१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर
अ अ+ अ-

गलकोट । ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले रु २५ लाख खर्चेर घना जङ्गलको बीचमा रहेको पदमार्गलाई झिलीमिली बत्ती जोड्नका लागि भूमिगतरुपमा विद्युतीकरण गरेको छ । करिब २१ विद्युत्का खम्बामा बत्ती राख्ने तथा रुखमा विद्युत्का बत्ती जोड्ने कार्य भइरहेको छ ।

सामान्य उज्यालोका लाइट जोडिएको भए पनि जङ्गलमा हावाहुरी लाग्दा विद्युत् अवरुद्ध हुने भएकाले चैते दसैँदेखि सुुरुवात गर्नेगरी भूमिगतरुपमा विद्युतीकरण गरिएको बागलुङ कालिका भवगती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

“चैते दसैँ यहाँको ऐतिहासिक मेला हो, चैते दसैँका अवसरमा कालिका मन्दिरमा सर्वाधिक भक्तजन आउने गर्दछन्, भक्तजनको आगमनलाई दृष्टिगत गर्दै अत्याधुनिक सिसी क्यामेरा जडान गर्ने, भक्तजनको सङ्ख्या गणना गर्ने क्यामेरा जडान गर्ने कार्य सकिएको छ, अहिले कालिका मन्दिर प्रवेशद्वारदेखि कालिका मन्दिरसम्मको एक किमी पदमार्गमा विद्युतीकरण गर्न थालेका छौँ, सामान्य उज्यालो मात्रै नभएर अत्याधुनिक विभिन्न रङका बत्तीले रातको समयमा समेत पर्यटकहरुलाई थप आकर्षित गर्ने लक्ष्य लिइएको छ ।”

कालिका मन्दिर परिसरका रुखमा लिपपोतस गरिएको उहाँको भनाइ छ । कालिका मन्दिरमा आउने भक्तजनको भीडलाई दृष्टिगत गर्दै सिसी क्यामेरा जडान भइसकेको छ । चैत दसैँका अवसरमा बागलुङमा आयोजना गरिने चैते दसैँ मेलाले स्थानीय सामग्रीको व्यापारमा ठूलो राहत दिँदै आएको छ । चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा चल्ने चैते दसैँ मेलामा सर्वाधिक पुरस्कार राशिको कालिका कप, राष्ट्रिय लोक दाहोरी गीत प्रतियोगितालगायत रमाइलो मेला आयोजना गर्न थालिएको छ ।

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिकस्थलका रुपमा रहेको कालिका मन्दिरमा यस पटक चैत्राष्टमी मेला एक हप्तासम्म मनाउन थालिएको र त्यसका लागि स्वरुप पदमार्गमा विद्युतीकरणको कार्य गर्न थालिएको हो ।

‘गन्तव्य बागलुङ कालिका : कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ चैते दसैँ मेलाका लागि विभिन्न उपसमिति गठन गरिएको छ । मेलाका अवसरमा कालिका कप खुला भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यानलगायत कार्यक्रम समावेश गरिएको छ ।

बागलुङ सदरमुकाममा तीन सय वर्षदेखि चल्दै आएको चैते दसैँ मेलामा बर्सेनि पाँच लाख धार्मिक पर्यटक भित्रिँदै आएका छन् । चैते दसैँका अवसरमा बोका, हाँस, कुखुरा, राँगो सयौँको सङ्ख्यामा बलि दिने चलन छ । ऐतिहासिक रूपमा हुँदै आएको चैते दसैँ मेलामा विगतभन्दा यस वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताउनुभयो ।

उपसमिति गठन

ऐतिहासिक चैते दसैँ मेला भव्यरूपमा सफल बनाउन बागलुङ कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । मेला सफल बनाउन गुठीका सचिव अर्जुन खड्कालाई भलिबल संयोजक, उपाध्यक्ष निशान खड्कालाई नृत्य प्रतियोगिता संयोजक, कोषाध्यक्ष रामबहादुर खड्कालाई आर्थिक स्टल र स्वयंसेवक संयोजक, विद्या खड्का तथा गीता खड्कालाई अतिथि सत्कार संयोजक, ध्रुव खड्कालाई स्टल र स्वयंसेवक संयोजक, राजेन्द्र शाक्यलाई  रथ यात्रा संयोजक, राजीन खड्कालाई रमाइलो मेला संयोजक, डम्बर खड्का र डम्बर थापा मन्दिर पूजा संयोजक, प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीलाई प्रचारप्रसार संयोजक तथा कानुनी सल्लाहकार संयोजकमा राम शर्मालाई जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु दुई लाख पुरस्कार र दोस्रो हुने टोलीलाई नगद रु एक लाख र तेस्रो हुनेलाइ रु ५० हजार तथा उत्कृष्ट स्वर हुने महिला र पुरुष तथा उत्कृष्ट वेशभूषा महिला र पुरुषलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने कालिका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

यसैगरी, सर्वाधिक राशिको कालिका कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख, दोस्रो हुने टोलीलाई रु एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई रु एक लाख, सर्वोकृष्ट खेलाडी र अनुशासित खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने छ ।

अन्तर माविस्तरीय कक्षा १० सम्मका सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु २० हजार, द्वितीय हुनेलाई रु १० हजार र तृतीय हुने लाई रु पाँच हजार तथा सान्त्वना पुरस्कार रु दुई हजार पाँच सय रहेको छ । यसैगरी, छेलो प्रतियोगितामा प्रथम हुनेलाई रु ११ हजार एक सय ११ र द्वितीय हुनेलाई रु पाँच हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिने भएको छ ।