• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

होली शुरु भएको ‘प्रह्लादपुरी मन्दीर’मा पुग्दा



फागु पूर्णिमा अर्थात रंगहरुको पर्व । संसारभरी छरिएर रहेका हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ होली पर्व मनाउने गर्छन ।

हिन्दुहरुले विभिन्न रंगहरुको प्रयोग गरि साथी भाई आफन्त, नातागोता र छरछिमेकीसंग मिलेर यो पर्व मनाउने कुरा धेरैलाई थाहा छ ।तर मुसलमान समुदायले पनि रंगहरुको पर्व होली मनाउँछन भन्ने सुन्दा म पनि छक्कै परें, जब म फागुनमा पाकिस्तानको मुल्तान शहरमा पुगें ।

नेपाल, भारत लगायतका हिन्दु धर्मावलम्वीहरुले विभिन्न रंगको प्रयोग गरि होली मनाएतापनि पाकिस्तानमा रहेका मुसलमान समुदायले भने पहेलो रंग मात्रै लगाएर होली मनाउने रहेछन भन्ने कुरा पनि त्यहाँ पुगेपछि थाहा पाएँ । कुनै पनि खुशियाली र शुभकार्यमा उनीहरु पहेंलो रंग प्रयोग गर्ने रहेछन् ।

अंग्रेजी महिना (यसै महिना) को मार्च १ देखि ३ तारीखसम्म पाकिस्तानको राजधानी इस्लामाबादमा पाकिस्तान क्लिनिकल अंकलोजी समाजको आयोजनामा हुन लागेको क्यान्सर सम्मेलनमा भाग लिन म पाकिस्तान जाने तयारीमा थिएँ । सार्क क्यान्सर विशेषज्ञहरुको महासंघ सार्क फेडरेशन अफ अंकोलाजिष्टको संस्थापक अध्यक्ष तथा संरक्षकको नाताले म त्यो सम्मेलनमा भाग लिन निम्तो थियो ।

इस्लामाबादको त्यो सम्मेलन शुरु हुनुभन्दा केही दिन अघि पाकिस्तानकै अर्काे मुल्तान शहरमा हुन लागेको निस्टर मेडिकल विश्वविद्यालयले २६ फेब्रुअरीदेखि आयोजना गरेको फोक्सोको क्यान्सरसम्वन्धि अर्काे सम्मेलनमा भाग लिन मुल्तान शहरमा गएँ ।

पाकिस्तानको राजधानी इस्लामाबाददेखि मुल्तान शहर करीव ५३७ किलोमिटर टाढा तर विकसित शहर रहेछ । सो शहर करीव ४ हजार वर्ष पुरानो रहेको थाहा पाँए । जहाँ, मुसलमानहरुको मस्जिद, इसाईहरुको चर्चको साथै हिन्दु र जैनहरुको लागि भिन्नाभिन्नै मन्दीर रहेछ । अर्थात भनौं त्यति पुरानो शहरमा सबै धर्मावलम्वीहरुका लागि समान रुपमा धार्मिक आस्थाका ठाउँहरु रहेछन ।

भारत अर्थात हिन्दुस्तानबाट बहुमत मुसलमान समुदाय छुट्टिएर अर्काे मुलुक पाकिस्तान बन्नुअघि हालको पाकिस्तानको मुल्तान शहरमा हिन्दु र मुसलमान राजाहरुले राज गरेका रहेछन् ।

नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान देश बन्नुअघि त्यतिखेर भारत लगायत दक्षिण एशियाली मुलुकहरुलाई ‘भारत वर्ष’ मानिने गरिएको इतिहासमा पढ्न पाइन्छ । वास्तवमा होलीसंग सम्वन्धित कथा त अहिलेको पाकिस्तानको मुल्तान शहरमा रहेको ‘प्रह्लादपुरी मन्दीर’बाट शुरु भएको रहेछ ।

 

 

राक्षस राजा हिरण्यकश्यपुलाई मारेर प्रह्लादलाई राजा बनाएपछि त्यो दरवारलाई भक्त प्रह्लादको नामबाट ‘प्रह्लादपुरी मन्दीर’ बनाइएको रहेछ । भक्त प्रह्लाद तिनै राक्षस राजा हिरण्यकश्यपुका छोरा थिए ।

भगवानबाट वरदान पाएपछि उग्र बनेका हिरण्यकश्यपुलाई भगवान विष्ष्णुले नर र सिंहको ‘संयुक्त’ रुप धारण गरि आफ्नो काखमा राखेर आफ्नो हातका नङ्गले पेट चिरेर मारेको विष्णु पुराणमा पढ्न पाइन्छ ।

त्यसो त आगोमा नजल्ने वरदान पाएकी हिरण्यकश्यपुकी वहिनी होलिकाले विष्णुभक्त प्रह्लादलाई आगोमा जलाएर मार्न खोज्दा उल्टै होलिका जलेर भष्म भएकी हुनाले त्यसको खुशियालीमा होली पर्व मनाउन थालिएको मुख्य किंवदन्ती छ ।

पाकिस्तानका एकजना प्राध्यापकको सहयोगमा म त्यो मन्दीरको भग्नावशेष भएको ठाउँसम्म पुगें अनि नजिकै रहेकोे संग्रहालयमा गएर त्यसको भित्तामा सजाएर राखिएका भक्त प्रह्लाद, नरसिंह अवतार र हिरण्यकश्यपुको तस्वीरहरु हेरेर फोटो खिचें ।

भारतका अतिवादी हिन्दुहरुले सन् १९९२ मा दिल्लीको बाबरी मस्जिद तोडफोड गरेको बदलामा पाकिस्तानको मुल्तान शहरमा रहेको हिन्दु धर्मावलम्वीहरुको ऐतिहासिक र धार्मिक मन्दीर तोडफोड गरेको गरेपछि अहिले त्यो मन्दीर भग्नावशेष बनेको रहेछ । त्यसलाई जिर्णाेद्धार या पुननिर्माण गरिएको रहेनछ । पाकिस्तानको पुरात्व कार्यालयले त्यसको रेखदेख चाँहि गरेको रहेछ ।

(लेखक सार्क अर्वुद्धरोग विशेषज्ञ महासंघका संस्थापक अध्यक्ष-संरक्षक हुनुहुन्छ ।)

अनुवादक:  बलराम प्यासी