• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बन्ने भयो वीरगञ्ज–रक्सौल जोड्ने तीन सय मिटर सडक



वीरगञ्ज । भारतसँग सीमा जोड्ने वीरगन्ज–रक्सौल सडक खण्डअन्तर्गत रजत जयन्ती चोकमा पर्ने जीर्ण सडक निर्माण हुने भएको छ । विगत एक दशकदेखि कालोपत्रे भत्किएर खाल्डाखुल्डी र असरल्ल हुँदा सवारीसाधन आवतजावतमा निकै सास्ती हुँदै आइरहेको थियो ।

मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारीचालकले हैरानी खेप्दै आइरहेका छन् । व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना प्रमुख राजेशकुमार यादवले वीरगञ्ज–रक्सौल सडकखण्डअन्र्तगत रजत जयन्ती चोकको भत्किएर असरल्ल भएको सडकलाई नयाँ ठेक्का व्यवस्थापन गरेर निर्माण अघि बढाइएको बताउनुभयो ।

‘‘विगत एक दशकदेखि अलपत्र हुँदै आएको रजत जयन्ती चोकको सडक निर्माण गर्नका लागि नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढिसकेको छ’’, उहाँले भन्नुभयो, ‘‘यो खण्डको सडक छ महिनाभित्रै निर्माण सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । अहिले निर्माण कम्पनी पनि साइटमा खटिसकेका छन् । अब यो ‘क्यान्सर’ जस्तै बनेको खण्डको दीर्घकालीन समाधान हुने आशा गरेका छौँ ।’’

योजना कार्यालय र निर्माण कम्पनी सुवास÷विकास÷राजा जेभीबीच २०८० पुस २१ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले विसं २०८१ को असार २१ गतेभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । यो सडक खण्डको लागत भने रु एक करोड ८० लाख रहेको छ ।

योजना प्रमुख यादवले निर्माण कम्पनीले तोकिएको समय सीमाभन्दा अगावै निर्माण सम्पन्न गर्ने सम्भावना पनि उच्च भएको दाबी गर्नुभयो । वीरगञ्जको घण्टाघरदेखि रक्सौल रुटमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आइरहेका सन्तोषकुमार साहले रजतजयन्ती चोकमा भत्किएको सडकले निकै सास्ती दिँदै आइरहेको बताउनुहुन्छ । ‘‘रजत जयन्ती चोकमा भत्किएर खाल्डाखुल्डी भएको सडकले निकै दुःख दिँदै आइरहेको छ’,’ उहाँले भन्नुभयो, ‘‘सरकारले नियमित मर्मत सम्भार नगर्दा यही खण्डमा दैनिक एक दर्जनभन्दा धेरै अटोरिक्सा दुर्घटनामा पर्दै आएका छन् । अर्कोतर्फ घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने समस्याबाट पनि आजित भइसकेका छौँ ।’’

व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका इञ्जिनीयर अनुपम कुमारले निर्माण कम्पनी उपकरणसहित साइटमा खटिसकेको बताउनुभयो । ‘‘निर्माण कम्पनीले निर्माण उपकरणसहित साइटमा खटिसकेको छ’’, उहाँले भन्नुभयो, ‘‘सडकको दुवैतर्फ डाइभर्सन गरेर सडकको मध्ये भागमा काम भइरहेको छ ।’’ इञ्जिनीयर कुमारले यो खण्डको सडकमा मुआब्जा र क्षतिपूर्ति सम्बन्धित कुनै पनि विवाद नरहेको जानकारी दिनुभयो । यो खण्डको चौडाइ १४ मिटर अर्थात् चार लेनको सडक कालोपत्रे गरिने जनाइएको छ । रासस