२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानाथारू समुदायमा होलीको उल्लास



अ+ अ-

बेदकोट । परम्परागत थारु पहिरनमा सजिएका बालबालबालिकादेखि तन्नेरी हुँदै पाकासम्म होलीको रङमा रमाइरहेका छन् । दुई समूहमा रहेका उहाँहरु छुट्टाछुट्टै घेरामा गोलबद्ध छन् । त्यहीबीचमा एकजना ढोल पिट्दै छन् । गोलघेरामा रहेका महिला र पुरुषले होली गीत गाउँदैछन् । यो कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ कटानमा देखिएको रानाथारु समुदायको होलीको दृश्य हो ।

अन्य समुदायभन्दा यो समुदायले होली भिन्न तरिकाले मनाउँछन् । थारुबस्तीमा होलीको उल्लास छ । नयाँ कटानका स्थानीय बासिन्दा चेतराम रानाका अनुसार यस समुदायमा एक महिना लामो अवधिसम्म होली मनाउने प्रचलन रहेको छ । “पुर्खौंदेखि चलिआएको चलनअनुसार परम्परागत तरिकाले होली मनाउँछौँ । माघ पूर्णिमादेखि होली सुरु हुन्छ,” उहाँले भन्नुभयो, “गुइँठा राखेर होलीको सुरुआत गरिन्छ ।”

गाईवस्तुको गोबरबाट बनाइने गुइँठाको जोहो होलीअघिदेखि नै गर्ने गरिन्छ । रानाथारु समुदायको प्रत्येक घरमा गोबर सुकाएर गुइँठा बनाइन्छ । गुइँठा नबनाएकाहरुले अरूको घरबाट ल्याएर भए पनि माघ पूर्णिमामा होलीमा राख्ने प्रचलन रहेको रानाले बताउनुभयो ।

“एक महिनाभर राति मात्रै होली खेलिन्छ । जसको घरमा खेलिन्छ उसैको घरमा मिठाई खाइन्छ,” उहाँले भन्नुभयो, “फागुन पूर्णिमामा होली जलाइन्छ ।” रानाका अनुसार माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म मनाइने होलीलाई ‘जिन्दा होली’ भनिन्छ । होली जलाएपछि अर्को दिन बेलुका गुइँठाको खरानीको टीका लगाइन्छ ।

“होली हाल्दा र जलाउँदा त्यहाँ नाचगान गर्ने गरिन्छ,” स्थानीय प्रिया रानाले भन्नुभयो, “त्यहाँबाट गीत गाउँदै गाउँको मूलीको घरमा आएर होली खेल्ने प्रचलन छ ।” त्यसपछि अर्कोे दिनदेखि घरघरमा गएर होली खेल्ने गरिन्छ । चेलीबेटीले सुरुमै घरमा गएर होली खेल्नका लागि प्रस्ताव राख्छन् । घरमूलीले स्वीकृत गरेपछि मात्रै त्यो घरमा होली खेल्ने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

प्रियाका अनुसार घरघरमा गएर एक सातासम्म खेल्ने होलीलाई ‘मरी होली’ भनिन्छ । गत सोमबारदेखि सुरु भएको रानाथारु समुदायको यो होली आगामी सोमबारसम्म चल्ने उहाँले जानकारी दिनुभयो ।

महिला थारु परम्परागत पहिरन घघरिया, अगिया, उडनिया तथा पैडामा सजिएर होली गीत गाउँदै झुम्मिछन् । पुरुषले स्थानीय भाषामा झगिया लगाए होली खेल्छन् । होलीमा बाजे, छोरा र नातिनातिना तीनै पुस्ताको सहभागीताले संस्कृति पुस्तान्तरणमा सहज भएको बसन्ती रानाले बताउनुभयो । “बुढापाकासँगै बालबालिका पनि होलीमा सहभागी भएका छन् । यसले नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे ज्ञान हुन्छ,” उहाँले भन्नुभयो, “यसले रमाइलोसागै संस्कृति संरक्षणमा टेवा पुर्‍याएको छ ।” रासस