• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

‘कमजोर स्वास्थ्यका कारण’ महरालाई हाजिरी जमानीमा छोड्ने तयारी



काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छोड्ने सम्भावना रहेको छ ।

कमजोर स्वास्थ्यको कारण देखाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई हाजिरी जमानीमा छोड्न सक्ने बताईएको छ ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथिको ४ दिने म्याद आज सकिँदैछ । महराको स्वास्थ्य अवस्था कमजोर रहेकोले उनलाई छोड्ने तयारी भईरहेको स्रोतले बतायो । यद्यपी, यसबारे निर्णय भने भईसकेको छैन ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उहाँसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।

महरालाई स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अदालतले अस्पतालमा राख्न निर्देशन दिएको थियो । सोहिअनुसार उनलाई नर्भिक अस्पतालमा राखिएको छ । महरालाई बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको छ । उनको बयान पनि सकिएको छ ।