• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक ★   नेकपा एस महाधिवेशन: झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान ★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र ★   पहिरोले पुरिँदा बालकको मृत्यु ★   एकीकृत समाजवादी महाधिवेशन: बन्दसत्र सुरु ★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ?

बन्दीपुरमा भेटियो नयाँ गुफा



तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो ।

बन्दीपुरमा चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने सिलसिलामा बिहीबार उक्त गुफा भेटिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोजी कार्यमा साहसिक पर्यटन व्यवसायी चन्द्र आले, प्याराग्लाइडिङ पाइलट समन्वय प्रधान, पर्यटन व्यवसायी सुकराम तामाङसहितको टोली सहभागी थियो ।

नयाँ गुफा भेटिएपछि बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार बन्दीपुर बजारबाट करिब एक किलोमिटर दूरीमा उक्त स्थानमा पुग्न सकिन्छ ।

“कालोपत्र सडकबाट करिब दुई सय मिटर दूरी पैदलयात्रापश्चात् गुफामा पुग्न सकिन्छ”, अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुर घुम्न आउने पर्यटकले गुफाको अवलोकन र चट्टान आरोहणसमेत गरी मनोरञ्जन लिन सक्नेछन् ।” उक्त गुफा बाहिरको पहरा करिब तीन सय मिटर फराकिलो र ५० मिटर उचाइको रहेकाले चट्टान आरोहणका लागि प्रचुर सम्भावना देखिएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री नवप्रवर्तन कार्यअन्तर्गत चट्टान आरोहण कार्यक्रम रहेकाले यसका लागि आवश्यक सामान खरिद गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाउँदै यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।

“करिब ३६ वर्ष बन्दीपुर बस्दा पनि यहाँ गुफा छ भन्ने थाहा थिएन । स्थानीय कसैले पनि भन्नुभएको थिएन”, उहाँले भन्नुभयो, चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने क्रममा गुफा भेटिएको छ । यसको संरक्षण गरी पर्यटन प्रवर्द्धनका योजना बनाउँदै जानेछौँ ।”

गाउँपालिकाले तत्काल यहाँ सङ्केत चिन्ह (बोर्ड) राखेर प्रचारप्रसार गर्नुका साथै गुफासम्म पुग्ने बाटो निर्माण गर्ने योजना बनाइसकेको अध्यक्ष थापाले जानकारी दिनुभयो । गुफाभित्र विभिन्न आकृतिमा कुदिएका ढुङ्गालगायत मनोरम दृश्य देख्न सकिन्छ । साथै करिब ४०/५० जना क्षमताको गुफाभित्र हलसमेत रहेको उहाँले बताउनुभयो ।

प्याराग्लाइडिङमा पर्यटकको आकर्षण

बन्दीपुरको भञ्ज्याङ चौतारीबाट सिमलटारसम्म गरिने प्याराग्लाइडिङतर्फ पर्यटकको आकर्षण बढ्न थालेको छ । साहसिक खेलका रुपमा रहेको यस खेलका लागि ब्लुस्काइ कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गर्दै आएको छ ।

पाँच वर्षदेखि यहाँ प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार प्याराग्लाइडिङका लागि फागुन, चैत र वैशाखको मौसम उत्तम मानिने भएकाले पर्यटकको चहलपहल बढ्न थालेको छ ।

उक्त स्थानबाट ३०र४० जनासम्म उड्नसक्ने क्षमता रहेको अध्यक्ष थापाको भनाइ छ । प्याराग्लाइडिङका लागि गाउँपालिकालाई प्रतिव्यक्ति रू एक हजार राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । रासस