१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गन्तव्य गोसाइँकुण्ड, पृथ्वीको एउटा स्वर्ग (भिडियो सहित)



अ+ अ-

यात्रा शुरु गर्दा हुने एक किसिमको अत्यारले हामीलाई सबेरै बिउँझायो । यतिखेर काठमाडौं खाल्डो भने तातो सिरकभित्रै गुम्सिरहेकै छ । कवि भूपी शेरचनबाट चिसो एस्ट्रेको उपमा पाएको काठमाडौंको चिसोलाई चुनौती दिएरै हामी घरबाट निस्कियौँ । त्यसो त हरेक यात्रा नयाँ चुनौती नै हो । त्यसलाई आफैले अवसरमा बदल्न सक्नुपर्छ ।   
कचौरा आकारको यो काठमाडौँभित्र अहिले चिसो मात्र छैन, सास नै प्रदुषित बनेको छ । धुलो धुवाँमा घोलिएको काठमाडौँको यही हावा हो हाम्रो अक्सिजन । त्यसैले त हाम्रो सास पनि प्रदुषित छ । प्राणवायु नै प्रदुषित लिएर बसिरहेका छौँ हामी ।   


विहान ६ बजे बालाजु माछापोखरी पुग्दा हाम्रो यात्राको साधन टाटा सुमो गुड्न तम्तयार थियो । अनि यात्राका लागि तयार थियौँ हामी नौ जवान । सायद यो उकुसमुकुसले सताइएका हामी गोसाइँकुण्डको स्वच्छ सासको कल्पनामा डुबिसकेका थियौँ, यसैले यात्राका लागि भेला भइसकेका थियौं । यतिञ्जेल हाम्रो एउटा खुट्टा उतै पुगिसकेको थियो । 
काठमाडौँलाई बाइबाइ गर्दै टाटा सुमो गुड्यो । धादिङको गल्छी हुँदै हामी त्रिशुली पुग्यौँ । त्रिशुलीमै खायौँ विहानको खाजा । त्यहाँको मौसम भने झनै चिसो थियो । तर यसो बाहिर हेर्दा वातावरण खुल्लै थियो, यहाँको जस्तो उकुुसमुकस लाग्ने कुरा भएन ।  
त्रिशुलीपछि कच्चि साँघुरो बाटो कालिकास्थान हुँदै लाङलाङ निकुञ्ज प्रवेश गर्यौँ । गाडिभित्र उफ्रिँदै र पाफ्रिँदै धुन्चे पुग्यौँ । धुन्चे समुद्र सतहदेखि १९५० मी उच्चस्थानमा अवस्थित छ । 
हतारमा यात्रा गर्दा छुटेका सावन मञ्जन लगायतका सामान र भरिपरिआउँदा चाहिने ओखतीजन्यवस्तुले झोला भरियो । त्यसपछि पैदल यात्रको साहारा भनेर बीस रुपैयाँ तिरेर लौरो पनि  किनियो । त्यसपछि शुरु भयो हाम्रो पैदल यात्रा । 


धुन्चेको धुलौटे बाटोबाट शुरु भएको हाम्रो पैदल यात्रा चन्दनबारी पुग्दा झमक्क साँझ परिसकेको थियो । त्यहाँ दुग्ध विकास संस्थान प्रशोधन केन्द्रसँगै अवस्थित होटेल रेड पाण्डा हाम्रो बास बस्ने तय भयो र लाङटाङ निकुञ्ज सुरक्षामा खटिने सुरक्षाकर्मीहरुसँग बाक्लो कुराकानी तथा यात्रा गर्ने स्थान निकुन्ज क्षेत्र पर्ने हुनाले गर्न हुने नहुने विषय बस्तुबारे बाक्लो कुराकानी गरी बेलुकाको खाना खाइवरी सुतियो ।
भोलिपल्ट विहानै हल्का चिसो स्याँठ चलिरहेको थियो । तात्तातो ‘बेड टी’ को अपेक्षा त थियो नै तर यतिखेर भने हामी पैदल यात्रा हौँ । अब यात्रा तय गर्नुछ ।  चियाले ज्यानलाई तताउने चेस्टा गरयो । साथमा लगेको सातु पनि मिसाइयो । गज्जबको अर्गानिक नास्ता । त्यसो त हामी अर्गानिक क्षेत्रमा प्रवेश गरिसकेका थियौँ, यो पाउरोटी होइन मकै चल्ने ठाउँ हो, किनभने यो बनावटी काठमाडौँ होइन । 


त्यसपछि एक घण्टाजति हिँडेर चोलनपट्टि पुगियो । यहाँपुग्न पुग्न भने खासै कठिन थिएन । त्यहाँबाट थप २÷३ घण्टाको ठाडो उकालोपछि लौरी बिना पुगियो । यो बाटो र जहाँ लेक लाग्ने सम्भावन पनि हुने रहेछ । यहाँबाट देखिने माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमश्रृंखला, गणेश हिमाल र मनास्लु लाङटाङ हिमालको त के कुरा गरौँ र ? यो दृश्यको बयान गर्ने सायद मसँग शब्दहरु नै छैनन् । अनि पारी तिब्बतर चिनको केरुङ बजार र तिब्बती हिमालहरुसमेत देखिने रहेछ । त्यता फर्किँदा भन्दा पनि यता नेपाली हिमशृंखलाहरुले तानेको आँखाहरु टक्क अडिने । त्यो दृश्य छोडेर सायदै कोही मानिसका आँखा त्यहाँबाट बाहिर निस्किन मान्लान । मेरा आँखा पनि त्यसै भन्दै थिए । 


त्यसपछि विस्तारै देखिँदै गयो मनछुने बाघकुण्ड, भैरब कुण्ड र त्यसपछि  गोसाइँकुण्ड । यी हाम्रो यात्राका यस पटकका अन्तिम गन्तव्य नै थिए ।  । गोसाइँकुण्डलाई वरिपरि हिउँ निख्रिएका काला पहाडले घेरेको थियो । लाग्छ अहिले विश्वमा जलवायु परिवर्तनको कोलाहल साँचो पनि हो । किनभने नजिकै पुगेर यसो हेर्दा पनि बीच भागमा थोरै पानी देखिए पनि बाँकी सबै बरफ भइ बसेको छ, हिउँ निथ्रिएर पत्थरहरु कालो बन्दै गएका छन् । यही हिसाबले पग्निले हो भने हाम्रो पुस्ताले यो दुर्लभ दृश्य देख्न पाउला नपाउला । भगवान शिवले विषको पीडा शान्त परेको त्यही गोसाइकुण्डमा आज हामीले पनि आफ्नो यात्राको थकानलाई शान्त पार्ने प्रयत्न गरिरहेका छौँ । 


उत्साहले भरिएर त्यहाँ नाच्ने र खेल्ने पनि गर्यौँ । किनभने मानिसले आफ्नो हर्ष र रमाइलोको अदुभुत अनुभूति शब्दले मात्र व्यक्त गर्न सक्दो रहेनछ । त्यो रमणीयतालाई शरीरका सबै अवयवले व्यक्त गर्ने क्रममा नाच्न, हास्न, गाउन, र रमाउन आइ नै हाल्दछ । त्यसपछि सोहि दिन नजिकैको होटलमा खाना खाइवरी चन्दनबारीमा बास बस्यौँ र भोलिपल्ट १० बजे धुन्चे पुग्यो । त्यसपछि सोही दिन साँझ ५ त्यही काठमाडौँ खाल्डोमा फिर्ता भइयो । र आज पनि मनबाट त्यो रमाइलो गएको छैन, बयानको क्रम जारी नै छ । यसपालि यहाँ पनि यति नै व्यक्त गर्ने समय मिल्यो ।