१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

गलेश्वर: पौराणिकस्थलबाट धार्मिक पर्यटकीयस्थलमा परिणत

गलेश्वर: पौराणिकस्थलबाट धार्मिक पर्यटकीयस्थलमा परिणत
अ अ+ अ-

गलेश्वर । पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर पौराणिकस्थलबाट प्रमुख धार्मिक पर्यटकीयस्थलमा परिणत भएको छ ।

नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर धाममा पछिल्लो समय तीर्थयात्रीका साथै आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ । गलेश्वरमा निर्माण भएका विकासका पूर्वाधार र प्रचारप्रसारका कारण केही वर्षयता यसको महत्व बढेको र आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो आगमन हुन थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

गलेश्वर खासमा पौराणिकस्थल हो । स्कन्द पुराणका अनुसार बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हामफालेर आत्महत्या गरेकी सतीदेवीको लासलाई भगवान् शिवले काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर रहन गएको हो ।

उन्नाइसौँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर पौराणिक तीर्थस्थलका रुपमा चिनिँदै जान थालेको इतिहास रहेको छ । यही पौराणिकस्थल गलेश्वरमा निर्माण गरिएका आकर्षक भौतिक पूर्वाधार र प्रचारप्रसारका कारण पछिल्लो समय गलेश्वर नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बन्दै जान थालेको सरकोकारवालाको भनाइ छ ।

धार्मिक, आर्थिक र पर्यटकीय महत्वले युक्त गलेश्वरधाममा आकर्षक पूर्वाधार निर्माण गरिएपछि पौराणिकस्थल अब धार्मिक पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । यस वर्ष फागुन २५ गते महाशिवरात्रिका दिन २५ हजारभन्दा बढी भक्तजनले गलेश्वर शिवालयमा पूजाआराधना गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

अध्यक्ष रेग्मीका अनुसार नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शिला ९पत्थर० माथि अवस्थित स्वयं प्रकट शिवलिङ्ग रहेकोे प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य पर्यटक आकर्षित भएका छन् ।

कालीगण्डकी नदीदेखि नै सुरु भएको चक्राकार शिलाको मध्य भागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको विश्वकै अलौकिक गलेश्वरधाममा चढेको भेटी तथा दाताको सहयोगबाट कोषको पहलमा मन्दिर नजिकै कालीगण्डकी नदी किनारमा रहेको खाली जग्गामा पर्यटन कार्यालय पोखराको सहयोगमा क्याम्पिङ साइट, उद्यान, सार्वजनिक शौचालय र खेलमैदान निर्माण भएका छन् । गलेश्वरदेखि पौलत्स्य आश्रम जोड्ने पदमार्ग निर्माण भएको छ । बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी–जोमसोम सडकको छेउमा पर्ने गलेश्वरमा बसपार्कसमेत निर्माण गरिएको छ ।

विद्युतीय उपकरणको सहायताले कालीगण्डकी नदीबाट पानी तानेर मन्दिर परिसरको एक सय आठ धारामा स्नान गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयसँग समन्वय गरेर धारा निर्माण गरिएको हो ।

त्यसैगरी, गलेश्वरमा तीर्थयात्री निवास र उनीहरूलाई निस्शुल्क भोजनको व्यवस्था मिलाइएको छ । अन्न क्षेत्र आश्रम व्यवस्थापन समितिले मुट्ठीदान सङ्कलन गरेर गलेश्वर वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिक र मुक्तिनाथ आवतजावत गर्ने तीर्थयात्रीलाई निस्शुल्क भोजनको व्यवस्था मिलाउँदै आएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

मन्दिरमा चढेको भेटी र दाताको सहयोगबाट धर्मशाला, बगैँचा, अतिथि आवास, संस्कृत पाठशाला, हवनकुण्ड, एक सय आठ शिवलिङ्, कालीगण्डकीको जलबाट गलेश्वर शिवालय क्षेत्रमा नै स्थान गर्न गोमुखे धारा, अग्लो त्रिशूललगायत संरचना निर्माण भएपछि गलेश्वर सबैको आकर्षणको केन्द्र बन्दै गएको उहाँको भनाइ छ ।

गलेश्वरमा विश्वमा कतै पनि नभेटिएको स्वयं प्रकट शिवलिङ्ग, चक्रशिलाको परिधिमा टुसाएका शालिग्राम, प्रस्टरुपमा देखिने भगवान् शिवका चरण चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्ति आदि रहनुले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पुष्टि हुने पण्डित भीमनाथ पराजुलीले बताउनुभयो ।

विसं २०५४ अघि अस्तव्यस्त रहेको यस क्षेत्रमा राधाकृष्ण शर्मा पराजुलीले आफ्नो निजी रु २० लाखको लागतमा हालको मन्दिर निर्माण गरेपछि गलेश्वरधामको विकासको शिलान्यास सुरु भएको हो । यस क्षेत्रअन्तर्गत रहेका कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, सिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम अझै पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा नै परेका छन् ।

मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर धामले स्वदेशी तीर्थयात्रीको मात्रै होइन विदेशी पर्यटकको समेत ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिक दर्जनौँ विदेशी पर्यटक आउने गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । विष्णु भगवान्ले बराह अवतार लिई पृथ्वीलाई उद्धार गरेको स्मरण गराउने जलबराह कुण्डको जल अभिषेक गर्दै दर्शन पूजन गर्नाले पाप नाश भई मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ ।

बराहको मध्य भागमा शेषनागको मूर्ति छ । मन्दिरमा अवस्थित चक्रशिलाको विभिन्न ठाउँमा विश्वमै दुर्लभ शालिग्राम शिला रहेका छन् । धार्मिक व्यक्तित्व यहाँ भगवान् विष्णु शालिग्रामका रुपमा स्वयं प्रकट भएको र ढुङ्गो टुसाएको दाबी गर्छन् । यसका अतिरिक्त एक सय आठ शिवलिङ्ग र जडभरतले तपस्या गरेको गुफा पनि गलेश्वरको अर्को आकर्षण हो । साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रिका दिन विशेष पूजाआजा हुने गलेश्वर एक दशक अघिसम्म सुनसान हुने गरेकामा पछिल्ला वर्ष प्रायस्जसो सबै दिन भक्तजन आउने गरेका छन् ।

म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वरधामको महिमा स्कन्द पुराणमा समेत उल्लेख छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारि र पारिका केही गाउँ तथा मुस्ताङलाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेश द्वारका रुपमा समेत परिचित छ ।

जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराह पोखरी, जडभरत गुफा, नौ रोपनी क्षेत्रफलको विशाल चट्टानमा जगबिना नै निर्माण गरिएको भगवान् शिवजीको मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, एक सय आठ शिवलिङ्ग, साँढेका विशाल मूर्ति र घण्टा यहाँका मुख्य आकर्षण हुन् । यहाँ रहेको ढुङ्गाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकका लागि आश्चर्यको विषय बनेको छ ।

खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नबढ्ने यो पोखरीको विषयमा खोज–अनुसन्धान गरिनुपर्ने स्थानीय तथा त्यहाँ पुग्ने भक्तजनको माग रहेको छ । त्यसैगरी, आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिकस्थल भएको इतिहासकारले बताएका छन् । करिब १९औँ बिसौँ शताब्दीको सुरुआतताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रका साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको समेत सम्पर्क हुने ठाउँका रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश वानियाँद्वारा लिखित विभिन्न लेखमा चर्चा गरिएको छ ।

यो क्रम बेनी–जोमसोम सडक विस्तार नहोउन्जेलसम्म जारी रहेको थियो । मासिक र साप्ताहिक रुपमा मन्दिरमा सङ्कलन हुने भेटी सार्वजनिक गर्दै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले भेटी र चन्दा पूर्वाधार निर्माणमा उपयोग गर्दै आएको छ । म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धामको धार्मिक, आर्थिक र पर्यटकीय महत्व बढ्दै जान थालेपछि देश र विदेशका व्यक्तिका लागिसमेत यो तीर्थस्थल आकर्षक गन्तव्यस्थलका रुपमा परिचित हुन थालेको हो ।

गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको छ । पं भीमनाथ पराजुलीका अनुसार गलेश्वरमा पुलस्त्य पुलह, वशिष्ठ, गालवऋषि, राजार्षिरहुगण, कपिलमुनि, गलेश्वर बाबा, जडभरत जस्ता ऋषिले तपस्या गरेका थिए ।  गलेश्वरमा दर्शन र पूजन गरेमा पुण्य प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

शालिग्राम गर्भमा लिएर बग्ने कालीगण्डकी नदीको किनारमा अवस्थित गलेश्वर हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारसमेत मानिन्छ । गलेश्वर दर्शनका लागि चितवनको क्षेत्रपुरबाट आउनुभएका विष्णु गौतमले धार्मिक महिमा, मन्दिरको व्यवस्थापन, पूर्वाधार र अनौठा दृश्यबाट आफू निकै प्रभावित भएको बताउनुभयो । एउटै चक्रशिलामाथि अवस्थित गलेश्वरको दर्शन र कालीगण्डकीको स्नान गर्न पाएकामा निकै खुसी लागेको उहाँको भनाइ छ ।

“मेरा छिमेकीले मलाई गलेश्वरको महत्वका बारेमा जानकारी दिएका थिए”, गौतमले भन्नुभयो, “गलेश्वर जस्तो अलौकिक ठाउँमा अहिलेसम्म म गएकै थिएन, यहाँ त ढुङ्गामा मूल फुटेको, पत्थरमा देवता टुसाएको, पुछारमा कालीगण्डकी सुसाएको र शिरानमा कोइली कराएको सबै देखिने सुनिने रहेछ ।”

पौराणिक महत्वको गलेश्वरलाई प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गलेश्वर शिवालय क्षेत्र विकास कोष लागिपरेको छ । कोषका अध्यक्ष रेग्मीका अनुसार यहाँका अधिकांश संरचनामा भक्तजनले चढाएको भेटीको ठूलो योगदान छ । मन्दिरमा चढेको भेटीलाई व्यवस्थित र पारदर्शी गराउन सक्ने हो भने धैरै भौतिक पूर्वाधारहरु निर्माण गर्न पनि सकिँदो रहेछ भन्ने कुराको उदाहरण पनि गलेश्वर बनेको छ । रासस