१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलाशमा वकिलका गीत र सायरी !



अ+ अ-

काठमाडौँ । मुलुकको राजनीतिको गाँठो फुकाउन यतिखेर सर्वाेच्च अदालतमा बहस जारी छ । गएको पुस ५ मा नेकपाको स्पष्ट बहुमत रहेको प्रतिनिधि सभालाई नेकपाकै संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी ओलीले अकस्मात विघटन गरिदिएपछि परेको राष्ट्रिय राजनीतिको गाँठो सर्वाेच्चसम्म पुगेको हो । त्यसैले यहाँ संसदको विघटन ठीक र बेठीक भन्ने तर्कहरुलाई न्यायको तराजूमा राखेर तौलिने काम जारी छ । 

त्यसो त अदालतको इजलाश तर्क, वितर्क र कुतर्क गर्ने ठाउँ नै हो । यसो भनिरहँदा अदालतको मान हानी किन नहोस् भने कुनै एक पक्षका वकिलका लागि तर्क रहेका धारणा अर्काका लागि यहाँ कुतर्क ठहरन्छिन्, यसरी आफ्ना पक्षका तर्कहरुलाई तराजुमा तौलिएर जित्ने र जित्न खोज्ने काम अदालतको इजलाशमै हुन्छ । 

तर यतिखेर भने यो तर्कैतर्कको गर्मागर्मी बहसमात्र नभएर केही रमाइलो वातावरण पनि छ । प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ, वकिलहरूले बहस गरिरहेका छन् । आफ्ना मतहरु राख्ने क्रममा अदालती भाषामा ‘विद्वान अधिवक्ता’ हरुले माहौललाई केही रमाइलो पनि बनाएका छन् । उनीहरुले एक अर्कालाई छेड हान्ने र आफ्ना तर्क राख्न गीत र गजलहरु भन्ने र त्यसको शैली पनि अपनाउने गरेका छन् । मंगलबार र बुधबार यहाँ त्यस्तै देखियो ।  

मंगलबार बहसका क्रममा महान्यायाधीवक्ता अग्नि खरेलले एउटा गीतलाई प्रस्तुत गर्दै भने– अहिले कतिपयले मानौँ कि ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ जस्तै गरेर विघटित प्रतिनिधि सभा नै चाहिने तर्क गरिरहेका छन्, जुन स्वाभाविकै होइन । 

प्रतिनिधि सभा विघटन मुद्दाको पक्षमा अर्थात् विघटनका पक्षमा बहस गर्दै उनले संसदको पुनस्थापना गर्नु भनेको त्यही गीत जस्तै अरु केहीले हुदैन मलाई त्यही केटी चाहिन्छ भन्ने जस्तो मात्र हो, उनले भने । तर खरेलले यसअघिका वकिलको तर्क काट्न त्यसो भनेका थिए । उनले भनेका थिए– ‘एकजना विद्वानले गीत गाउनुभयो, मलाई त गीत गाउन पनि आउँदैन, म बाथरूम सिंगर हो । नाइँ मलाई त्यही केटी चाहिन्छ भनेजस्तै गर्नुभयो ।’ 

त्यस्तै यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका अर्का अधिवक्ता गोपालकृष्ण घिमिरेलेले यो गीत गाएका थिए ‘नबिर्सें तिमीलाई न पाएँ तिमीलाई….’ 
उनले प्रधानमन्त्रीले भोलि संसदलाई न विर्सिन सक्ने र न पाउन सक्ने अवस्था आउने तर्क गरेका थिए । 

बुधबार पनि यो रमाइलो निरन्तर रह्यो । सरकारका पक्षबाट बहस गरेका सुशील पन्तले इजलासमा एउटा सायरी सुनाए– ‘ए फलक के चाँद हमने भी एक चाँद देखा है, तुझमें तो है दाग हमने बेदाग देखा है..’ 

सायरीको अर्थ लगाउँदै उनले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रक्रियामा दाग देख्नुभयो अनि बेदाग चन्द्रमाजस्तो जनतामा जाने निर्णय गर्नुभयो । उता यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका अर्का अधिवक्ता शम्भु थापाले पनि इजलासमै यो उर्दु सायरी सुनाएका थिए । 

जला है जिस्म जहाँ दिल भी जल गया होगा
कुरेदते हो जो अब राख जुस्तुजू क्या है ।

यस सायरीको अर्थ लाउँदै थापाले भने ‘जब शरीर नै जल्यो भने दिल जल्छ, अनि सकिन्छ । अब पार्लियामेन्ट म¥यो भने, (केही पनि) बाँकी रहँदैन, यो सबै जल्छ अनि सबै सकिन्छ, अर्थात् यो व्यवस्था नै सकिन्छ ।’