१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

देशको सिमानाले नछेकेको मातृ तथा पितृभूमिको माया…

देशको सिमानाले नछेकेको मातृ तथा पितृभूमिको माया…
अ अ+ अ-

बैंकक: ‘माया लाग्छ धेरै धेरै मातृ तथा पितृ भूमिको, छुन पाए माटोलाई तिर्थें ऋण मुटुभरीको’ गत साता थाइल्याण्डको बैंककमा २७ देशका नेपाली मूलका नेपालीभाषीहरु जम्मा भएर मातृ तथा पितृभूमि नेपाललाई यही गीतको हरफझैँ सम्झिए ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाकाको सहयोग र समन्वयमा बैंककमा जुटेका नेपालीभाषीहरुले दिल खोलेर आफ्नो माटोको स्मरण गरे र नेपाली भाषामै आफ्नो मनको वह पनि पोखे । बिगत चार पाँच पुस्ता भन्दा अघिदेखी नै विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीभाषीका सन्ततीले आफ्नो मातृ तथा पितृभूमिका लागी भूगोलको सीमाभन्दा माथि उठेर भावनाको सीमालाई थप फराकिलो बनाउने प्रयत्न प्रसस्त मात्रामा गरेका थिए ।

उनीहरुको भाव र इच्छा थियो मातृ तथा पितृ भूमिको माटो छुने र केही गर्ने अनि यसका माध्यमबाट आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्ने । विश्वका जुनसुकै मुलुकमा पुगेपनि नेपाली मन, नेपाली भाषा, साहित्य, कला संस्कृति भुल्न नसकिने भन्दै नयाँ पुस्तालाई यी कुरा हस्तान्तरण गर्न आतुर रहेको हुटहुटी पनि उनीहरुले सुनाए ।

१८० बर्ष अघि बर्मामा पुगेका चौथो पुस्तका लक्ष्मण न्यौपानेदेखि जर्मन पुगेका पछिल्लो पुस्ताका दीपक धितालसम्मले आफनो कथा सुनाउदा सम्मेलन हलमा प्रसस्ता भावना भरिएको थियो । एकप्रकारले भन्नुपर्दा सम्मेलन हलको माहौल नै भाबुक बनेको थियो ।

न्यौपाने मात्र होइन अमेरिकाकी सपना घिमिरे, भद्र राई, साउदी अरबका रबिन गिरी, भारतको गुवाहाटीका खगेन शर्मा, सिक्किमकी शुष्मा गुरुङ, गीता क्षेत्री (हाल दुवइ), थाइल्याण्डका कुमार कार्की, भुटानी मुलका नेपाली भाषी भई हाल अमेरिकी नागरिक तिलक निरौला, सुनिता गुरुङ, नेपालका बाबुकृष्ण कार्की र गीता गुरुङ, पोर्चुगलका दिपेश बिष्ट, भारतका धर्मप्रसाद गुरुङ, नेदरल्याडका डिबी गुरुङ, नर्वेका धनराज तमाङ्ग, दक्षिण कोरियका ओम नारायण जुम्जाली, ईटलीका बिजय भुषाल , बेलायतका अर्जुन पौडेल, न्युजिल्याण्डका भोजराज सुब्बा,  भियतनामका याेगेन्द्र बहादुर क्षेत्री, कम्बोडियाका लालसिंह खड्का, अष्ट्रेलियाका भीमबहादुर बस्तेत, बहराइनका दुधप्रसाद गुरुङ, अमेरिकाका केशव आचार्य र डिवी पौडेल आदिका जुन जुन देशको माटो टेके पनि भावना भने एउटै थियो ।

बर्माका लक्ष्मण न्यौपानोको पुस्ता उता पुगेकै १८० बर्ष जति भैसकेको रहेछ । एकपटक नेपाल आउदा बिमानस्थलमा किन बिदेशीको लाइनमा बसेको नेपालीको लाइनमा बस्नुस भनेर प्रहरीले गाली गर्दा त्यो गाली निकै मिठो लागेको सुनाउनु भयो । उहाँले भन्नुभयो– कुनै गाली पनि यति मिठो हुदो रहेछ । त्यो गाली मलाई त्यस्तै भयो ।

कार्यक्रममा डा योगेन्द्र क्षत्रीले फिजिमा निगुरो, गुन्द्रुक भेटिँदा आफ्नै पनको भान भएको भन्दै तर पनि कानूनले सबै पहिचान गुमाएका नागरिकको कुरा सुनाउँदा भने सभाहल नै स्तब्ध भएको थियो । डा क्षत्रीले मातृभाषाको पहिलो बिद्यालय आमा भएको र मातृत्व नहुदा भाषा, संस्कार र संस्कृति हराएको फिजीको अबस्था चित्रण गर्नुभयो ।

भारतको सिक्किममा जन्म भै हाल कर्मका लागि दुबइमा रहनु भएकी एरोनटिकल ईञ्जिनियर गीता क्षेत्री चौबन्दी चोली र फरियाको पहिरनसहित आफना कुरा राख्दा हलमा पटक पटक ताली गुञ्जियो । उहाँले दशैंको टीका, तिहारको सयपत्री माला, लिंगे पिङ, रोटेपिङ, साउने संक्रान्तीमा लुतो फ्याँकेको, असार १५ को दशी चिउरा र साउन १५ को खिरको सुन्दर संस्कार झलझली याद आएको सुनाउँदा ध्यान दिएर नसुन्ने कोही थिएन । उहाँले तिनै संस्कार अनुशरण गरेर खुशी र सुखी जीवन बिताइरहेको बताउनु भयो । क्षेत्रीले आज पनि कतै मादलु र सारंगीको धुन सुने नाच्न खुट्टा उचालिने अनुभब सुनाउनु भयो ।

कार्यक्रमा सुनिता गुरुङले आफु २ बर्षको उमेरमा शरणार्थी हुनु परेको पीडा सुनाउदै माटो चिन्न र बुझ्न समेत नपाएको कुरा सुनाउदा हलमा सन्नाटा छाएको थियो । कार्यक्रममा सहभागीहरुले कोही बाध्यताले कोही रहरले विश्वका बिभिन्न मुलुकमा पुगेको जनाउदै मातृ तथा पितृभूमिको माया भने मुटुमा रहेको सुनाएका थिए ।

कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले “जो जो जहाँ जहाँ भएपनि नेपाली गौरव बोकेर हाँसी खुशी प्रतिष्ठाका साथ रहन पाउनु पर्ने बताउन भयो । उहाँले भन्नुभयो “नेपाली पलायन भएका होइनन्, अध्ययन, अनुसन्धान, भ्रमण, सृजनाको खोजी र बीरता एवं इमान्दारिता प्रदर्शनका क्रममा विश्वभरि सगौरव पुगेका हुन् र आधुनिक विश्व सबैको साझा घर भइसकेको अवस्थामा यो सामान्य चक्र हो ।”

सहाभागीहरुको उर्जा थप्दै राजदूत वलीले भन्नुभयो– भिसिले सम्मानित गुर्खाज् हुन वा विश्व प्रख्यात नेत्र चिकित्सक सन्दुक रुइत वा घरेलु बैज्ञानिक महाबीर पुन वा फेसन डिजाईनर प्रबल गुरुङ वा सांस्कृतिक एकताको माला उन्ने हिम्मतिला मनकारी डिल्ली अधिकारी, सबै सपुतहरुको पितृ र मातृभूमि नेपाल गौरव हो र त्यो गौरव नै हामीले सम्मान र संरक्षण गर्नुपर्ने मूल्यवान सम्पदा हो । अब नेपाली बीरताको गौरव बेलायत, भारत, ब्रुनाइ, सिंगापुरमा मात्र सीमित रहेन, बरु त्यो फैलिएर अमेरिका, फ्रान्स, रुसका सैनिक शक्तिको भरपर्दो खम्बा भइसकेको गौरव सुनाउनु भयाे  ।

नेपाली सेना, बेलायती सेना, भारतीय सेना, अमेरिकी सेना, फ्रान्स सेनाको समाबेशिता र वीरताको गाथा हाम्रो घरको वर्तमान पहिचान भएको उहाँको भनाई थियो । नेपाल र नेपालीका नाममा जेजस्ता संस्था स्थापना भए पनि तथा नेपालीहरु संगठित भए पनि नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धन एवं नेपालीबीचको सहयोग र समन्वयमा लाग्न उहाँले सुझाव दिनुभयो । उहाँले नेपाली मूलका र नेपालीभाषी नागरिकहरु जो जुन देशमा छन् त्यहाँ उनीहरु इज्जतसाथ बस्न पाउनुपर्ने धारणा पनि राख्नुभयो ।

यसरी जम्मा भएर गठन गरिएको एसोसिएनस अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारीले यो अभियान विशुद्धरुपमा संसारमा छरिएर रहेका नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीलाई एकताको एउटै मालामा गाँस्ने भावना र उद्देश्यले सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– यो सबै नेपालीभाषीहरुको साझा संस्था भएकाले गैरराजनीकि र गैरपक्षधर अभियान पनि हो । यो अभियान नेपाल, नेपाली, नेपाली मातृ तथा पितृभूमि, नेपाली संस्कार र संस्कृति एवं नेपाली दाजुभाई तथा दिदीबहिनीको साझा र आफ्नै संस्था हो । उहाँले संसारमा रहेका नेपाली नागरिकका छोराछोरीलाई पनि नेपाली भाषा, संस्कार, संस्कृतिको ज्ञान दिलाई उनीहरुमा पनि नेपाली पहिचानको जगेर्ना गरिराख्न तथा विदेशमा रहेका भावी सन्ततिहरुलाई आफ्नो मातृ तथा पितृभूमिका बारेमा सदैव जानकार बनाइराख्न यो संस्थाले काम गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीको बुझाई थियो– राष्ट्रियता चार सीमा भित्र र नागरिकतामा बाँधेर राख्ने गौरव होइन रहेछ । यो त अनुभव र अनुभूति गर्ने कुरा रहेछ । विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्दै आएका सम्पूर्ण नेपालीजातिको चाहना भावनात्मक रुपमा आफ्नो मातृ तथा पितृ भूमिप्रति समर्पित भई नेपालका लागि योगदान गर्न आपसी भाइचारा, सद्भाव एवं सहयोग कायम गर्न तथा नेपाली जातीय, सांस्कृतिक पहिचानलाई समेत जीवन्त राख्न गठन गरिएका्े एएनओले राष्ट्रिय गानले भनेजस्तै विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली भाषीलाई एउटै मालामा गास्ने प्रयास भने गरेको छ ।

राजनीतिले मेरो पार्टी र तेरो पार्टी, मेरो सिद्धान्त र तेरो सिद्धान्त, यो वाद र त्यो वाद भनेर व्यक्ति व्यक्तिभित्र पसेर कित्ता छुट्याइरहेको र समाजलाई नै तोड्ने अथवा विभक्त गर्ने कटु अनुभव दिलाइरहेको अहिलेको परिवेशमा नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वका नेपालीलाई जोडेर एउटै मालामा उन्नका लागि इन्ट्रा फाउन्डेसनले थालेको यो प्रयासको जति प्रशंसा गरे पनि थोरै हुन्छ ।