२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’



अ+ अ-

अन्नपूर्ण । गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आउनुभएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उहाँले सुनाउनुभयो । अब त्यो समस्याबाट उहाँ मुक्त हुनुभएको छ ।

“पहिलादेखि नै हामीलाई सेतो छडी लिएर हिँड्ने बानी पर्यो । त्यसरी हिँड्दा बाटो देखाइदिन आग्रह गर्दा नबोल्ने, बाटो ‘क्रस’ गराइदिन आग्रह गर्दा वास्ता नगर्ने, कहिलेकाहीँ त ‘ह्यारेसमेन्ट’ पनि झेल्नुपरेको थियो”, उहाँले भन्नुभयो, “प्रविधि हाम्रा लागि पनि बनेको छ । हामीले चलाउन जान्ने हो भने समस्या आफैँ समाधान हुन्छ । प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा सिकेको सीपले हामीलाई सहज भएको छ ।”

रीताजस्तै अरु दृष्टिविहीन पनि अबका दिनमा अरुको सहाराबिना हिँडडुल गर्नेमा विश्वस्त हुनुहुन्छ । उहाँहरूका लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की नेत्रहीन सङ्घले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम दिएको छ ।

तालिममा भाग लिनुभएकी दृष्टिविहीन रोजिना घिमिरेले पनि तालिम निकै फलदायी भएको बताउनुभयो । “हामीलाई आवश्यकताले सञ्जाल चिनाएको छ । सञ्जालले सञ्चार चिनाएको छ र सञ्चारले संसार चिनाएको छ”, रोजिनाले भन्नुभयो, “प्रविधिले अपाङ्गता व्यक्तिलाई सहज बनाएको छ हामीलाई भने असम्भवलाई सम्भव बनाएको छ । दृष्टिविहीनलाई यसले दुष्टियुक्त बनाउन मद्दत गरेको छ ।”

‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ, बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा सहज भएको रोजिनाले बताउनुभयो । मोबाइल भएपछि सहयोगी आवश्यक नपर्ने उहाँले बताउनुभयो ।

तालिमका प्रशिक्षक तथा राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकीका अध्यक्ष खोमराज शर्माले तालिममा दृष्टिविहीनलाई ‘गुगल म्याप’सँगै ‘ई–सेवा, इन्ड्राइभ, पठाओ’जस्ता ‘एप्लिकेसन’ चलाउन पनि सिकाइएको जानकारी दिनुभयो । यसले उनीहरूको दैनिकीमा सहयोग पुग्ने उहाँले सुनाउनुभयो ।

प्रविधिको अधिकतम प्रयोग गर्नसके दृष्टिविहीनतालाई अवसरका रूपमा लिन सकिने उहाँले बताउनुभयो । “प्रविधिमा साँच्चै हाम्रो पहुँच हुने हो भने हामीले हीनतावोध गर्नुपर्दैन । हामीले गर्न नसक्ने भन्ने विषय सबै विगत बनिदिन्छ”, प्रशिक्षक शर्माले भन्नुभयो, “तर चुनौती भनेको यसको समाधान न हाम्रो सरकारलाई थाहा छ न ‘एप्लिकेसन डेभलपर’लाई थाहा छ । यो चुनौती चिर्न स्थानीय, प्रदेश र सङ्घ सरकारले लगानी गर्न जरुरी छ ।”

राष्ट्रिय अपाङ्ग महासङ्घको केन्द्रीय सदस्य पुष्पराज रिमालले प्रविधिले आफूहरूलाई सक्षम बनाएको बताउनुभयो । “सामान्य रूपमा हेर्दा मोबाइल केही होइन तर सबैथोक हो”, उहाँले भन्नुभयो, “प्रविधिले हामीलाई सक्षम बनाएको छ । त्यसलाई हामीले चिन्नुपर्छ ।” सरकारले हरेक क्षेत्रमा हरेक नागरिकका लागि उपयुक्त प्रविधिमा लगानी गर्नुपर्ने उहाँको धारणा छ ।

कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सङ्घले दृष्टिविहीनका लागि विभिन्न कार्यक्रम र तालिम गरिहेको बताउनुभयो । “हामीले नेपालमै पहिलोपटक सेतो छडी प्रयोग गरेर कसले राम्रोसँग हिँड्नसक्छ भनेर गमनशीलता प्रतियोगिता गर्यौ ँ। त्यसपछि सेतो छडी लिएर हिँड्न गमनशीलता तालिम पनि दियौँ”, अध्यक्ष सापकोटाले भन्नुभयो, “अब नयाँ ढङ्गले जाऊ भनेर अहिले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम आयोजना गरेका हौँ ।”

उहाँले अहिले पनि संविधानको मर्मअनुसार सबै ठाउँमा समावेशिता नभेटिएको बताउनुभयो । ‘बी माई एआई’ प्रयोग गरेर दृष्टिविहीनले सबै विषय थाहा पाउने प्रविधिको विकास भइसक्दा पनि त्यसमा कसैको ध्यान नगएको अध्यक्ष सापकोटाको गुनासो थियो । यसका लागि राज्यले तालिम, साधन अनि पहुँचताको सुनिश्चितता गर्नुपर्ने उहाँले बताउनुभयो । दृष्टिविहीनको हकअधिकारका लागि संस्थाले आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जाने उहाँले जानकारी दिनुभयो ।

कास्कीमा एक हजार पाँच सयको हाराहारीमा दृष्टिविहीन रहेको कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिनुभयो । “कास्कीमा अध्ययन, रोजगारीका लागि अन्य जिल्लाबाट पनि आउनुभएका दृष्टिविहीन साथीहरू हुनुहुन्छ । केही ग्रामीण क्षेत्रमा पनि हुनुहुन्छ”, उहाँले भन्नुभयो, “सबै गरेर एक हजार पाँच सय जति छौँ । त्यसमा हाम्रो सङ्घमा एक सय ५० जना आबद्ध छौँ ।” प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा २४ जना सहभागी भएका थिए । रासस




भर्खरै