• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

अल्लो उद्योगमा ३५ जना बढी महिलालाई रोजगारी



घोराही । तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गर्नुभएको छ । ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उहाँले व्यवसाय गर्दै आउनुभएको हो । चालिस वर्षिया पुनको घरमा बुवा, आमा, दाई र आफूसहित दुई दिदीबहिनी हुनुहुन्छ । आफ्नै खुट्टामा उभिएर स्वरोजगार बन्दै जाँदा बिहे गर्नुपर्छ भन्ने सोचसमेत नआएको उहाँले बताउनुभयो ।

विसं २०५७ मा पूर्वी रुकुमबाट दाङ बसाइँ सर्नुभएका पुनले घोराही–१३ मा सञ्चालन गरेको व्यवसायबाट प्रशस्त आम्दानी गर्दै आउनुभएको छ । सानै उमेरदेखि अल्लो उद्यममा लागे पनि व्यावसायिकरुपमा विसं २०७३ देखि लागेको पुनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उद्योगमा ३५ जना बढी स्थानीय महिलाले रोजगार पाएका छन् ।

उद्योगमा आबद्ध महिला आजभोलि सेवार खोलामा घरेलु प्रविधिबाट प्रशोधन गर्नका लागि जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्नेलगायत काम गर्दै आएका छन् । यी सबै प्रक्रिया पूरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुन्छ ।

उद्योगमा काम गर्दै आएका महिलालाई उद्योगका प्रमुख तिलकुमारीले आठ घण्टा काम गरेबापत दैनिक रू पाँच सय दिने गरेको बताउनुभयो । उहाँले आवश्यक कच्चापदार्थ दार्चुला, अछाम, बाजुराबाट ल्याउने गरेको उहाँको भनाइ छ । आफ्नो व्यवसायबाट पूर्ण सन्तुष्टि रहेको बताउँदै उहाँले वार्षिक रू पाँच लाख आम्दानी गर्दै आएको जानकारी दिनुभयो ।

अल्लोको कपडामात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी पुनले बताउनुभयो । “कपडा तयार गर्नसके थोरै धागोबाट राम्रै आम्दानी हुन्छ”, उहाँले भन्नुभयोे, “धागो दाङसहित जिल्ला बाहिर बिक्ने गरेको छ ।” तयारी कपडा पनि राम्रो बिक्री हुने गरेको भन्दै अल्लोको धागो काठमाडौँ र भारतसम्म पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

“पहिले घरधन्दामै दिन बित्थ्यो”, अर्का उद्यमी मनमाया रोकाले भन्नुभयोे, “अहिले घरको सबै काम सकेर पनि उद्यमले दिएको रोजगारले राम्रो आम्दानी भइरहेको छ ।” ७० वर्षीया मनमाया आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गर्दै आएकोे बताउनुभयो । बसेर काम गर्दा धेरै दुःख नहुने उहाँको अनुभव छ ।

घरमै खाली बसिरहनुभन्दा आफ्नो खर्च आफैँ काम गरेर जुटाउन सफल भएको भन्दै रोकाले खुसी व्यक्त गर्नुभयो । उहाँका अनुसार उद्योगमा अल्लोबाट कोट, ब्याग, जुत्ता, सललगायत सामग्री पनि उत्पादन हुने गरेको छ ।

अल्लोको धागोलाई सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको अल्लो उद्योगमा काम गर्दै आउनुभएका घोराही–१८ का भूमिका रोकाले बताउनुभयो । आजभोलि छोराछोरीको वार्षिक परीक्षा सकिएको हुँदा खाली समयमा यही उद्योगमा काम गर्दै आएको उहाँको भनाइ छ ।

खाली समयको पनि सदुपयोग हुने र कमाइ हुने हुँदा आफूजस्ता धेरै स्थानीय महिलालाई सहज भएको रोकाले बताउनुभयो । उहाँका अनुसार देशका विभिन्न सहरमा सञ्चालन हुने मेला महोत्सवमा प्रदर्शनीका लागि पनि यहाँका उद्यमीले अल्लोका कपडा लैजाने गर्छन् ।

उद्योगमार्फत अन्य दिदीबहिनीलाई पनि खाली समयको सदुपयोग गर्दै स्वरोजगारमा जोड्न पाएका पुनको भनाइ छ । उद्योगमा काम गर्दा आर्थिक आम्दानी हुनुका साथै खाली समयको समेत सदुपयोग भइरहेको उद्योगमा सहभागी महिलाको भनाइ छ ।

अर्काको देशमा दुःख पाउनुभन्दा स्वदेशमा स्वरोजगार बन्न आवश्यक रहेको पुनले बताउनुभयो । महिलालाई स्वरोजगार बनाउन स्थानीय सरकारले विशेष योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस