५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा



अ+ अ-

मनाङ । देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ ।

यही चैत १५ गतेदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा सकिएका छन् । बाँकी विषयका परीक्षा पनि सोही कोठाबाटै सञ्चालन गरिने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाइँले जानकारी दिनुभयो । विगतका वर्षभन्दा फरक ढङ्गले यस वर्षको एसइई सञ्चालन गरिएको उहाँको भनाइ छ ।

चपाइँका अनुसार उक्त परीक्षा केन्द्रबाट ४२ वर्षीया आमा राधा थापा क्षेत्री र १६ वर्षीय छोरा जयराम थापा क्षेत्रीले सँगै परीक्षा दिइरहेका छन् । “अहिलेसम्मका परीक्षा शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भएका छन्”, उहाँले भन्नुभयो, “अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आउनुभएको थियो । हामीले पालैपालो अनुगमन गर्ने गरेका छौँ । यसले विद्यार्थीमा त्रासको वातावरण पैदा गरेको छैन ।”

चालीस परीक्षार्थीमध्ये एक जना अनुपस्थित भएकाले अहिले ३९ जना परीक्षामा सहभागी भएका चपाइँले बताउनुभयो । उहाँका अनुसार परीक्षा केन्द्र परिसरको सुरक्षाका लागि नेपाल प्रहरीका सात र सशस्त्र प्रहरी बलका सात गरी १४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उक्त परीक्षा केन्द्रमा २३ छात्रा र १७ छात्र गरी कूल ४० विद्यार्थीले एसइईमा सहभागिता जनाउने गरी फाराम भरेकामा खुलातर्फका एक जना अनुपस्थित भएपछि ३९ परीक्षार्थीले परीक्षा दिइरहेका केन्द्राध्यक्ष श्यामकृष्ण पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट एक र लोकप्रिय माविबाट (खुला)दुई गरी ३९ जना सहभागी भएका छन् ।

लोकप्रिय माविमा परीक्षा केन्द्र कायम गरिकामा आवासीय विद्यालय भएकाले होहल्ला हुने तथा नजिकै पहिरो गएकाले समस्या हुनसक्ने भएपछि बालमन्दिर प्राविको हलमा परीक्षा सञ्चालन गरिएको पन्तले बताउनुभयो । उहाँका अनुसार मनाङमा एउटै परीक्षा केन्द्र र एउटै परीक्षा हल कायम भएको छ । मर्यादित ढङ्गबाट परीक्षा सञ्चालन भएको जानकारी दिँदै उहाँले यस वर्षदेखि एसइई दिने विद्यालयका कोहीलाई पनि निरीक्षक तथा केन्द्राध्यक्ष नराखिएको बताउनुभयो ।

“विगतका वर्षमा जुन परीक्षा केन्द्र हुन्थ्यो, त्यही विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष हुने र अन्य शिक्षक निरीक्षक बन्ने गरिएको थियो । यस वर्षदेखि उक्त व्यवस्थामा परिवर्तन गरेका छौँ”, केन्द्राध्यक्ष पन्तले भन्नुभयो, थोरै विद्यार्थी भएकाले दुई जना निरीक्षक राखेर परीक्षा सञ्चालन गरिरहेका छौँ ।”

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चपाइँले अनुगमन गर्दै आउनुभएको छ । परीक्षा हलमा तस्बीर खिच्न निषेध गरिएको छ । रासस




भर्खरै