२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने: राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।

नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताउनुभयो ।

“नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ, “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।”

राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गर्नुभएको छ । विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु ।”

यस्तै राष्ट्रपति पौडेलले देशमा सम्पन्नता र सभ्यताको निर्माणको शुभकामना दिनुभएको छ । “द्वन्द मच्चाउने र बाहुबलीयतातिर धकेल्ने होइन, निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाइलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलता मिलोस् । यसका लागि नव वर्ष २०८१ ले हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ–सफा पृथ्वी बनाउन आह्वान गर्नुभएको छ । “नयाँ वर्षमा भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने पनि म कामना गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ । रासस