• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने ★   पाल्पाका आग्नीपीडित परिवारलाई राहत ★   एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर ★   वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ ★   जसपा अस्थिरताको कारक बन्दैन: अध्यक्ष राई ★   सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी ★   पर्यटकीयस्थल ऐनापहरालाई सुन्दर बनाउन फूल रोपण ★   नख्खु करिडोरमा टिपर गुड्दा स्थानीयलाई सास्ती ★   आरसीबीमा ‘वाटर ब्वाई’ थिए ट्राभिस हेड, जसले अहिले हैदरावादमा तहल्का पिटेका छन् ★   नयाँ सरकार गठनविरुद्ध केदार कार्कीले दायर गरेको रिट दर्ता

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल



file photo

काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने भएको छ । प्रदेशका आयोजनाका लागि छुट्टै स्टल राखिनेछ ।

बिहीबार बसेको लगानी सम्मेलन निर्देशक समितिको बैठकमा अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजनामा पनि लगानी जुटाउनका लागि लगानी सोकेसमा राखिने जानकारी दिनुभयो ।

लगानी सम्मेलन निर्देशक समितिले हिजो प्रदेश मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिकस्तरका आयोजनाहरुको तयारीबारे छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न निर्देशक समितिले प्रदेशहरुसँग आग्रह गरेको छ ।

जलविद्युत्, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने धारणा प्रदेशबाट आएको छ । त्यस्तै, निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले औँल्याएका विद्यमान केही कानुनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरुबाट आएको थियो ।

निर्देशक समिति बैठकमा अर्थमन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानुनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताउनुभयो ।

“गैरआवासीय नेपालीहरुलाई पनि लगानी सम्मेलनमा आमन्त्रण गरेका छौँ”, अर्थमन्त्री पुनले भन्नुभयो, “परिस्थितिवश अरु देशको नागरिकता लिएको भए पनि उहाँहरु नेपाली नै हुनुहुन्छ । आफ्नो मातृभूमिमा आएर लगानी गर्न इच्छुक पनि हुनुभएको मैले पाएको छु ।” रासस