९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान
अ अ+ अ-

काठमाडौँ । बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दु:ख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन् । यहाँ घुम्न आउने पर्यटकका लागि प्राकृतिक सुन्दरताको वर्णन गर्ने शब्द पाउनै गाहे पर्छ ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले प्रसिद्ध गन्तव्यस्थल बन्दै गएको छ । बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ । उक्त मन्दिर महाभारत पर्वत शृङ्खलामध्ये काभ्रेको सबैभन्दा अग्लो र शृङ्खलाभरमा चौधौँ अग्लो शृङ्खलामा रहेको छ । जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेका कारणले पनि यो डाँडा अहिले निकै चर्चामा छ ।

ढुङ्खर्क बजारदेखि सात किलोमिटर माथि देउराली चौरसम्म सवारी साधनमा जान सकिन्छ । त्यहाँबाट ४५ मिनेट अर्थात् दुई किलोमिटरको बाटो हिँडेर नारायणस्थान मन्दिरमा पुगिन्छ । पहिला पहिला नयाँ वर्षमा गोरेटो बाटो हिँडेर भक्तजन नारायणस्थान मन्दिरमा जाने गर्थे भने हाल उक्त मन्दिरसम्म पुग्ने पदयात्राका लागि रेलिङसहितको राम्रो बाटो व्यवस्था भएकाले सहजै आउन जान सकिन्छ ।

बेथानचोकको किंवदन्ती

भक्तपुरका मल्ल राजाको पालामा आफ्नो राज्यमा सङ्कट उत्पन्न भएपछि भगवान् नारायणलाई सम्झँदा भगवान् नारायणले आफू भक्तपुरबाट दक्षिणतर्फको सबैभन्दा अग्लो स्थानमा विराजमान भएको सन्देश दिएपछि मल्ल राजा भगवान् नारायणको खोजी गर्दै आउने क्रममा यसै स्थानमा विराजमान भएको पाएपछि यस स्थानको नाम बेथानचोक नारायणस्थान रहन गएको किंवदन्ती छ ।

काठमाडौँ टुँडिखेलस्थित माहाङ्काल मन्दिरमा रहेका देवता पनि सोही मन्दिरबाट ल्याइएको तर पटकपटक फर्केर जाने गरेकाले सिक्रीले बाँधेर राखिएको किम्बन्ती छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रविन्दुका रूपमा रहेको बेथानचोक नारायणस्थान मन्दिरमा नयाँ वर्ष, जनैपूर्णिमा, फागुपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । बेथानचोक नारायणस्थान मन्दिर परिसरभित्र मासुजन्य पदार्थ र मदिरा पूर्णरूपले निषेध गरिएको छ । उचित सरसफाइ र प्रचार प्रसारको पर्खाइमा रहेको यस मन्दिर पर्यटकीय हव बन्दै गएकाले उक्त गाउँपालिकाले थप व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

बेथानचोक–३ का बासिन्दा तथा समाजसेवी रमेशप्रसाद तिमिल्सिनाले भन्नुभयो, “नारायणस्थान मन्दिरको इतिहास धेरै पुरानो छ, भक्तपुरबाट भूपतिन्द्र मल्लको पालामा बेथानचोक नारायण भनेर आएको र सो क्रममा बेथानचोक गाउँपालिका–३ को मसानघाटमा आएर बसेको किंवदन्ती छ । अहिले सो ठाउँलाई शिवालय भनिन्छ । सो ठाउँको पारिपट्टि नेवार बस्ती रहेको र सो बस्तीमा बिहानै कुखुरा कराउने, ढिकीजाँतो चलाएको आवाज आएका कारण शान्ति भङ्ग भएकाले त्यहाँबाट बेथानचोक नारायणस्थान डाँडामा गएर बसेको भन्ने भनाइ रहेको उहाँले बताउनुभयो । विसं। २०७६ मा भक्तपुरबाट इँटा ल्याएर गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनसमुदायबाट श्रमदान गरी नारायणस्थान मन्दिर निर्माण गरेको पनि उहाँले जानकारी दिनुभयो ।

मल्ल राजाको पालामा नारायण भगवान भक्तपुरको कोलाहल मन नपरेर बेथानचोकमा प्रतिस्थापित भएको किंवदन्ती रहेको बेथानचोक–३ का स्थानीय बासिन्दा तथा समाजसेवी रमेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार गोकुल नाम गरेका एक व्यक्ति स्याउला काट्न जाँदा भिरबाट खसेको र खोज्दै जाँदा उनको शव खोल्सामा भेटिएका कारण नारायणस्थान जाने बाटोमा पर्ने भिरको नाम गोकुले भिर रहेको छ ।

उहाँले बेथानचोक नारायणस्थान क्षेत्रमा छ प्रकारका लालीगुराँस, लोपोन्मुख प्रजातिका जनावर, चराचुरुङ्गी तथा लौठसल्ला, ठिङ्ग्रेसल्ला, सुगन्धवाल, चिराइतो, कुरिलो, जेठीमधु आदि जडिबुटी पाइने बताउनुभयो । तिमिल्सनाले यहाँ घुम्न आउने पर्यटकसँगै आफू पनि डाँडामा जाने र बाटोमा पर्ने विभिन्न स्थानको जानकारी गराउँदै नारायणस्थान मन्दिर दर्शनका साथसाथै हिमालका मनमोहक दृश्य, तराईको समथर भूभाग र जिल्लाका विभिन्न स्थानको दृश्य देखाउँदै र वर्णन गर्दै पर्यटकको मन तान्ने गर्नुभएको छ । पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो दिन प्रतिदिन बढ्दै गएको छ ।

नारायणस्थान मन्दिरको धर्मशाला बाहिर बिक्रीका लागि थोरै चाउचाउ, बिस्कुटलगायतका सामान राखेर बस्नुभएका महाँकालथान, बेथानचोक–३ घर भएका प्रकाश सत्यालले आफू केही महिनाअघि मात्र विदेशबाट आएको र अब विदेश नगई यही नारायणस्थान मन्दिरको रेखदेख गर्ने, सरसफाइ गर्ने, मन्दिरमा आउने पर्यटकको व्यवस्थापन गर्ने सोच रहेको बताउनुभयो । उचित सरसफाइको पर्खाइमा रहेको यस मन्दिरको सरसफाइको जिम्मा पनि उहाँले पाएको बताउनुभएको थियो । यो स्थान पर्यटकका लागि अति नै रमणीय रहेको र यसको उचित प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने आफ्नो उद्देश्य रहेको पनि उहाँले बताउनुभयो ।

ललितपुरको सातदोबाटोबाट नारायणस्थान मन्दिर दर्शनसँगै घुम्न आउनुभएका श्याम गौतमले भन्नुभयो, “नारायणस्थान मन्दिर रहेको डाँडा घुम्नका लागि एकदमै रमणीय छ भनेको विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएको तर आज आफ्नै आँखाले देख्न पाउँदा आनन्द महसुस भइरहेको छ ।” यो ठाउँ हामी जस्तै घुम्नका लागि आउने आन्तरिक पर्यटकले पनि विभिन्न माध्यमबाट प्रचार प्रसार गरे आन्तरिक पर्यटकका साथसाथै बाह्य पर्यटकको हब बन्न सक्ने गौतमले बताउनुभयो ।

मध्यबानेश्वर, काठमाडौँबाट आउनुभएका सरगमजङ ठकुरी र विशाल वलीले काठमाडौँबाट नजिकको दूरीमा रहेको नारायणस्थान डाँडा हाइकिङका लागि जति माथि गयो त्यति रमणीय वातावरण रहेको बताउनुभयो । नारायणस्थान डाँडा घुम्नका लागि आकर्षक छ भन्ने कसरी थाहा पाउनुभयो भन्ने प्रश्नमा उहाँहरूले सामाजिक सञ्जाल र युट्युबबाट आफूहरूले जानकारी पाएको बताउनुभयो । यहाँ आउने पर्यटकको सुविधाका लागि होमस्टेको पनि व्यवस्था गरिएको छ ।

यहाँँ बिहानीको सूर्योदय तथा सूर्यास्त हेर्नका लागि पनि आन्तरिक पर्यटक जाने गरेको पाइएको छ । पर्यटकहरू बेलुका नै टेन्ट हालेर बिहानीको झुल्के घाम चराचुरुङ्गीको सुमधुर आवाज, नारायणस्थान मन्दिरको दर्शनका साथै वरिपरिको दृश्यावलोकन गरी भरपुर मनोरञ्जन लिएर फर्कने गरेको स्थानीय बासिन्दा बताउँछन् । यस स्थानमा जाँदा आकासै छुन खोजे जस्तो अनुभव हुने र लहरै देखिने हिमालले मोहित पार्ने गर्दछ । वरिपरि देखिने पहाड, डिलैमुनि रहेको गुफा वर्णन केको मात्र गर्नु सीमा नै छैन ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाको पूर्वाधार विकासको कामलाई नै आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । बेथानचोक घुम्न आउने पर्यटकले उचित सडकको निर्माण नहुँदा दु:ख पाएकोदेखि आफू निर्वाचित हुने बित्तिकै पहिलो प्राथमिकतामा सडक निर्माण नै राखेको बताउनुभयो । बेथानचोक नारायणस्थान मन्दिरमा घेराबारसहित सडक व्यवस्थित गर्नका लागि ढुङ्गा बिच्छ्याउने काम भइसकेको र थप काम पनि दु्रतगतिमा भइरहेको जानकारी दिनुभयो । सङ्घ सरकारको समपूरक कार्यक्रममा पनि बेथानचोक नारायणस्थान मन्दिरको पूर्वाधार विकासका लागि कार्यक्रम रहेको अधिकारीले बताउनुभयो ।

अध्यक्ष अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाले नारायणस्थान मन्दिरलाई धार्मिक एवं पर्यटकीयस्थल बनाउनका लागि दीर्घकालीन योजना बनाई पूर्वाधार विकासको कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले यस ठाउँमा प्रशिक्षार्थीका रूपमा आउने विद्यार्थीहरूलाई मध्यनजर गरी घेराबार लगाएको बताउनुभयो । पनौतीको सिमानादेखि निजी स्रोतबाट दिगो विकास लक्षित कार्यक्रम गरेका छौँ, स्वदेशी तथा विदेशी पर्यटकको सहजताका लागि केबुलकारको व्यवस्था गर्ने र हेलिकप्टरबाट माथि जान सक्ने व्यवस्था गर्ने पालिकाको दीर्घकालीन सोचलाई अन्तर्राष्ट्रिय संघसंस्थाले पनि चासो व्यक्त गरेका जानकारी गराउनुभयो

अर्को वर्ष बेथानचोक महोत्सव गर्ने योजना बनाएका छौँ । यहाँसम्म पानी लैजान लिफ्टिङको प्रबन्ध मिलाइएको छ । बाटोका विभिन्न स्थानमा  फोहर सङ्कलन गर्ने भाँडाहरूको व्यवस्था गर्नाका साथै पदयात्रीका लागि ठाउँठाउँमा बस्ने बेन्चको व्यवस्था पनि गरिएको छ । खानेपानी व्यवस्थाका लागि पाइप बिच्छ्याइसकिएको र अब पानीको व्यवस्था पनि छिट्टै गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

पर्यटकलाई बस्ने ठाउँको व्यवस्था, फोहर व्यवस्थापन, पर्यटकको विवरण सङ्कलन, स्वदेशी तथा विदेशी पर्यटकमा वृद्धि, पानीको व्यवस्थापन, वनभोज गर्ने ठाउँको व्यवस्थापन गर्न सके यो ठाउँ साँच्चै नै भविष्यमा ‘पर्यटकीय हव’ बन्ने निश्चतप्राय: छ । ढकमक्क फुलेका लालीगुराँस, हिमाल, पहाड र तराईका मनोरम प्राकृतिक दृश्य एकैपटक अवलोकनसँगै भगवान नारायणको दर्शन गर्न पाइने भएकाले पनि यहाँ एकपटक अवश्य पुग्नै पर्ने देखिन्छ ।

कसरी पुग्ने त नारायणस्थान डाँडा?

भूगोलको हिसाबले पनि निकै अग्लो स्थानमा रहेको यो मन्दिर राजधानी काठमाडौँदेखि ४५ किलोमिटरको दूरी पार गरेपछि पुगिन्छ । काठमाडौँदेखि ढुङ्खर्कसम्म बसमा सजिलै जान सकिन्छ । बेथानचोक गाउँपालिकाको ढुङ्खर्क बजारबाट करिब तीन घन्टा हिँडेरै नारायणस्थान मन्दिरमा पुग्न सकिन्छ । आफ्नै साधन हुनेहरू भने देउराली चौरमा साधन राखी करिब ४५ मिनेट पैदल हिँडेपछि सो डाँडामा पुग्न सक्छन् ।

बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबाट पैदल हिँडेर तीन घन्टामा पुग्न सकिने नारायणस्थान डाँडाले भविष्यमा राम्रै पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको छ । वरिपरि स्टिलको बारले घेरी बीचबीचमा उभिएर दृश्यावलोकन गर्न सकिने बनाइएको यस ठाउँमा उभिएर हेर्दा वारिपारि छर्लङ्ग देखिने चट्टाने ढुङ्गा, कुनै सुगाको ठोँड जस्तो देखिने, कुनै पर्वत जस्तो देखिने तलतिर गाउँ बस्ती हेरिरहुँ जस्तो देखिन्छ  । नारायणस्थान डाँडाबाट नजिकै देखिने सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्न पाइने हुनाले पनि आन्तरिक पर्यटक विशेषगरी रात बस्ने गरी जाने गरेको पनि स्थानीय बासिन्दा बताउँछन् ।

मन्दिर जाने बाटोमा विभिन्न प्रकारका लालीगुराँसले स्वागत गरेको पाइन्छ । मन्दिरको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ । यो मन्दिरमा विशेष गरी फागुपूर्णिमामा ठूलो मेला लाग्ने गर्छ । उक्त मन्दिरमा जङ्गलै जङ्गलको बाटो हुँदै माथि डाँडोमा जानुपर्छ । छिनमै ड्याम्म तुवाँलेले ढाक्ने र छिनमै तुवाँलो हटेर छर्लङ्ग वारिपारि तलमाथिका रमणीय वनपाखा, बाटैभरि ढकमक्क फूलेका लालीगुराँस देख्दा त्यहाँ पुग्ने जो कोहीको पनि मन नलोभिने कुरै भएन । रासस