४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

पर्यटकको रोजाइमा पिण्डेश्वर मन्दिर

पर्यटकको रोजाइमा पिण्डेश्वर मन्दिर
अ+ अ-

धरान । धरान उपमहानगरपालिका–८ बाट आउनुभएका विनय प्रधान र निर्मला खड्का प्रधानको दम्पतीलाई गत सोमबार बिहानै पिण्डेश्वर मन्दिरमा दर्शन गर्दै गर्दा भेटिनुभयो । उहाँहरुको १९ वर्षको वैवाहिक वर्षगाठ भएकाले पिण्डेश्वर मन्दिरमा पूजा गर्न आउनु भएको थियो ।

उहाँहरुले एकैस्वरमा भन्नुभयो, “१८ वर्ष पहिले यही मन्दिरमा हाम्रो विवाह भएकाले आज पूजा गर्नका लागि पनि यहीँ आएका हौँ र आज वैवाहिक वर्षगाठका अवसरमा पनि भगवान्को आशीर्वाद लिन आएका छौँ ।” अरु समयमा बूढासुब्बा, दन्तकालीलगायतका मन्दिरमा दर्शन गर्न जाने यो दम्पती वैवाहिक वर्षगाठका अवसरमा भने हरेक वर्ष पिण्डेश्वर बाबाधाममै आउने गर्दछ ।

धरान उपमहानगरपालिका–८ की जयन्तीकुमारी सिंह पनि १८ महिनाको छोरी काखमा लिएर परिवारसहित पिण्डेश्वर मन्दिरको दर्शन गर्न मन्दिर आइपुग्नुभएको थियो । उहाँलाई पनि पिण्डेश्वरप्रति अगाध आस्था छ । सिंहले भन्नुभयो, “पिण्डेश्वर बाबाधामसँग मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वासले गर्दा प्राय: हरेक सोमबार र शनिबार पूजा गर्न आउँछौँ ।”

धरानको विजयपुरस्थित पिण्डेश्वर मन्दिर धार्मिक पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालका विभिन्न जिल्ला मात्र होइन, भारतका सिक्किम, दार्जिलिङ, काठमाडाँै, भक्तपुरलगायतका ठाउँबाट समेत ठूलो सङ्ख्यामा पिण्डेश्वर दर्शन गर्न आउने तीर्थालुको सङ्ख््या बढ्दै गएको छ । पिण्डेश्वर मन्दिर सबैका साझा देउता भएकाले सबै जाति, धर्मावलम्बीका मानिस पूजा गर्न आउने गर्दछन् ।

भक्तपुरबाट दर्शनका लागि पिण्डेश्वर मन्दिर आउनुभएकी सुनिता श्रेष्ठ आफू धेरैपटक पिण्डेश्वर मन्दिर आइसकेको बताउनुहुन्छ । एक महिना अगाडि मात्र लागेको बाह्रवर्षे महाकुम्भ मेलामा पनि आफू आएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्राय: हामी सपरिवार नै वर्षैपिच्छे पुजा गर्न पिण्डेश्वर बुढासुब्बा आउने गरेका छौँ । यहाँ पूजा गरेपछि हामीले सोचेका कुराहरु पनि पूरा भएकै छन् ।”

विगत २० वर्षदेखि मन्दिरको द्वार बाहिर माला तथा फूलको पसल सञ्चालन गर्दै आउनुभएकी इन्दिरा खड्का प्रत्येक शनिबार र सोमबार पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउनेहरुको संख्या धेरै हुने गरेको बताउनुहुन्छ । उहाँले रुद्राक्ष भोजपुरको दिङलाबाट समेत खरिद गरेर आफैले डालीहरु बनाएर बिक्री गर्दै आउनु भएको छ । पिण्डेश्वर मन्दिर क्षेत्रमा २० देखि ३० को हाराहारीमा फूल मालाका पसल गर्ने व्यवसायी छन् भने आधा दर्जन जति होटल सञ्चालनमा छन् ।

पिण्डेश्वर बाबाधाम समितिका इकाइ समिति तथा होटल व्यवसायी रन्जिता कट्वालका अनुसार पिण्डेश्वर मन्दिरमा दर्शन गर्न दैनिक सरदर हजारदेखि १५ सयको संख्यामा भक्तजन आउने गर्दछन् । कतिपय भक्तजन पितृहरुको स्मरणमा श्राद्धका लागि आउने गर्छन् । यहाँ बिहानदेखि बेलुकासम्म नै पूजा हुने गरेकाले बिहानदेखि बेलुकासम्म नै मान्छेहरुको चहलपहल हुने गर्दछ ।

धरान उपमहानगरपालिका–१३ स्थित विजयपुरमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पिण्डेश्वर मन्दिरको पूर्ण नाम ‘अमृतपिण्ड पिण्डेश्वर महादेव’ भनेर चिनिन्छ । पौराणिक कथाअनुसार देवता र दानव मिली समुन्द्र मन्थन गर्दा निस्किएको विष र अमृतमध्ये अमृतलाई छानी फलेको छोक्रा पिण्ड बनाई फालेको स्थानका रुपमा लिइएको छ ।

अमृतपिण्ड पिण्डेश्वरका रुपमा भगवान शङ्कर, अमृतपिण्ड शिवलिङ्गको पूजा गर्ने गरिन्छ । समुद्र मन्थन गर्दा निक्लिएको कालकुट विष उत्पन्न भएको र उक्त विषलाई शिवले आफ्नो कण्ठमा राखी अन्त्यमा रत्नकारूपमा उत्पन्न अमृतलाई भगवान विष्णुले देवताहरूलाई मात्र पिउन दिएको थियो भन्ने भनाइ छ । प्रचलित जनविश्वासअनुसार तिनै छोक्राको पिण्डबाट पिण्डेश्वर महादेवको उत्पत्ति भएको भन्ने मान्यता रहेको छ ।

पिण्डेश्वर विजयपुरको दक्षिणमा पर्छ, जहाँबाट सुन्दर धरान बजार, चारकोशे जङ्गल र इटहरी बजारसमेत मज्जाले अवलोकन गर्न सकिन्छ । मन्दिर अगाडि पश्चिमतर्फ ऐतिहासिक रुप बोकेको पोखरीसँगै इनार पनि छ । पोखरीको बीचमा धातुबाट बनेको भगवान् सरस्वतीको ठूलो प्रतिमा पनि स्थापित छ ।

पिण्डेश्वर मन्दिरको वरपर बाक्लो जङ्गल छ भने छेउछेउमा चौतारासँगै वरपीपलको रुखहरु पनि रहेका छन् । वनले घेरिएको एकान्त विजयपुर डाँडाको पुच्छरमा अवस्थित छ । बाहिरबाट झट्ट हेर्दा मन्दिरको स्वरूप चिटिक्क सानो देखिन्छ तर भित्र प्रवेश गरेर हेर्दा ठूलो फराकिलो फिँजारिएको सफा मन्दिर रहेको छ । त्यसभित्र सानाठूला गरी १० वटाभन्दा बढी मन्दिर छन् । पिण्डेश्वर शिवलिङ्गको ठिक अगाडि ढुङ्गाबाट निर्मित ठूलो बसाहा रहेको छ । मुख्य द्वारदेखि पूजा गर्दै जाँदा पिण्डेश्वर शिवलिङ्ग स्थलमा पुग्न सकिन्छ ।

विशेषगरी चाडपर्वमा मन्दिर ठूलो भीड हुने गर्छ पिण्डेश्वर मन्दिरमा भक्तजनहरु साउन महिनाको पहिलो सोमबारपछि, अष्टमी, कात्तिकपूर्णिमा, माघेसङ्क्रान्ति, महाशिवरात्रि तीजलगायतका पर्वमा महिलाको ठूलो सङ्ख्यामा उपस्थित हुने गर्छ । साउन महिनामा यस ठाउँमा लाग्ने ठूलो बोलबम मेलामा देश विदेशका भत्तजन पहेंलो गेरु वस्त्र धारण गरी आउने गर्दछन् । खाली खुट्टा हिँड्दै ‘बोलबम’ भन्दै चतरा पुगेर त्यहाँबाट सप्तकोशी नदीबाट जल लिएर पिण्डेश्वर मन्दिरमा चढाउने गर्छन् ।

यहाँ शिवलाई जल चढाँउदा पाप पखालिने मनोकामना सिद्ध हुन्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । प्रत्येक छ/छ वर्षमा चतरा धाममा पिण्डेश्वर अर्धकुम्भ मेला र १२/१२ वर्षमा करिब एक महिना लाग्ने पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको समयमा यहाँ पूजापाठ अनि जल चढाउनेको सङ्ख्या धेरै हुने गरेको पिण्डेश्वर बाबाधामका पुजारीहरुको भनाइ छ ।

यस ठाउँमा बर्सेनि देश विदेशबाट आउने भक्तजन बढिरहेकाले भक्तजनलाई बासस्थानको व्यवस्था अलिक गर्नुपर्ने अवस्था रहेकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ । पिण्डेश्वर मन्दिरमा दर्शनार्थी बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहयोग गरे सहज हुने पिण्डेश्वर समितिका इकाइ सदस्य रन्जिता कट्वाल बताउनुहुन्छ । रासस