१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

हाँडीकोटमा पर्यटन महोत्सव

हाँडीकोटमा पर्यटन महोत्सव
अ अ+ अ-

बलेवा । बिस्तारै पर्यटक पुग्दै गरेको हाँडीकोटको प्रचारप्रसारमा स्थानीय युवाले सक्रियता बढाएका छन् । हाँडीकोट टापुमा केही वर्षदेखि मेला महोत्सव गरेरै आन्तरिक पर्यटक पुर्‍याउन थालिएको हो ।

हाँडीकोटमा यस वर्षको फागु पूर्णिमामा पनि पाचौँ हाडीकोट महोत्सव भयो । कुनै ठूलो सहरको मेला महोत्सवको झल्को दिने गरी यस वर्षको महोत्सवमा आन्तरिक पर्यटक हाँडीकोट टापु पुगेका छन् । हाडीकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागु पूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरेको हो ।

हाँडीकोट चिनाउनकै लागि केही वर्षदेखि मेला र महोत्सवको माध्यमबाट प्रचार थालिएको केन्द्रका अध्यक्ष धर्मराज थापाले जानकारी दिनुभयो । यस पटक चैतको ८ देखि १२ गतेसम्म विविध कार्यक्रम गरेर आफ्नो संस्थाको वार्षिकोत्सवसँगै हाँडीकोटमा महोत्सव आयोजना गरिएको थापाले बताउनुभयो ।

महोत्सवमा आयोजना गरिएका भलिबल खेलमा सहभागी हुने खेलाडी, सांस्कृतिक कार्यक्रममा सहभागी हुने कलाकार र महोत्सव हेर्न आएका दर्शकले हाँडीकोटको प्रचार गर्ने संस्थाको विश्वास छ । महोत्सवमा स्थानीय कलासंस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकार पनि प्रदर्शनी गरिएको थियो । यसले हाँडीकोटसँग जोडिएको गाउँको आर्थिक विकासमा सहयोग गर्ने संस्थाको बुझाइ छ ।

यस वर्ष संस्थाले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीको छायाङ्कन समेतको व्यवस्था मिलाएको थियो । महोत्सवमा इन्द्रेणी समूहलाई प्रस्तुतिका लागि बोलाएर त्यही कार्यक्रम छायाङ्कन हुँदा टेलिभिजनमार्फत हाँडीकोटको प्रचारप्रसार देश–विदेशसम्म गर्ने प्रयास गरिएको थापाले बताउनुभयो ।

सडकले जोडिएपछि हाँडीकोटमा नियमित रूपमा पर्यटक पुग्न सजिलो रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ । हाँडीकोटको पर्यटन विकास र यसलाई अझै आकर्षण बनाउनका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न नगरपालिकाले लगानी बढाएको छ । हालसम्म दृश्यावलोकन स्तम्भ निर्माण, प्रतीक्षालय निर्माण, मन्दिर निर्माणका लागि रु २२ लाख खर्च गरिसकेको छ । खानेपानी व्यवस्थापनका लागि रु नौ लाखमा ट्याङ्की निर्माण गरिएको उपप्रमुख शर्माले बताउनुभयो ।

हाँडीकोट चौबिसे राज्यको पालामा रहेको भुरेटाकुरेमा गनिन्छ  । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ सङ्ग्रह गरेर राखिएको छ । त्यसका लागि सङ्ग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना रहेको छ । ब्याडथला र डाँडाखानीबाट दुई हजार दुई सय मिटर अग्लो हाँडीकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन् ।

हाँडीकोटको नजिकका डाँडाखानी र ब्याडथलामा सामुदायिक घरबास सञ्चालनमा छन्  । घरबासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ । घरबासमा बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुकबजारमा होटल पनि पर्याप्त मात्रामा छन् । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडीकोट महोत्सव गरिँदै आएको छ । सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा ब्याडथला पुग्न सकिन्छ ।

यहाँ खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान–बेलुकाको सिरेठो अनि पुरातात्विक संरचना रहेका छन् । निर्माणाधीन अवस्थामा रहेको दृश्यावलोकन स्तम्भ, शिव मन्दिर सत्तल र प्रकृतिको उहार प्रयोगविहीन जस्तै छन् ।

सहरको कोलाहल र प्रदूषण छाडेर हाँडीकोट पुग्दा मन आनन्द हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिजस्ता दर्जनौँ हिमशृङ्खलाको मनमोहक दृश्यले हाँडीकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछ । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रङ्ग फेर्छ । तल हरियाली वनजङ्गल डाँडामा पुग्दा बादलभित्र हराएजस्तो अनुभूति हुन्छ ।

यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भानसमेत हुने गरेको त्यहाँ पुग्ने पर्यटकको अनुभूति छ । बाग्लुङको जैमिनी नगरपालिकामा रहेको हाँडीकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भुत लाग्दछन् । जैमिनीको वडा नं १० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हाँडीकोट हो । समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडीकोटमा वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिराले ढाकिने गर्छ । हाँडीकोटले जति प्राकृतिक र पौराणिक महत्व बोकेको छ, त्यति पर्यटक भित्र्याउन नसकेको स्थानीय बताउँछन् । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिला सुसज्जित पहाड खोँचमा मडारिएको बादलसँग तस्बिर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्ने गरेका छन् । रासस