद्योगका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । नेपालबाट निर्यात हुने महत्वपूर्ण उत्पादनमध्ये च्याङ्ग्राको भुवा बाट बन्ने पश्मिना पनि रहेकाले यस क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण र अन्य क्षमता विकासका कार्यमा सहयोग गर्न सरकार तयार रहेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो ।

उहाँले फाइबर प्रशोधन केन्द्रको निरीक्षण गरी पश्मिना फाइबर प्रशोधनको प्रक्रियाबारे जानकारी लिनुभएको थियो । पश्मिना व्यवसायी र च्याङ्ग्रा किसानको संयुक्त लगानीमा ललितपुरको हरिसिद्धिमा निर्माण भएको पश्मिना प्रशोधन केन्द्रले किसानबाट च्याङ्ग्राका भुवा सङ्कलन र प्रशोधन गरी पश्मिना उद्योगलाई आपूर्ति गर्दै आएको छ ।

पश्मिना फाइबर प्रशोधन सम्बन्धी सीप सिकाउने उद्देश्यले ललितपुर तथा काठमाडौँका स्थानीय महिलालाई उत्पादन तालिम दिएको हो । सत्र दिनसम्म सञ्चालन भएको तालिममा २० जना सहभागी थिए ।

उक्त अवसरमा नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष विजय दुगडले पश्मिना फाइबर प्रशोधन केन्द्रको स्थापनाबाट पश्मिना व्यवसायीले लाभ उठाइरहेको जनाउँदै सरकारले पश्मिना उत्पादन वृद्धि गर्न पूर्वाधार निर्माण र निर्यात अभिवृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो । सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले पश्मिना क्षेत्रमा देखिएका समस्याबारे चर्चा गर्नुभएको थियो । रासस