१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुन पाउन पनि नागरिकता



अ+ अ-

सिमकोट । हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो ।

उनीहरुलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार एक जनाबाट रु ९० लिने गरिएको छ । “यसरी प्रतिकिलो रु नौ पर्दछ । एक बोरामा पचास प्याकेट नुन हुन्छ । त्यसको मूल्य रु चार सय ५० मा बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेस गरेपछि नुन वितरण गरिन्छ । सदरमुकाम सिमकोटमा तीन पालिकासहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको उहाँको भनाइ छ ।

लामाका अनुसार आर्थिक वर्ष २०८०र८१ का लागि जिल्लामा एक हजार पाँच सय क्विन्टल नुन आइपुगेको छ । जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर वितरण गरिने उहाँले बताउनुभयो । झण्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई नुन वितरण गरिएको भन्दै चङ्खेली गाउँपालिकामा तीन सय ८७, सर्केगाडमा चार सय ८५, अदानचुलीमा चार सय ८५ र ताँजकोटमा चार सय क्विन्टल नुन वितरण जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताउनुभयो । चङ्खेली–५ को नेप्का र उत्तरी नाम्खा–६ को लिमिमा मात्रै ढिके नुनको प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहमा रहेका वडामा ढिके नुनको प्रयोगमा कमी हुँदै गएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जनाएको छ ।रासस