४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपालले आज बलियो टोली बहराइनसँग खेल्दै



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा नेपाल र बहराइनबीचको खेल मध्यरात १२ः४५ बजे सुरु हुनेछ ।

आज हुने खेल नेपालको होम म्याचको रुपमा हुनेछ । होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमै खेल्नुपर्ने थियो ।

तर, दशरथ रंगशालको मैदानको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएको भन्दै नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो ।

नेपालले बहराइनसँगको अवे म्याच अर्को साता बहराइनमै खेल्नेछ । समूह एचमा नेपाल यसअघिका दुवै खेलमा हार बेहोर्दै अंकविहीन छ । पहिलो खेल युएईसँग अवे मैदानमा ४–० ले पराजित भएको नेपाल घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग पनि २–० ले पराजित भएको थियो ।

बहराइन भने एक जित र एक हारको साथ समूह एचमा २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ । फिफा वरीयतामा बहराइन ८२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।