• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गर्नुभएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण सबैलाई जोड्ने अभियान सकारात्मक रहेको भन्दै यस अभियानमार्फत विश्वका नेपालीभाषीलाई जोड्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री दाहालले भाषा र संस्कृतिका माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने एएनओको अभियान सकारात्मक रहेको उल्लेख गर्दै सो अभियानका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिनुभयो ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ मा थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो । प्रधानमन्त्री दाहालले कला र संस्कृतिमार्फत नेपालीभाषीलाई जोड्ने अभियान सञ्चालन गरेकामा धन्यवाद दिँदै नयाँ अभियानका लागि शुभेच्छा प्रकट गर्नुभयो ।

एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले हालसम्म सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा साथ र समर्थन रहने अपेक्षा गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको दूतकारुपमा संसारभर पुर्‍याउनेछौँ । साथै अभियानले भावी पुस्तालाई समेत नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना र प्रचारप्रसार गर्न सहयोग पुग्ने र देशको विकासमा थप टेवा पुग्नेछ ।”

साथै यस संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्तालाई नेपालमै आई लगानी गर्ने वातावरणलाई प्रोत्साहित गर्न र लगानीको उचित प्रतिफल आफ्नै पुर्खाको पहिचान जोडिएको देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाई सामाजिक काम गर्न अभिप्रेरित पनि गर्नेछ ।

भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चुडामणि भट्टराईसहितका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

विश्वका २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको बैंकक भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका नेपाली मूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरिएको थियो । रासस