१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

भूमेलाई खुसी बनाउने अनौठो संस्कृतिको जगेर्ना

भूमेलाई खुसी बनाउने अनौठो संस्कृतिको जगेर्ना
अ अ+ अ-

म्याग्दी । जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ । यो मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको नभएर उत्सवमा दलिएको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा मङ्गलबार स्थानीयले सयौँ वर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मौलिक रुपमा भूमे पूजा गरेका छन् ।

भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पूजामा मोसो, छ्याङका छोक्रा एक आपसमा दलेर नाचगान गर्ने प्रचलन रहेको छ । चिमखोलाको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देश विदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका मगर समुदायले भूमे पूजा गरेका हुन् ।

चैत महिनाको उजेली मङ्गलबारका दिन जिल्लाको विभिन्न ठाउँका मगर समुदायले भूमे पूजा गरेपनि चिमखोलाको भूमे पूजाको संस्कार र संस्कृति अन्य ठाउँको भन्दा पृथक रहेको स्थानीय गम पुनले बताउनुभयो । उहाँका अनुसार यहाँ भूमे थानमा पूजा गरेपछि मोसो दलेर बाजागाजासँगै नाचगान गर्दै खुसीयाली मनाउने चलन छ ।

“खेतीकिसानी गर्ने पुख्र्यौली पेसा बोकेका मगर समुदायले भूमि देवतालाई खुसी बनाउन भूमे पूजा गर्दछन्”, पुनले भन्नुभयो, “भूमेलाई साँडको बलि दिएर पूजा गरेपछि छेमाहरु र पूजारीले राखेको जाँड चढाउने गरिन्छ । त्यसपछि जाँडको छ्याङ खाने र एकआपसमा मोसो लगाएर नाचगानसहित रमाइलो गर्ने प्रचलन छ ।”

वनजङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपद् नहोस्, खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमे पूजा गर्ने प्रचलन रहेको उहाँको भनाइ छ । उहाँका अनुसार भूमे थानमा पुन जातिलाई पूजारीको रुपमा राख्ने गरिन्छ ।

पूजारीले पूजाको तीन दिन अघि नै सागरे छहरा थानमा पूजा गर्ने र सोही दिन बनाउने छ्याङलाई भूमे पूजामा मुख्य प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको स्थानीय चिनिमायाँ पुनले बताउनुभयो ।

गाउँभेलाबाट भूमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको उहाँको भनाइ छ ।

छेमाहरुले एक महिनाअघि राखेको जाँडलाई भूमेथानमा विधिपूर्वक चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गार एकअर्कालाई दलेर नाचगान गर्ने गरिएको चिनिमायाँले बताउनुभयो । “छेमाहरुलाई हरेक टोलका घरधुरीबाट कोदो, चामल र नगदसमेत दिने गरिन्छ”, उहाँले भन्नुभयो, “हरेक टोलका छेमाहरुको टोलीले भूमे थान परिसरमा छुट्टाछुट्टै भान्सा चलाएर जाँडको छ्याङ छानेर खुवाउने गर्दछन् । बाजागाजा बजाएर नाचगान गरेर भूमे देवताको नाममा खुसीयाली मनाउने गरिन्छ ।”

भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पूख्र्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुला फन्को मारेर चुला उठाउने गरिन्छ भने भूमेथानबाट गाउँ फर्कने क्रममा भैच मायाले (साइलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ । यसरी गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक, समाजसेवी, जनप्रतिनिधि र अगुवालाई काँधमा बोकेर सम्मानसहित गाउँमा पुर्‍याउने गर्दछन् ।

पूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव गरिन्छ । यस दिनमा छेमाहरुले टोपा नाच प्रदर्शन गर्दछन् भने सरमाजाले जुरेचल्ला, दुलहादुलहीको कलस जुँधाउने नाचसँगै थाली नाचलगायत मौलिक कला र संस्कृति देखाउने चलन रहेको चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताउनुभयो । “उस पूजालाई चिमखोलाको सांस्कृतिक चिनारीका रुपमा लिने गरिएको छ । पूर्खाले सुरु गरेको संस्कृतिलाई पुस्तान्तरणमा हामीले चासो दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “सयौँ वर्ष पुरानो संस्कृतिलाई जीवन्त राख्न सके यसबो माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।”

वडाध्यक्ष पाइजाका अनुसार भूमे पूजाको दिनमा चिमखोलाको मण्डली र ताप्केभेरा थानमासमेत विशेष पूजा गरिएको छ । भाकल र मनोकाङ्क्षा पूरा हुने जनविश्वासले मण्डली थानमा विभिन्न ठाउँबाट भाकल गरेर पूजा गर्न आउने भक्तजन बढ्दै गएका उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष पाइजाका अनुसार यस वर्ष मण्डली थानमा करिब तीन सय र ताप्केभेरामा १० पाठी चढाइएको छ । “अफ्ठयारो पर्दा र सफलतामा मण्डली र भूमे देवतालाई सम्झने गरिन्छ । मनोकाङ्क्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल दिएर पूजा गर्ने चलन छ”, उहाँले भन्नुभयो । रासस