• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार

टीकापुर उद्यानमा एकै दिन रू तीन लाख सङ्कलन



टीकापुर । कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यान (टीकापुर पार्क)मा नयाँ वर्ष लागेपछि पर्यटकको आगमन बढेको छ । उद्यानमा नयाँ वर्षको पहिलो दिन शनिबार १२ हजार बढी पर्यटक भित्रिएका छन् । पार्कमा शनिबार एकैदिन टिकट शुल्कबाट रू तीन लाख राजस्व सङ्कलन भएको जनाइएको छ ।

उद्यानमा आउनेहरू अधिकांश पार्कमै वनभोज खाने, पार्कसँगै जोडिएको कर्णाली नदीमा र्‍याफ्टिङ, जेट स्की, वाटरबोटमा आनन्द लिने गरेका उद्यानका इञ्चार्ज अर्जुन कुँवरले बताउनुभयो । यस वर्षको पहिलो दिन हिजो नदीमा रमाउनेहरू पालो कुरेर बसेका थिए । वनभोजस्थलमा सयौँ समूहले खाना पकाएर खाने, नाचगान गर्नेलगायत मनोरञ्जनात्मक क्रियाकलाप गरेका उहाँले जानकारी दिनुभयो ।

कुनै बेला गुलाबको बगैँचाका नामले चिनिने टीकापुर पार्कमा यतिखेर रत्न उद्यान, ऐश्वर्य उद्यानलगायतका बगैँचामा थरिथरिका गुलाब फुलेका छन् । पार्कमा आउनेहरू महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका, रत्न उद्यान, ऐश्वर्य उद्यानमा फोटो खिच्ने तथा घण्टौँसम्म यहाँ रमाउने गरेका स्थानीय टङ्क थापाले बताउनुभयो । सुन्दर, शान्त र हराभरा रहेको उक्त पार्क पुग्ने सबैले आनन्द र रमाइलो महसुस गर्ने भएकाले पर्यटकको सङ्ख्या पनि बढ्न थालेको उहाँको भनाइ छ ।

सुर्खेतबाट ४० जनाको समूह लिएर पार्क घुम्न आउनुभएका हरि कार्कीको पार्कसहित पार्कको किनारमा रहेको कर्णाली नदीमा रमाइलो गरेका छन् । “पार्क सुन्दर छ भन्ने सुनेर नयाँ वर्षको दिन नयाँ ठाउँ घुमौँ भनी आएका हौँ”, उहाँले भन्नुभयो, “अलौकिक आनन्द मिल्छ भन्थे, साँच्चै रहेछ । टीकापुर एकपटक पुग्ने पर्ने ठाउँ रहेछ ।”

पार्कमा आएकाहरू यहाँ सबै संरचना सुन्दर भए पनि बालबालिकाका लागि खेल्ने संरचना बनाउन सुझाव दिन्छन् । महेन्द्रनगरबाट आउनुभएकी शोभा काफ्लेले बालबालिकाका लागि खेल्ने छुट्टै स्थान, पिङ, विभिन्न सामग्रीलगायत व्उवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

पार्कमा पहिलो दिन नै पर्यटकको घुइँचो हुनुका साथै वरपर रहेका होटल तथा पसलमा व्यापारसमेत बढेको थियो । टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा रहेको उद्यानमा नयाँ वर्षको केही दिनसम्म पर्यटकको घुइँचो लाग्ने गर्दछ ।