• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु



झापा । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिनुभयो । कोशीमा एक हजार एक सय १४ उपचार केन्द्र, एक सय ३२ स्थानमा खकार परीक्षण गर्ने ल्याब, १९ जिन एक्सपर्ट मेसिन, चार क्षयरोग प्रतिरोधी उपचार केन्द्र र एउटा आवासीय गृह रहेको उहाँले बताउनुभयो ।

सरकारले प्रदेशभरिका क्षयरोगका बिरामीलाई प्रादेशिक अस्पताल भद्रपुर, ओखलढुङ्गा सामुदायिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्थामार्फत नि:शुल्क उपचार गर्दै आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार २३ जनामा क्षयरोग देखिएको छ ।  जसमध्ये आफैँ स्वास्थ्य जाँच गराएर पत्ता लगाउने ३७ दशमल नौ प्रतिशत, निजी अस्पतालमा जाँच गर्दा ३९ दशमलव तीन प्रतिशत र सरकारी अस्पतालमा परीक्षण गर्दा क्षयरोग पत्ता लागेका १८ दशमलव चार प्रतिशत रहेका फोकल पर्सन गुरागार्इंले बताउनुभयो ।

कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी क्षयरोगी झापा, मोरङ र सुनसरीमा रहेका छन् । झापामा पाँच सय ७९, मोरङमा पाँच सय २३ र सुनसरीमा चार सय ७९ क्षयरोगी रहेका छन् । यस्तै उदयपुरमा एक सय ४५, इलाममा ८२, पाँचथरमा २२, तेह्रथुममा २१, धनकुटामा २३, भोजपुरमा २८, खोटाङमा १६, ओखलढुङ्गामा ५३, सोलुखम्बुमा १६, सङ्खुवासभामा २२ र ताप्लेजुङमा २३ क्षयरोगका बिरामी रहेका छन् ।

जिल्लास्थित स्वास्थ्य कार्यालय, पालिकामा रहेका स्वास्थ्य संस्थालगायतले स्वयम्सेवक नै खटाएर क्षयरोगीको पहिचान गरिरहेको फोकल पर्सन गुरागार्इंले बताउनुभयो । बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी व्यक्तिको सम्पर्कमा आएमा रोग सर्ने जोखिम बढी हुन्छ । झापा, मोरङ र सुनसरीमा जनधनत्व बढी भएका कारण पनि क्षयरोगका बिरामी बढी भएको उहाँको भनाइ छ । सरकारले सन् २०३५ सम्ममा क्षयरोगबाट मुक्त गर्ने लक्ष्य लिएको छ । रासस